स्पष्टीकरण साेध्नु कारबाही प्रक्रियाकाे सुरूवात मात्रै हाे : प्रमुख निर्वाचन आयुक्त थपलिया


माेरङ — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेमा आयाेग दृढ रहेको बताएका छन् । निर्वाचन आयाेगले विराटनगरमा शुक्रबार आयाेजना गरेकाे प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लंघनकाे घटनामा स्पष्टीकरणले तरंगित भएकाे अवस्थामा ८/१० दिनपछिकाे आयाेगकाे निर्णयले ठूलाे भूकम्प नै ल्याउन सक्ने बताए ।


'स्पष्टीकरण साेध्नु कारबाही हाेइन, कारबाही प्रक्रियाकाे सुरूवात मात्रै हाे,' उनले भने, ´निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेमा आयाेग दृढ छ, कारबाही गर्नबाट पछि हटदैन ।'
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई साेधिएकाे स्पष्टीकरणले अहिले तरंग उत्पन्न भएकाे छ । निर्वाचन आचारसंहिता कसुर एैनकाे दफा २० ले कुनै पनि प्रलोभन दिन नहुने भनिएकाेले आचारसंहिता उल्लंघनभन्दा ठूलाे कसुर भएकाले कारबाहीका लागि सिफारिस गरिएको थपलियाले बताए ।
'दलहरू आफैंले बनाएकाे कानुन कार्यान्वयन आयाेगले गराउने काम मात्र गरेकाले कानुन कार्यान्वयन गर्न उनले सबैलाई आग्रह गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन खर्चको सीमा र आचारसंहिता कार्यान्वयन गर्ने कुरा मुख्य चुनाैती देखिएकाे छ,' उनले भने, 'दलहरूले आफैंले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउने तर उल्लंघन गर्न नहिच्किचाउने अवस्थामा आयाेग टुलुटुलु हेरेर बस्न सक्दैन ।'
उनले स्थानीय तहकाे निर्वाचनमा अनुभूत गरेका समस्या याे निर्वाचनमा दाेहाेरिन नदिने बताए । सामाजिक सञ्जाल नियमनकाे अवस्था आएकाले त्यसका लागि विज्ञ टाेली खटाएर अनुगमनकाे व्यवस्था गरिएकाले सबैलाई सचेत भएर सामाजिक सञ्जालकाे उपयाेग गर्न थपलियाले आग्रह गरे ।
उनले पछिल्लो समयका केही समाचारले महिला उम्मेदवारलाई सञ्चारमाध्यमबाट हाेच्याउने काम भएकाे प्रति ध्यानाकर्षण भएकाले यसप्रति सञ्चारमाध्यमहरूलाई गम्भीर भएर समाचार सम्प्रेषण गरिदिन आग्रह गरे । महिला उम्मेदवार भएकाे क्षेत्रमा 'हेबीवेटसँग महिला प्रतिस्पर्धा' लगायतका शीर्षककाे समाचारले महिलालाई हाेच्याउने काम भएकाे उनले सुनाए । त्यसैले सूचना सम्प्रेषण गर्दा सबैलाई समान अवसर दिन उनले ध्यानाकर्षण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमहरूलाई स्वनियमन र स्वअनुगमन गरेर मात्रै सूचना सम्प्रेषण गरिदिन आग्रह गरेका छन् ।
माेरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले आचारसंहिता गुणात्मक र गुणस्तरीय परिचालन भएको बताए । जिल्लामा समानुपातिक मतपत्र प्राप्त भएकाले त्यसको व्यवस्थाको काम भइरहेकाे उनले बताए । माेरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले माेरङमा ७ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरेर भयरहित र निष्पक्ष निर्वाचनका लागि प्रतिबद्ध रहेकाे बताए ।
प्रकाशित : कार्तिक ४, २०७९ ११:३२