सरकारप्रति ओलीको टिप्पणी - ‘टालाटुली बाटुली, कति राम्री कठपुतली’

'डडेलधुरामा एमालेको समर्थन मल्ललाई हुन्छ '

कार्तिक १८, २०७९

भवानी भट्ट

कञ्चनपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार देश बनाउने वा विकास गर्नेभन्दा पनि ‘टालाटुली बाटुली, कति राम्री कठपुतली’ भएको आरोप लगाएका । शुक्रबार महेन्द्रनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनसँग कुनै दृष्टिकोण र भिजन नभएका कारण देशको विकास र सुशासनका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताए । 

‘५/६ नेता मिलेका छन्, ङ्यार ङ्यार गरेका छन्, कुनै गन्तव्य छैन, बाटो छैन, काले कालेर मिलेर खाउ भाले भनेजस्तै भएको छ,’ उनले भने, ‘५/६ तिर फर्केका षडमुखाहरु देश ठुग्न लागेका छन् ।’

आफ्नो पालामा देश लुटन नदिएका कारण प्रचण्ड कांग्रेसको पिंडी पालीमा बसेको आरोप लगाए । ‘छोरी बुहारी सबै बोकेर प्रचण्ड कांग्रेसको पिंडी पालीमा बस्न गए,’ उनले भने, ‘छोरी, बुहारी, ज्वाइँ र भाइ भतिजाका लागि सहिद परिवारमाथि सौदाबाजी गरे ।’ 

 उनले केन्द्रको निर्णयअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेस बीपीका उम्मेदवार मल्ललाई र प्रदेशसभाका दुवै क्षेत्रमा मल्लले एमालेका उम्मेदवारलाई समर्थन गर्ने बताए । 

‘केन्द्रको निर्णय कार्यान्वयन हुन्छ, केन्द्रको निर्णय अक्षरस पालना गर्नुस्,’अध्यक्ष ओलीले भने, ‘म सुन्दैछु जिल्लाले के विज्ञप्ति निकालेर कुन चाहिँलाई समर्थन गर्ने भनेको छ, तर त्यो हुँदैन, हामी इमान्दारिताका साथ कर्ण मल्ललाई समर्थन गर्छौं, मल्लले प्रदेशमा एमालेका उम्मेदवारलाई समर्थन गर्नुपर्छ ।'

अध्यक्ष ओलीले कांग्रेसमा पनि प्रधानमन्त्री र गृहमन्त्रीका श्रीमतीले मात्रै समानुपातिकमा ठाउँ पाउने तर इमान्दार कार्यकर्ताले ठाउँ नपाउने अवस्था आएको टिप्पणी गरे ।  ‘अहिलेको कांग्रेसका नेतृत्वबाट केही हुँदैन, कांग्रेस प्रचण्डपथमा गएको छ,’ उनले भने । 

दार्चुला र बैतडीको चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली महेन्द्रनगर पुगेका हुन् । ओलीसँगै एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सभालाई सम्बोधन गरे । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully