बाह्रैमास बाढीको पिरलो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाह्रैमास बाढीको पिरलो

महाकाली र जोगबुडा नदीले घेरिएको कुतियाकभरका बासिन्दा उम्मेदवारहरुलाई हरेक पटक बाढी रोकथाम र सीमा समस्या समाधानको माग राख्न छाड्दैनन् 
भवानी भट्ट

कञ्चनपुर — पुरन सुनार गुजरातको एक होटलमा काम गर्थे । कोरोना संक्रमणका बेला घर फर्किएका उनी त्यसयता गाउँमै तरकारी खेती गरिरहेका छन् । तर गतवर्षदेखि उनले तरकारी खेती पनि राम्ररी गर्न सकेका छैनन् । महाकाली नदीको भीषण बाढीले जग्गामा बालुवा ल्याएर बगर बनाएपछि खेती गर्न गाह्रो भएको हो । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकभरका ३५ वर्षीय सुनारलाई एकातिर बाढीको चिन्ता हुन्छ भने अर्कोतिर बेला–बेलामा भारतीय सुरक्षाकर्मीले दिने दुःखको पिरलो छ । 

कञ्चनपुरको दोधारा–चाँदनी–१० को कुतियाकभर बस्ती । तस्बिर : भवानी/कान्तिपुर


कुतियाकभर महाकाली र जोगबुडा नदीको दोभानमा पर्छ । महाकालीमा बाढी आएका बेला जोगबुडा नदी थुनिएर कुतियाकभर डुबानमा पर्छ । गत वर्ष कात्तिकमा पनि त्यही भयो । महाकालीमा भीषण बाढी आउँदा बहाव थुनिएर जोगबुडाको बाढी बस्तीमा पस्यो । ४० घर डुबानमा परे । भाग्ने ठाउँसमेत रहेन । सुरक्षाकर्मीले र्‍याफ्टिङ बोटबाट उद्धार गरेर उनीहरूको ज्यान जोगाए । त्यतिबेला वृद्धवृद्धा र गर्भवतीको ज्यान जोगाउन निकै मुस्किल भएको स्थानीय बताउँछन् । ‘महाकालीपारि दोधारा–चाँदनी दुर्गम भन्छन्, दोधारा–चाँदनीबाट पनि हामी दुर्गम भएका छौं,’ सुनारले भने, ‘यहाँ बर्खामा मात्रै होइन हिउँदमा समेत नदीले कटान गरिरहेको छ ।’ उनका अनुसार वर्षामा बाढी प्राकृतिक रूपमै आउने भए पनि अरू बेला जोगबुडा नदीमा भारतीय पक्षले शारदा नहरको पानी छाड्दा हिउँदमा समेत डुबान–कटान हुने गरेको छ । जसका कारण कुतियाकभर बाह्रै महिना जोखिममा रहने गरेको उनी बताउँछन् ।

तीनतिर महाकाली र जोगबुडा नदीले घेरिएको कुतियाकभरमा ४० परिवारको बसोबास छ । कुतियाकभरमा पश्चिम–दक्षिणतर्फ भारत छ । उत्तरप्रदेशको पिलिभित जिल्लाको बंगाली बस्तीसँगै जोडिएको छ, कुतियाकभर । यहाँका अधिकांश घरको आँगन दसगजासँगै जोडिएको छ । हिँडडुल गर्ने बाटो पनि त्यही दशगजा हो । यही कारण बेला–बेलामा सीमा क्षेत्रमा विवाद पनि हुने गरेको छ ।

मत माग्दै घरदैलोमा पुग्ने उम्मेदवार तथा राजनीतिक दलका नेतासँग यहाँका बासिन्दाले नदी किनारमा तटबन्ध र सीमामा सहज आवागमनको माग गर्दै आएका छन् । यो अहिलेको मात्रै माग होइन । हरेक निर्वाचनमा जनताको माग र नेताको आश्वासन यही बन्ने गरेको छ । तर त्रासमा बाँच्नुपर्ने अवस्था अझै अन्त्य नभएको उनीहरू बताउँछन् । ‘पोहोर त घरमा खम्बा समातेर ज्यान जोगायौं, अन्न र लुगाकपडादेखि गाईभैंसी सबै बगाएर लग्यो,’ स्थानीय वसन्ती सुनारले भनिन्, ‘सधैं यो त्रासमा बाँच्नुभन्दा हामीलाई अन्यत्रै स्थानान्तरण गरिदिनुपर्‍यो ।’ कटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गर्न नसके उचित स्थानमा बस्ती नै सार्न उचित हुने उनको भनाइ छ ।

कुतियाकभर जोगबुडा नदीपारि छ । आउजाउ गर्नका लागि जोगबुडामा झोलुंगे पुल हालिएको छ । तर बर्खामा दुवैतर्फ बाढी भरिएर पुलमा पुग्नै नसकिने हुन्छ । बाढी आएका बेला ज्यान जोगाउन सीमा क्षेत्रको बंगाली बस्तीको अग्लो ठाउँमा जानुपर्ने स्थानीय बताउँछन् । कुतियाकभरका बासिन्दा किनमेलदेखि औषधोपचारका लागि सीमापारि भारतीय बजारमा निर्भर छन् । तर सीमामा आउजाउ गर्दा भारतीय सुरक्षाकर्मीले बेला–बेलामा दुःख दिने गरेको उनीहरूको गुनासो छ । कैयौं पटक एसएसबी बस्तीमै पसेर धम्क्याउने गरेको उनीहरूले दुखेसो पोख्ने गरेका छन् । दशगजाको बाटो भएर धान, गहुँ तथा तरकारी ढुवानी गर्दासमेत दुःख दिने गरेको सुनार बताउँछिन् । ‘एसएसबीलाई सोधेर मात्रै धान–गहुँ ल्याउन पाइन्छ, नत्र ल्याउन दिँदैनन,’ उनले भनिन्, ‘बर्खामा नदी किनारको बाटोमा हिँडडुल गर्नै सकिन्न, दशगजाको बाटोमा एसएसबीले हिँड्न दिँदैन ।’ कुतियाकभरमा अधिकांश दलित समुदायको बसोबास छ । यहाँका हरेक घरबाट युवाहरू रोजगारीका लागि दिल्ली, गुजरात र मुम्बई लगायतका भारतीय सहरमा पसेका छन् । अधिकांश युवा होटल लाइनमा काम गरिरहेको पुरन सुनार बताउँछन् । पुरन पनि ५ वर्ष गुजरातमा होटलमै काम गरेर घर फर्किएका हुन् । ‘हाम्रो मुख्य समस्या नदी कटान र डुबान तथा सीमाकै हो,’ स्थानीय शेरबहादुर टमटा भन्छन्, ‘यो माग जसले पूरा गर्ने प्रतिबद्धता र योजना ल्याउँछ उसैलाई भोट दिन्छौं ।’ उक्त बस्तीमा एक सयभन्दा बढी मतदाता छन् । बस्तीका सबै मतदाता मतदानका लागि एकजुट हुन्छन् ।

गाउँको मुद्दा सम्बोधन हुने आश्वासन वा प्रतिबद्धताकै आधारमा मतदान गर्दै आएका छन् । कुतियाकभर तरकारी खेतीका लागि परिचित छ । यहाँ भन्टा, परवल, तरुल, मुलालगायत अन्य बेमौसमी तरकारीसमेत उत्पादन हुन्छ । अधिकांशले सीमावर्ती बजार खटीमा पुगेर तरकारी बिक्री गर्दै आएका छन् । तर कतिपयले मोटरसाइकलमा बोकेर महेन्द्रनगर पुर्‍याउँछन् । भारततर्फ लैजान पनि एसएसबीले दुःख दिने भएकाले उनीहरू २५ किलोमिटर मोटरसाइकलमा ढुवानी गरेर महेन्द्रनगर पुर्‍याउने गर्छन् । ‘गाउँमै वा नगरपालिकाभित्र उपयुक्त ठाउँमा तरकारी संकलन केन्द्र राख्नुपर्ने पनि हाम्रो माग छ,’ कुतियाकभरबाट तरकारी बोकेर महेन्द्रनगर पुग्ने गरेको खड्के बुढा भन्छन्, ‘भोट माग्न आउँदा सबै हुन्छ भन्छन्, तर त्यसपछि कोही वास्ता गर्दैनन् ।’

