१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

भ्रष्टाचार मुद्दा खेपिरहेका टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मकर श्रेष्ठ

काठमाडौँ — भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका टेकबहादुर गुरुङको सांसद पद निलम्बन

संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत: निलम्बनमा परेको जनाएको हो ।

'प्रतिनिधिसभाका सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखी पठाउने' भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी आयोगको प.सं. ०७९/०८०, च.नं.२७८२७, मिति २०७९/०९/०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले,' संघीय संसद्‌का महासचिव भरतराज गौतमले निकालेको सूचनामा छ,'प्रतिनिधिसभाका माननीय सदस्य श्री टेकबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम २०७९/०९/०८ देखि स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।'

कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए । गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागेका उनी पनि संसद् सदस्यमा चुनिएका हुन् ।

प्रकाशित : पुस १२, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?