१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

त्यो गोग्राहा, यो विराटनगर

१९७० मा २२ किलोमिटर पूर्वको रंगेलीबाट सदरमुकाम सरेपछि २००७ सालदेखि विराटनगरमा बसोबास बाक्लिन थाल्यो, शताब्दी पहिला जम्मा सात गाउँमा समेटिएको गोग्राहा अहिले आधुनिक महानगरतर्फ उन्मुख छ
विनोद भण्डारी

विराटनगर — सय वर्षअघिको कुरा हो । गोग्राहा एउटा सानो बजार थियो । बजार अड्डा, शंकरपुर, मेनरोड, हाटखोला, तीनपैनी चोक, मधुमारा र गहेली चोकमा गरेर बढीमा डेढ सय घर थिए । मुख्य बजार जस्ताले छाएका काठको खम्बा र बार्दली भएका घर नै गोग्राहको परिचय थियो । घना जंगल र बाघको आक्रमण हुन सक्ने डरले एक बस्तीबाट अर्को बस्ती पुग्न ठूलै आँट जुटाउनुपर्थ्यो ।

त्यो गोग्राहा, यो विराटनगर

यो दस दशकअघिको कुरा हो । समय फेरियो । अब यो अवस्थाबाट कायापलट भएर नयाँ स्वरूप भइसकेको छ विराटनगरको । शताब्दीअघिको गोग्राहाको यो अवस्था धेरैका लागि कथाजस्तो लाग्छ । नयाँ पुस्तालाई त गोग्राहाकै विकसित रूप अहिलेको विराटनगर हो भन्नेसम्म थाहा छैन । नयाँ पुस्ता यहाँको ऐतिहासिकतासँग परिचित नभए पनि अग्रजहरू राम्ररी जानकार छन् । तीमध्येका एक हुन्– २००० सालदेखि विराटनगरलाई बुझ्दै आएका ८७ वर्षीय विश्वराज पाण्डे । उनका अनुसार १९७० सालमा २२ किलोमिटरपूर्वको रंगेलीबाट सदरमुकाम त्यतिबेलाको गोग्राहा सारेपछि यो ठाउँको विकास सुरु भएको हो ।

औद्योगिक क्रान्ति एवं राजनीतिक आन्दोलनको अगुवाइ गर्ने विराटनगरका बारेमा भन्ने गरिन्छ– ‘विराटनगरले आज जे सुरु गर्छ, मुलुकले त्यसलाई भोलि अवलम्बन गर्छ र त्यही बाटोमा जान्छ ।’ ऐतिहासिक घटनाक्रम, औद्योगिक विस्तारको पक्ष अनि राजनीतिक रूपमा मुलुकको नेतृत्व सम्हाल्ने हैसियतका कारण विराटनगरबारे भनिएको उक्त विशेषता ठ्याक्कै मेल खान्छ ।

सदरमुकाम सरेपछि १९७६ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेर सिकार खेल्न गोग्राहा आएका थिए । सिकार खेल्ने क्रममा उनी सीमावर्ती बुधनगरमा पर्ने विराट राजाको दरबार क्षेत्र पुगे । महाभारतकालमा पाण्डवहरूले आश्रय लिएको विश्वास गरिने उक्त क्षेत्रमा भेटिएका भग्नावशेष हेरेपछि उनले पिता चन्द्रशमशेरलाई यो क्षेत्रको नाम गोग्राहा साँघुरो भएको भन्दै विराटनगर राख्न बिन्ती गरे । ‘चन्द्रशमशेरले छोराको आग्रहअनुसार गोग्राहाको नाम विराटनगर राखेका हुन्,’ पाण्डेले सुनाए, ‘त्यसअघि गोग्राहाको नाम फेरेर नेपालगन्ज वा चन्द्रगन्ज राख्ने तयारी हुँदै थियो ।’

विराटनगरमा अहिले पनि गोग्राहा नामको चोक छँदै छ तर एउटा सानो बस्तीका रूपमा, जुन विराटनगर महानगरपालिकाको वडा ३ मा पर्छ । रंगेलीबाट गोग्राहामा सदरमुकाम सारेपछि तत्कालीन सरकारले १९७१ सालमा भारतको कुश्माबाट सुगनमल चाँदमल दुगड, सुरजमल चाँदमल सेठिया, वीरराज बेनचन्द नाहाटा, प्रेमचन्द छतमल लुनिया र धनराज प्रेमचन्द पारख मारवाडी समुदायका ५ परिवारलाई दुई/दुई बिघा जमिन उपलब्ध गराएर व्यापार गर्न लगाएको इतिहास छ ।

तस्बिर सौजन्य : वेदराज पौडेल

पाण्डेका अनुसार त्यतिबेलाको विराटनगरमा सरकारी कार्यालयबाहेक कुनै पनि व्यक्तिका पक्की घर थिएनन् । १९९८ सालमा पदमबहादुर बस्नेतले नगरमै पहिलो पक्की घर बनाएको पनि उनले बताए । उनले त्यतिबेला पक्की घर बनाउने मिस्त्री हतपती नपाइने भएकाले भारत वा काठमाडौंबाटै मिस्त्री ल्याउने गरिएको बताए । थोरै दक्ष जनशक्तिको भरमा काम गर्दा पक्की घर बनाउन महिनौं लाग्ने गरेको अनभुव साट्दै उनले भने, ‘मैले पक्की घर बनाउन २००३ सालमा थालें, २००५ मा सकियो । अनेक डिजाइनका अग्लिँदै गरेका मल र निजी घर देख्नेहरूलाई विराटनगरका मौलिक घरको कथा अनौठो लाग्न सक्छ । विराटनगरको पुराना तस्बिर नियाल्दा खबटाले छाएका, काठको दोस्रो तला र बार्दली भएका घर देखिन्छन् । पाण्डेले सुनाए, ‘त्यसबेला विराटनगरमा घना जंगल थियो, बाघ अत्यधिक लाग्थे । तिनैबाट जोगिन यस्ता घर बनाइन्थ्यो ।’

