कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘निमुखा’ लाई जेल

कामदार लाई हस्ताक्षर गर्न लगाएर २७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी
विनोद भण्डारी

तरहरा, सुनसरी — इटहरी उपमहानगरपालिका–१९ तरहरा फूलबारी चोकस्थित वरमपुर टोलकी दिलकुमारी विक जस्ताले छाएको टहरामा भेटिइन् । थकित अवस्थामा भेटिएकी उनका पति गोपाल भनिने लालबहादुर विक यतिबेला झुम्का कारागारमा थुनामा छन् ।

‘निमुखा’ लाई जेल

उनीमाथि सुनसरी जिल्ला अदालतले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो र ठगी मुद्दामा ७० हजार जरिवाना तथा डेढ वर्ष कैदको सजाय तोकेको छ । १० धुर जमिनमा ठडिएको टहरोमा ओत लाग्नुपर्ने आर्थिक हैसियतका लालबहादुर कसरी यति ठुलो ठगी मुद्दाका मुख्य प्रतिवादी बने ? यसले संगठित रूपमा हुने आर्थिक ठगीको घटनामा सर्वसाधारण र निमुखा मुछिने गरेको देखाएको छ ।

एसएलसी पास गरे पनि भनेजस्तो जागिर नभेटिएका बेला २९ वर्षीय लालबहादुरलाई छिमेकी वडाका कृष्णबहादुर विश्वकर्माले आफ्नो सिंहदेवी ज्वेलर्समा काम गर्न बोलाए । कृष्णका अलवा उनका छोराहरू दीपक र कमल अनि छोरी सीता उक्त पसलका अन्य सञ्चालकका रूपमा थिए । २०७२ सालदेखि लालबहादुर त्यहाँ सुन, चाँदीका गरगहना बनाउने कालिगडका रूपमा थिए । बिहानै पसल खोल्न पुग्थे र काममा लागिहाल्थे । साहु कृष्णसँग उनको विश्वासको सम्बन्ध बढ्दै गएको थियो । एक दिन कृष्णले आफूले लेखपढ गर्न नजान्ने भन्दै सिंहदेवी ज्वेलर्स लेखिएको पास बुकमा हस्ताक्षर गर्ने जिम्मेवारी पनि उनलाई दिए ।

सुनचाँदी कारोबारका अलवा कृष्णका अनेकन व्यापार थिए । उनले सिंहदेवी मनी ट्रान्सफर, सिंहदेवी इन्ड्रस्ट्रिज र सपिङ कम्प्लेक्स सञ्चालन गरेका थिए । यतिले नपुगेर उनले सिंहदेवी ज्वेलर्स नामको बचत पासबुकमार्फत रकम संकलन सुरु गरेका थिए । सहकारीकै शैलीमा कृष्णले सयौं सेवाग्राहीबाट दैनिक बचत सुरु गराएका थिए । जतिसक्दो धेरैको रकम संकलन गर्नकै लागि कृष्णले बचतकर्तालाई अनेकन आश्वासन दिन्थे । एक बचतकर्ताले १ लाख जम्मा गरे १ वर्षपछि २ लाख दिने, २ लाख जम्मा गरे २ वर्षपछि चार लाख दिने शैली अपनाएको बताए । दोब्बर रकम पाइने लोभमा बचतकर्ता सयौं सर्वसाधारण फस्दै गए । लालबहादुर ज्वेलर्सको कामका अलवा साहुले भनेअनुसार पासबुकमा हस्ताक्षर गर्थे अनि बेलाबखत बैंकमा रकम जम्मा गर्ने र निकाल्ने काम पनि गर्थे ।

२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले सिंहदेवी ज्वेलर्सले आफूहरूको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हाले । उजुरीलगत्तै प्रहरीले कृष्णकी छोरी सीतालाई सोधपुछका लागि बोलायो । बयानमा सीताले लालबहादुर पनि यस्तो काममा संग्लन भएको बताइन् । प्रहरीमै उजुरी परेपछि मात्रै लालबहादुरले साहुले सञ्चालन गरेको कम्पनी अवैध रहेको र रकम संकलनको काम पनि अवैध रहेको चाल पाए । त्यतिबेलासम्म साहु कृष्णले लालबहादुरलाई फकाइफुल्याई कम्पनी घाटामा रहेको भन्दै उनकी श्रीमती दिलकुमारीको सुनको सिक्री र औंठी बन्धकी राखेर १ लाख २० हजार रुपैयाँ निकालेर चलाइसकेका थिए ।

२०७५ असार २१ मा यो मुद्दा सुनसरी जिल्ला अदालत पुग्यो, जसमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको उल्लेख छ । मुद्दालगत्तै १० धुर जग्गासमेत रोक्का भएपछि उनी २ लाख धरौटी बुझाएर तारेखमा छुट्न पनि सकेनन् । आफन्त र छिमेकीसँग हारगुहार गरेर धरौटी जुटाएर केही दिनपछि उनी कारगारबाट छुटे ।

न्यायाधीश निर्मला योङयाको २०७८ पुस १९ को इजलासले अवैध रूपमा बैंक तथा वित्तीय सस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य साहु कृष्ण, उनका तीन छोराछोरीसहित लालबहादुरलाई थुनामा राख्ने आदेश दियो । जसमा सबैलाई ठगीतर्फ जनही ७० हजार जरिवाना र डेढदेखि तीन वर्षसम्म थुनामा राख्ने उल्लेख छ । लालबहादुरलाई भने अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको कसुरमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय तोकियो । बुधबार घरमै भेटिएकी लालकी पत्नी दिलकुमारीले उतिबेला धरौटी रकम राख्दा सापटी दिएकाहरूकै रकम तिर्न नसकेको गुनासो सुनाइन् । उनले भनिन्, ‘गरिबलाई कहीँबाट पनि न्याय मिल्दो रहेनछ ।’

मंसिर २० मा लालबहादुर जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गर्दै मंसिर २१ मा झुम्का कारागार पुगे । बुधबार कारगारमा भेटिएका लालले बिगो र जरिवाना भर्न नसक्ने भएपछि आफैं कारागार आएको बताए । उनले भने, ‘सम्पत्तिको के कुरा गर्नु ? आफूसहित परिवारका सबै सदस्यको कपाल गन्दा पनि ३ करोड १५ लाख पुग्दैन, त्यसैले कुनै कसुर नगरे पनि कैद भुक्तानी गर्न कारागार आएँ ।’

अदालतको फैसलापछि पक्राउ परेकी सीता मोरङ महिला कारागारमा छिन् भने लालबहादुर र कृष्ण सुनसरीको झुम्का कारागारमा तथा दीपक सिन्धुली कारागारमा छन् । कमल भने फरार छन् । २७ लाख रुपैयाँ ठगीमा परेका तरहराका नारायण गिरीले लालबहादुरलाई जबर्जस्ती फसाइएको बताए । उनले ज्वेलर्सका धनी कमल र उनका छोराछोरीले सर्वसाधारणबाट बचतका नाममा संकलन गरेको रकम हिनामिना गरेर आफूसँगै कामदारलाई पनि फसाएको बताए ।

प्रकाशित : पुस १, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?