कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

नागदहमा हटाइँदैछ जरामार्फत पानीकाे प्रदूषण

पुस ७, २०७९
नागदहमा हटाइँदैछ जरामार्फत पानीकाे प्रदूषण

काठमाडौँ — सीमसार, पोखरी तथा ताल क्षेत्रमा प्रदूषक तत्व हटाउन नेपालमा पहिलो पटक ‘एफटीडब्लूएस’ नामक वातावरणमैत्री प्रविधि प्रयोगमा ल्याइएको छ । ललितपुर महानगरपालिकाको धापाखेलमा रहेको नागदहमा ‘फ्लोटिङ ट्रिटमेन्ट वेटलेन्ड सिस्टम (एफटीडब्लूएस)’ को प्रयोग सुरु गरिएको हो ।

यो प्रविधिमा जराको माध्यमबाट पानीमा भएका प्रदूषक तत्वहरु हटाइन्छ । द स्मल अर्थ नेपालको पहलमा नागदहमा याे प्रविधि जडान गरिएको हो । नागदहमा विभिन्न चार कुनामा ४० वटा एफटीडब्लूएस राखिएको छ ।

एउटा एफटीडब्लूएस ४/६ वर्ग फिटको राफ्ट आकार छ । जहाँ ५० वटा बिरुवा राखिएको हुन्छ । अहिले सर्वदा फूल र ठूलो ल्वाङ फूलको प्रयोग गरिएको द स्मल अर्थ नेपालकी अनुसन्धानकर्ता असोरी ब्यान्जुले बताइन् । उनले भनिन्, ‘सीमसारको सुरक्षाका लागि हामीले पहिलो पटक यो जैविक विधि अपनाएका हौं ।’

राफ्टको माथिल्लो भागमा फूलहरु राखिएको छ । फूल फुल्ने र रैथाने बिरुवाको प्रयोगलाई जोड दिइएको छ । फूलको जराले पानीको सतह छुने किसिमका छन् । बीचमा निगालेको मान्द्रा राखिएको छ । यी मान्द्रामा दहमा आउने चराहरुले राफ्टमा क्षति पुर्‍यादिन सक्छन् भनेर सुरक्षाको हिसाबले राखिएको उनले बताइन् । त्यही मान्द्रामा प्वाल खोपेर फूल राखिएको ब्यान्जुले बताइन् ।

बिरुवाको जरा पानीको सतहसम्म फैलिएको छ । यसरी बिरुवाले जराको माध्यमबाट प्रदूषक तत्वहरु सोस्ने काम गर्ने उनले बताइन् । ‘दिगो रुपमा पानीमा भएका प्रदूषक तत्वहरु हटाउने यो उत्तम प्रविधि हो,’ उनले भनिन्, ‘ यो प्रविधि सफल भएमा अन्य ठाउँमा प्रयोग गर्ने योजना छ । ’

यो प्रविधि पानीमा हुने इयूट्रोफिकेसन(सुपोषण) हटाउने काममा प्रभावकारी हुने विज्ञहरु बताउँछन् । सिमसार विज्ञ एवं त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा.दिपनारायण शाह भन्छन्,‘ पानीमा धेरै मात्रामा नाइट्रोजन र फोस्फोरसको उपस्थिती हुँदा पोषक तत्व बढ्दै जाँदा पानीमा लेउ(अल्गी)को असंख्य वृद्धि हुन्छ । जसले पानीको सतहलाई पूर्ण रुपमा ढाकिदिन्छन् ।’ पानीका सतहलाई लेउलगायतका जलीय विरुवाले पुरै ढाक्दा जलीय पारिस्थितिक प्रणालीलाई प्रत्यक्ष असर गर्छ । जल स्रोतमा सुपोषण धेरै हुँदा जलजीवनको स्वच्छतामाथि नकरात्मक प्रभाव पार्छ । धेरै जसो ठाउँहरुमा जलकुम्भीजस्ता मिचाहा झारले पानीको स्रोतलाई पुरै ढाकिदिने सिमसार विज्ञ शाहले बताए ।

विभिन्न अध्ययन तथा अनुसन्धानहरुमा पनि नेपालका सिमसारहरुमा सुपोषण बढ्दै जाँदा लेउसहित जलकुभ्मी झारको उपस्थिती धेरै हुने र पारस्थितिक प्रणालीलाई असर गर्ने उल्लेख छ ।

यो प्रविधिको प्रयोगले पोखरी र दह जस्ता जलस्रोतमा सुपोषणको समस्याबाट मुक्त गराउन भूमिका खेल्ने स्मल अर्थ नेपालले जनाएको छ ।

नागदहमा यसको प्रयोग गर्नुअघि उपयोगिताको बारेमा पूर्व अध्ययन पनि गरिएको थियो । जसमा सकरात्मक नतिजा प्राप्त भएको निर्माणकर्ताले जनाएका छन् । यो प्रविधिको प्रयोगबाट पानीमा भएको नाइट्रेटको मात्रा ९९.५ प्रतिशतले, एमानेयिा ९०.२, अर्थोफोस्फेट ८६.७ले र आइरन ६१ प्रतिशतले घटेको पाइएको हो । यो प्रविधिको प्रयोगले पानीमा घुलित अक्सिजनको मात्रा ५० प्रतिशतले बढेको छ भने बायोलोजिकल अक्सिजन डिमान्ड ४१.५ प्रतिशतले घटेको पाइएको थियो । ‘यो नतिजाबाट हामी उत्साहित छौं । नागदहको पानीको गुणस्तर पनि सुधार हुने आशा लिएका छौं,’ ब्यान्जुले कान्तिपुरसित भनिन् ।

पानीमा नाइट्रेट,एमोनिया,फोस्पेट पानीमा धेरै मात्रामा हुँदा पोषक तत्व धेरै हुने र वनस्पतिका उपयुक्त वातावरण हुँदा पानीमा धेरै मात्रामा यस्ता झार तथा लेउहरु देखिने गर्ने ब्यान्जुले बताइन् ।

नेपालमा पहिलो पटक प्रयोग भएकाले यो प्रविधिको प्रभावकारिताबारे भने अहिले नै भन्न सकिने अवस्था भने छैन । उपप्राध्यापक शाह भन्छन्, ‘यो खालका प्रविधि नेचरल बेस्ड सोलुसन चाहीँ हो । लामो समयसम्मको तथ्यांक प्रयोग नगरी प्रभावकारिताबारे भन्न सकिदैन ।’ चीनलगायतका मुलुकहरुमा यसको प्रभावकारिता भने देखिएको उनले बताए ।

नागदहमा एफटीडब्लूएस राख्नुअघि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए । उनले यसको प्रभावकारिता बढी देखिएका ललितपुरका दहहरूमा पनि राख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : पुस ७, २०७९ २१:०८
×