दोधारा–चाँदनी परवल खेतीका लागि परिचित छ । एकदशकअघिसम्म यहाँको परवल दिल्लीसम्म पुग्थ्यो । एउटै परिवारले ८/१० क्विन्टलसम्म परवल बिक्री गर्थे । व्यापारीहरू ट्रक लिएर सीमासम्मै पुग्थे । तर भारतले क्वारेन्टिन परीक्षणका बहानामा नेपाली परवल रोकेपछि कृषकहरूले उक्त खेती नै छाडे । अहिले थोरै परिवारले मात्रै परवल खेती गर्छन् । बिस्तारै नेपालतर्फ पनि बजार बढ्न थालेका कारण परवल खेतीतर्फको आकर्षण पुनः बढ्न सक्ने देखिन्छ । त्यही भएर तरकारी हाटबजारदेखि संकलन केन्द्र स्थापनाको माग हुन थालेको हो । जोगबुडा र महाकाली नदीको बीचमा रहेको दोधारा–चाँदनी टापु नगरपालिकाका रूपमा छ । जोगबुडापारि पनि भारतसँगै आँगन जोडिएका अन्य बस्तीहरू नदी कटान र डुबानको समस्या छन् । कुतियाकभरसँगै ३ नम्बर वडाको बडुवाल टोल, ७ को कञ्चनभोज र ८ को सुन्दरनगर बस्तीहरू भारतसँगै जोडिएका छन् ।

प्रकाशित : कार्तिक २१, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

डेरावालका दुःख

झन्डै ६६ प्रतिशत सहरिया बहालमा बस्ने गरेको तथ्यांक, उपत्यकाभित्रै ४७ प्रतिशत डेरावाल
शौचालय, खानेपानी, विद्युत् र चर्को भाडालगायत समस्या धेरै 
व्यक्तिगत कोठा भाडामा लगाउने अधिकांशले कर तिर्दैनन्, यसमा स्थानीय निकायको न मापदण्ड छ न त अनुगमन नै 
मधु शाही, लिला श्रेष्ठ

काठमाडौँ — ललितपुरको पाटन बंगलामुखी मन्दिरनजिकै बस्छिन्, सारथि गौतम । एउटै कोठाको मासिक सात हजार रुपैयाँ तिरिरहेकी उनलाई दिनरात पानी भर्ने चिन्ताले सताउँछ । रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक पढ्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंमा भाडामा बस्नु भनेको आधा ज्यान सुकाउनु जस्तै हो ।’ 

घरभेटीले भनेजति भाडा तिर्दा पनि आधारभूत सुविधाबाट उनी वञ्चित छिन् । पानी सातामा एक पटक आउँछ, त्यो पनि घरभेटी आफैंले खपत गर्ने गरेको उनले बताइन् । ‘बिहानै ५ बजे ढुंगेधारामा लाइन लाग्नुपर्छ,’ भन्छिन्, ‘सुविधा बढ्दैन, भाडा बढेको बढ्यै छ । १० वर्षअघि ३५ सय तिर्ने कोठाको भाडा अहिले सात हजार पुगेको उनको भनाइ छ । पानी, बिजुली र फोहोरको छुट्टै शुल्क तिर्नुपर्छ । पानी अपुग भएपछि उनीलगायत पाटन छेउछाउ बस्ने धेरै डेरावाल ढुंगेधारा धाइरहेका भेटिन्छन् । ‘पानी बोकेर कोठासम्म पुग्दा हात गलेर फत्रक्कै हुन्छ,’ उनी भन्छिन्, ‘घरभेटीलाई समस्या सुनाउँदा चित्त नबुझे छाडेर जाऊ भन्दै तितो जवाफ फर्काउँछन् ।’

