सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरुप टुंगोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिए ।

'जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ,' उनले भने, 'एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ ।'

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए ।

'अब त्यो चरण सकियो । हिजो कहींकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ,' संविधानसभाका अध्यक्ष नेम्वाङले भने । उनले एमालेबाट विभाजन भई गठन भएका नेकपा (एकीकृत समाजवादी) सँग पनि सहकार्य हुनसक्ने संकेत गरे ।

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढंगबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए ।

प्रकाशित : मंसिर १६, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्

नेपालले दियाे नामिबियालाई १९८ रनको लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ७५ रनको शानदार इनिङ्स खेले पनि नेपालले विश्वकप लिग-२ मा नामिबियालाई १ सय ९८ रनको मात्र लक्ष्य दिएको छ । नामिबियाले टस जितेपछि ब्याटिङ गर्न आएको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाई १ सय ९७ रन बनाएको हो ।

ज्ञानेन्द्रले विन्डहोकको युनाइटेड क्रिकेट क्लब मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । अघिल्लो महिना यूएईसँगको घरेलु शृंखलाको अन्तिम खेलमा ६४ रन बनाउनु एकदिवसीय अन्तर्राष्ट्रियमा यसअघि उनको उच्च स्कोर थियो ।

ज्ञानेन्द्रले ९४ बलको इनिङ्समा ७ चौका र २ छक्का प्रहार गरे । नेपाली ब्याटिङ सुरुआतदेखि दबिएर खेलिएको थियो । अर्जुन साउद र आसिफ शेखले पहिलो १० ओभरमा ३१ रन जोडेका थिए । अर्जुन १० औं ओभरको दोस्रो अन्तिम बलमा ४२ बलमा १८ रन बनाई बर्नान्ड स्कोल्ट्जको बलमा बोल्ड भए । अर्का ओपनर आसिफले ४६ बलमा २ चौकासहित २० रन बनाए ।

कप्तान रोहित पौडेल १० रनमै आउट भए । ज्ञानेन्द्रले आरिफ शेखसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । आरिफले ४१ बल खेलि २ चौकासहित २१ रन बनाए । लिग २ मा दीपेन्द्रसिंह ऐरीको निराशाजनक प्रर्दशन निरन्तर रहयो । उनी पहिलो बलमै क्याच दिन पुगे ।

कुशल भुर्तेलले १२ बलमा १ छक्कासहित १३, गुलशन झाले १८ बलमा २ छक्कासहित १८ रन बनाए । सोमपाल कामी १७ बलमा १० रन बनाई आउट भए । नामिबियाका तान्गेनी लुन्गामेनीले १० ओभरमा १ मेडन राख्दै ४२ रन खर्चेर ३, कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए ।

प्रकाशित : मंसिर १६, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×