३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्वतन्त्र र 'नो नट अगेन' पानीको फोकाजस्तै, अराजकतातिर लैजान सक्छन् : दाहाल

गोरखा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलको विकल्पको रुपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौं शासनमा बसेका नेताहरुलाई नदोहोर्‍याउन अपिल गर्दै सामाजिक सञ्जालमा चलिरहेको 'नो नट अगेन' अभियानलाई पानीको फोकाको संज्ञा दिँदै यसले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप लगाएका छन् । चुनावी प्रचारका क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले आइतबार कान्तिपुरसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

स्वतन्त्र र 'नो नट अगेन' पानीको फोकाजस्तै, अराजकतातिर लैजान सक्छन् : दाहाल

'स्वतन्त्र भएर हुनेचाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन,' दाहालले भने, 'तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरुलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठूला युगान्तकारी परिवतर्नमा असाधारण भूमिका खेले उनीहरुलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापि राम्रो होइन । मैले हेर्दाखेरी यो झन्डैझन्डै पानीको फोकाजस्तो हो । यस्सो देखा पर्छ जान्छ ।'

गोरखाको प्रतिनिधिसभा -२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई साथैमा लिएर हिँडिरहेका दाहाल शुक्रबार गोरखाको आरुघाट भएर शनिबार राति भच्चेक आइपुगेका हुन् ।

उनले दल र नेताहरुको विकल्प नरहेको दाबी गरे । उनले नेताहरुको विस्थापन उसको उमेरका कारण नहुने तर्क गरे ।

'दलहरुको अगाडि स्वतन्त्रहरुले प्रतिस्पर्धा गर्ने भन्ने कुरा दिगो हुने कुरा पनि होइन । यो टिक्ने कुरा पनि होइन । तर पनि मैले स्वतन्त्र भएर चुनाव लडेका र जितेकाहरुलाई, काठमाडौं वा धरानकालाई मैले यो लोकतन्त्रकै नयाँ फूल भनेर हेर्नुपर्छ पनि भनेको छु । मैले नकरात्मक टिप्पणी गरेको पनि छैन । तर त्यसो भन्दै गर्दा मेरो कुरा के छ भने दलहरुलाई यो अवसर पनि हो । स्वतन्त्रले अलिकति आफूलाई सच्चिन दलहरुलाई प्रेरित गरेको पनि हो । त्यस अर्थमा मैले अवसर ठान्छु,' दाहालले भने, 'स्वतन्त्रले देशलाई अराजकतातिर कता हो कता अँध्यारोतिर लाने खतरा पनि छ । त्यसकारण चुनौती पनि हो । चुनौती र अवसर दुवैको रुपमा मैले हेर्छु ।'

नयाँ पुस्ता नेतृत्व लिने खालको भिजन नै बोकेर अहिले आइनसकेकाले आफूहरु नै यसका लागि काबिल रहेको आशय दाहालले व्यक्त गरे । उनले यो चुनावमा चलिरहेको 'नो नट अगेन' जस्ता अभियान नेताहरुलाई होच्याउने ढ‌ंगले मात्र आएको यसका पछाडि कुनै भिजन नरहेको दाबी गरे ।

'उहाँहरुले आफ्नो कर्मद्वारा, योगदानद्वार, देश, जनता र इतिहासप्रति आफ्नो लगानीद्वारा विस्थापित गर्न सक्नुपर्छ । छोडदेउ तिमीहरुले हामीलाई बाटो भनेर भन्नु राजनीतिक कुरा होइन् । आफू सक्रिय भएपछि स्वत: जनताले मान्छन् । छोड, 'नो, नट एगेन' भन्ने हो ? त्यसो भनेर जसले देशमा यस्तो परिवर्तन र समृद्धिको निम्ति भूमिका खेले, उनीहरुलाई ह्युमिलियट गर्ने ढंगले आउनु कदापि पनि न्यायोचित छैन । त्यसकारण यो सफल पनि हुँदैन,' दाहालले भने ।

स्वतन्त्र र सामाजिक सञ्जालका अभियन्ताहरुले तपाईंहरु हाम्रो निम्ति बीसौं वर्षसम्म लडनुभयो अब तपाईंहरु ७० वा ८० बर्ष पनि हुनुभयो । तपाईं आफैं पनि ७० को बाटोतिर जाँदै हुनुहुन्छ । अब तपाईंहरु विश्राम गर्नुस्, नयाँ पुस्तालाई दिनुस् भन्ने कुरा गरिरहेको बारे जानकार रहेको दाहालले बताए । तर यसो भन्दैमा नेतृत्व छोड्ने कुरा नहुने उनले उल्लेख गरे ।

'उमेरले निर्धारण गर्ने कुरा होइन । त्यो कुरा विचार र स्प्रिट, मनोबल , दृष्टिकोण, भिजन र मिसनले निर्धारण गर्ने कुरा हो । हामीले जस्तो शताब्दी पुरुष भनेर सत्यमोहन जोशीलाई १०३ वर्ष हुँदा पनि उचित सम्मान गऱ्यौं । समुचित सम्मान गऱ्यौं पनि । किनकी उहाँको योगदान र सय वर्षपछि पनि उहाँले जुन स्प्रिट देखाउनुभयो त्यो युवाहरुको भन्दा कम थिएन । युवाहरु एकथरी भन्ने हो भने फ्रस्टेटेड देखिने, डिप्रेस्ट देखिने, तर सय वर्ष कटेको मान्छे गतिशिल देखिने । त्यसकारण यो विचार र स्प्रिटसँग सम्बन्धित कुरा हो । त्यसकारण यो रेस्ट लिनुस् भनेर हुने कुरा होइन' उनले भने,'मलाई भन्नुन्छ भने म त अहिले ६८ वर्षमा हिँडिरहेको छु । ७० पुग्न पनि २ वर्ष बाँकी छ । त्यसमाथि पनि मैले अघि भने नि, मुख्य कुरा विचार स्प्रिट, मिसन र भिजनको कुरा हो । मलाई लाग्छ, यो देशलाई एकचोटी आर्थिक समृद्धिको अभियानतिर लैजाने भनेर जे जस्ता कुराहरु सोचेको छु । मैले अहिलेसम्म स्वतन्त्र भन्नेहरुको त्यस्तो कुनै भिजन छ भन्ने कुरा मैले देख्न, हेर्न बुझ्न पाएको छैन ।'

(अध्यक्ष दाहालसँगको भिडियोसहितको विस्तृत कुराकानी पछि प्रकाशित हुनेछ ।)

प्रकाशित : कार्तिक १३, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?