शंखमूलमा डेरा गरेर बसेका जीवन सिवाकोटीलाई घरभेटीले भाडामा बस्नुअघि ट्वाइलेटमा पानी आउने, प्रशस्त पानी भर्न पाइने बताएका थिए । सुरुका दुई महिना उनले त्यो सुविधा पाए पनि । बिस्तारै विभिन्न कारण देखाउँदै ट्वाइलेटमा पानी नदिने, खानेपानी भर्न नदिने जस्ता व्यवहार सुरु भयो । ‘खानेपानीको पैसा तिर्छु तर पानी पाइँदैन,’ उनले भने, ‘जति भने पनि घरभेटी सुनेको नसुनेजस्तै गर्छन् ।’

बुद्धनगरमा २० वर्षदेखि घरमा बस्दै आएकी राधा भण्डारीले दुई छोराछोरीलाई त्यहीं हुर्काइन् । पुरानो घर भएकाले विद्युत्को मिटर बक्स छुट्टै नराखिदिँदा घरभेटीले जति भन्छन्, त्यति शुल्क बुझाउनुपर्ने बाध्यता छ । दुई कोठाको भाडा तिर्ने गरेकी उनले राइस कुकरसमेत चलाउन पाउँदिनन् । तर, विद्युत् शुल्क भने महिनाको ५ सयभन्दा बढी आउँछ । ‘घरभेटीले गरेको शोषणका विषयमा कुन निकायमा गएर सुनाउने ?’ उनले भनिन्, ‘मिटरबक्स अर्को राख्न धेरै पटक अनुरोध गरे पनि सुन्दैनन् । आफ्नो बिजुलीको बिलसमेत भाडामा बस्नेहरूबाटै असुल्छन् ।’

दोलखा शैलुङ गाउँपालिका–३ की सानुमाया श्रेष्ठको परिवार काठमाडौं–१७ क्षेत्रपाटी माली गल्लीमा बस्न थालेको १२ वर्ष भयो । सुरुमा एक हजार ४ सय तिर्थिन्, अहिले त्यही कोठाको ८ हजार रुपैयाँ बुझाउनुपर्छ । पानी, बत्ती, फोहोरको छुट्टाछुट्टै पैसा बुझाउनुपर्छ । ‘सातामा एक दिन पानी आउँछ, घरभेटीले पहिले भर्छन्, आफ्नो पालो आउँदा सुकिसक्छ,’ उनले भनिन्, ‘इनारको पानी तानेर लिएको छुट्टै चार्ज तिर्नुपर्छ ।’ शारीरिक अपांगता भएकी छोरीको स्याहारमा दिन कटाउने सानुमाया घरभेटीले सित्तैमा बस्न दिए जसरी बचन लगाउने बताउँछिन् । ‘अपांग छोरी आफ्नो काम आफैं गर्न सक्दिनन्, सरसफाइ, शौचालय प्रयोगलगायतको कुरामा बचन लगाइरहन्छन्,’ उनले गुनासो गरिन्, ‘दुई दिन भाडा तिर्न ढिला भयो भने कोठा छोड्न दबाब दिन्छन् ।’ उनका श्रीमान् दिलकृष्ण होटलमा काम गर्छन् । एक जनाको कमाइले चार जनाको परिवार धान्नुपर्ने र महँगो भाडाले गर्दा उनको परिवार तनावमा छ ।

मीनभवनमा बस्दै आएकी भावना रानामगरको त फोहोरको शुल्क लिने विषयमा घरभेटीसँग चर्काचर्की नै पर्‍यो । मासिक ४ सय ५० रुपैयाँ घरभेटीले फोहोर शुल्क तिर्ने गर्छन् । तर, भावनाले १०० रुपैयाँ तिर्दा अर्को कोठामा बस्नेलाई घरभेटीले ५० रुपैयाँ लिने गरेका छन् । शुल्कमा विभेद गरेको थाहा पाएपछि उनले घरभेटीसँग कारण सोधिन् । ‘मैले पछि झगडा गरेर ५० रुपैयाँ तिर्न थालें,’ उनले भनिन्, ‘यही बहानामा चित्त नबुझेर कोठा छोडेर जाऊ भन्दै आएका छन् । झन् चिन्ता थपिएको छ ।’

कपनमा डेरा गरेर जिम सेन्टर सञ्चालन गर्दै आएका नवराज कार्की पनि घरभेटीपीडित हुन् । तीन वर्षदेखि व्यवसाय थालेका उनले घरभेटीबाट विद्युत् महसुलमा ठगिएको पाएपछि घर बहाल सरोकार महासंघ पुगे । मिटरमा उठेको भन्दा २७ प्रतिशत बढी शुल्क असुलेपछि उनले गुनासो गरे । महासंघका अध्यक्ष बलभद्र खनाल यस्ता अनेक समस्या लिएर पीडितहरू आउने गरेको बताउँछन् । व्यवसाय, बसोबास र पढाइका सिलसिलामा नेपालभर झन्डै ६६ प्रतिशत मानिस डेरामा बस्दै आएको महासंघको तथ्यांक छ, काठमाडौं उपत्यकाभित्र मात्रै ४७ प्रतिशत डेरावाल छन् । घर भाडामा बस्नेहरूको समस्या बल्झिँदै गएकाले महासंघ स्थापना भएको उनी बताउँछन् । ‘घर भाडासम्बन्धी देशभरबाट ११ हजारभन्दा बढी उजुरी आएका छन्,’ उनले भने, ‘शौचालय, खानेपानी, विद्युत् र चर्को भाडा बढाएकालगायत समस्या धेरै आउँछन् ।’

चितवन, कास्कीको पोखरालगायत विभिन्न जिल्लामा २५ वटा महासंघका शाखा छन् । अध्यक्ष खनालका अनुसार घर बहालबाट कर उठाउने राज्यले व्यवस्थित एकीकृत कानुन नल्याउँदा ठूलो कर छली भएको, घरभेटी मोटाउँदै गएको र घर बहालमा बस्ने पीडित हुँदै गएको अवस्था सुनाए । महासंघले घर बहालको समस्या समाधानका लागि राज्यसँग माग गर्दै आएको छ । राज्यले लिँदै आएको १० प्रतिशत बहालकर घटाएर २ प्रतिशत बनाउने, घर बहालसम्बन्धी एकीकृत कानुन निर्माण गर्ने, वैज्ञानिक र मनासिब बहाल तोकिनुपर्ने, स्क्वायर फिटका आधारमा कोठा भाडाको शुल्क तोकिनुपर्ने, सुविधाअनुसार शुल्क लिनुपर्नेलगायतका माग महासंघको छ ।

काठमाडौं महानगरपालिकामा भने लक्ष्यभन्दा दोब्बर कर घर बहालबाट उठ्ने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७८/७९ मा घर बहाल करअन्तर्गत २ अर्ब ३ करोड ६४ लाख ८१ हजार ६ सय ५४ रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षमा दुई अर्बको अनुमान गरेको महानगरले हालसम्म ६६ करोड ५८ लाख रकम उठाइसकेको छ । महानगरभित्र २ लाख ५४ हजार घरमध्ये ११ हजार ३ सय ८१ घरले मात्रै कर तिरेको महानगरको तथ्यांकले बताउँछ ।

व्यक्तिगत कोठा भाडामा लगाउने अधिकांशले कर छली गर्छन्, न यसमा स्थानीय निकायको मापदण्ड छ न त अनुगमन नै । महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारी घर बहाल कर व्यवस्थित र मर्यादित बनाउन जरुरी रहेको बताउँछन् । ‘एउटा घरभेटीले यति वटा कोठा भाडामा दिएको छु भनेर साँचो बोल्दैन,’ उनले स्विकारे, ‘मनपरी भाडा पनि उठाएकै हुन्छ, हामी करको दायरामा ल्याउन चुकेकै छौं ।’

घर बहाल करमा द्वन्द्व

घर बहाल कर संकलनमा स्थानीय तह र संघबीच द्वन्द्व देखिएको छ । मुलुक तीन तहको संरचनामा गएसँगै स्थानीय सरकारले घर बहाल करलाई आफ्नो आम्दानीको मुख्य स्रोतका रूपमा लिन थालेपछि द्वन्द्व देखिएको हो । घर बहाल कर संकलनको अधिकार स्थानीय तहलाई दिइएपछि वर्षौंदेखि घर बहालबापत कर नितेरका घरजग्गा मालिक र भाडावाला दुवै करको दायरमा आउनुपर्ने बाध्यता छ ।

कुनै व्यक्ति वा संस्थाले आफ्नो भवन, घर, पसल, ग्यारेज, वर्कसप, गोदाम, टहरा, सेड, जग्गा पूरै वा आंशिक तवरले भाडामा लगाउँदा स्थानीय तह वा संघीय सरकारलाई बहाल कर तिर्नुपर्ने हुन्छ । मुलुक संघीय प्रणालीमा गइसकेपछि बहाल कर असुली गर्न स्थानीय तहले एकाधिकार पाएको हो । आफैं बहाल कर निर्धारण गरी असुली गर्न पाउने पूर्ण अधिकार स्थानीय तहलाई दिइएको काठमाडौं महानगरपालिकाका राजस्व विभाग अधिकारी बताउँछन् । काठमाडौं महानगरपालिकाले बहाल कर १० प्रतिशत लिँदै आइरहेको छ । कुनै स्थानीय तहले १७ प्रतिशतसम्म लिन्छन् । ‘तापनि संघीय सरकारले बलमिच्याइँ गरेर संस्थागत बहाल कर आफैं असुली गरिरहेको छ,’ अधिकारीले भने, ‘संघीय सरकारमा बहाल करको शीर्षक पनि छैन ।’

घरधनी र बहालवालाबीच भएको सम्झौतापत्र वा घरधनीले स्वःघोषणा गरेका आधारमा स्थानीय तहले बहाल कर निर्धारण गरी असुल्ने गरेका छन् ।

असल घरभेटी पनि छन्

घर बहालमा बस्नेहरूले घरभेटीप्रति अनेक गुनासा गरे पनि सबै घरभेटी खराब छैनन् । महासंघले नै दुई वर्षअघि पोखराका असल घरभेटीलाई सम्मान गरेको थियो । यस पटक झापा, काठमाडौंका घरभेटी सम्मानित हुँदै छन् । असल घरभेटीमा पर्नेमा झापाका मनोज आचार्य पनि हुन् । उनले १३ वर्षदेखि व्यावसायिक रूपमा घर भाडामा लगाउँदै आएका छन् । उनले कोभिडका बेला ५ लाखसम्मको घर भाडा छुट दिएका थिए । ‘भाडामा राख्नु भनेको मात्रै व्यवसायका लागि हुँदैन । भाडामा बस्ने परिवार जस्तै हुन्,’ उनले भने, ‘उनीहरू बिना हामी भोकै हुन्छौं । मानवीय र पारिवारिक सम्बन्ध विस्तार गरे घरभेटी र डेरावालाको गहिरो मित्रता हुन सक्छ ।’

घर बहाल सरोकार महासंघको काठमाडौं शाखाले काठमाडौंका करिब ८० असल घरभेटीलाई सम्मान गर्दै छ । काठमाडौं संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाले कोभिडका बेला घर भाडा छुट दिएका र घर भाडामा बस्नेसँग मित्रवत् व्यवहार गर्नेको मूल्यांकन भइरहेको बताए । ‘हामीले घरभेटी र भाडामा बस्नेबीचको सम्बन्ध पारिवारिक बनाउन प्रोत्साहन गर्न जरुरी छ,’ उनले भने, ‘असल घरभेटीहरू पनि निकै छन् ।’

प्रकाशित : कार्तिक २१, २०७९ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×