२००७ सालदेखि विराटनगरमा बसोबास बाक्लिन थाल्यो । २०१७ सालपछि राजा महेन्द्रले पुष्पलाल चोक, घिनाघाट, सम्झना चोक र मानगढको जंगल फँडानी गरेर बसोबास गराएपछि विराटनगर फैलिँदै गयो । शताब्दी पहिला जम्मा सात गाउँमा समेटिएको गोग्राहा अहिले आधुनिक महानगरतर्फ उन्मुख छ । १९ वटा वडा रहेको ७६.९९ वर्ग किलोमिटर क्षेत्रफलको यो सहर पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा सुनसरी जिल्लासम्म फैलिएको छ । उत्तरतिर मोरङकै बुढीगंगा, ग्रामथान गाउँपालिका र दक्षिणमा भारतीय सीमासँग जोडिएको छ ।

२०४६ सालको परिवर्तनपछि विराटनगर नगर पञ्चायतबाट उपमहानगर पालिकामा परिणत भयो । करिब ३ लाख जनसंख्या भएको हालको विराटनगर अघिल्लो स्थानीय निर्वाचनको संघारमा महानगरपालिकामा परिणत भएको हो । विराटनगरको अहिलेको चमकधमकका पछाडि यो सहरसँगै सुरु भएको औद्योगिक विकासको पनि उत्तिकै हात छ । मारवाडी समुदायका ५ परिवारबाट सुरु भएको व्यापार फैलिएर विराटनगर अहिले औद्योगिक सहरमा रूपान्तरित भइसकेको छ । १९९३ सालमा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स स्थापना भएपछि विराटनगरको औद्योगिक यात्रा सुरु भएको थियो । जुट मिलपछि खुलेका अशोक टेक्सटाइल, गणपति कटन मिल, साहा उद्योग, जुद्ध म्याच फ्याक्ट्री र रघुपति जुट मिलमध्ये रघुपतिमात्र अस्तित्वमा छ । यो मिलले यसै वर्ष हीरक जयन्ती मनाएको छ ।

तस्बिर सौजन्य : किथ कनिङ्घम

पुराना उद्योगी ताराचन खेतान जुट मिल्सको यात्राबाटै सुनसरी–मोरङ औद्योगिक करिडरको बाटो बनेको बताउँछन् । अहिले यो करिडोर सीमावर्ती जोगवनीदेखि सुनसरीको इटहरीसम्म फैलिएको छ, जहाँ साना–ठूला गरी ५ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । करिब ५० हजारले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

५५ वर्षदेखि विराटनगरलाई कर्मथलो बनाउँदै आएका ८१ वर्षीय खेतानका अनुसार आफूले कारोबार सुरु गर्दा विराटनगरमा गोल्छा, दुगड, धनावत, चैनवाला लगाएर करिब डेढ दर्जन औद्योगिक र व्यापारिक घराना थिए । अहिले पाइलैपिच्छे व्यापारी र औद्योगिक घराना छन् ।

खेतानले व्यापार थाल्दा धान, चामल र जुट नै विराटनगरको मुख्य कारोबार थियो तर अहिले विराटनगर उत्पादनदेखि सेवा विस्तारसम्मै फैलिएको छ । कुनै समय विराटनगरमा धान र चामलको कारोबारमा अच्युत मिल, चन्द्रशिव राइस मिल, मोरङ मिल र जुगल मिलले ख्याति कमाएका थिए । तीमध्ये अहिले चन्द्रशिव राइस मिल मात्र सञ्चालनमा छ । यी मिलले धान खरिद गरी चामल उत्पादन गरेर स्थानीय बजार र भारत निर्यात गर्थे तर त्यो दृश्य पूरै बदलिएको छ ।

खेतानको बुझाइमा १९६८ सालमा भारतको फारबिसगन्जबाट जोगबनीसम्म रेलमार्ग बनेपछि भारतसँग व्यापार बढ्दै गयो । पछिल्ला वर्ष विराटनगर पूर्वी तराईका मात्र नभएर पहाडी जिल्लाको पनि व्यापारिक केन्द्र बन्दै गएको छ । सात दशक पहिलासम्म विराटनगरमा रामलाल गोल्छा, मदनलाल चिरञ्जीवीलाल अग्रवाल, तोलाराम दुगड, मालचन भिकमचन अग्रवाल, रामकिशन राठी र कुलेश्वर चेनवालाका ठूला गोला अर्थात् कारोबार घरहरू थिए । ती अधिकांश गोलामा खाद्यान्न र जुटको कारोबार हुन्थ्यो । जुटका सामान विदेश पठाएर सुनको भुक्तानी लिने चलन थियो । खेतानले सुनाए, ‘त्यसबेला जुटका चट्टी अमेरिका, सुत्ली सिंगापुर र जुट भारतलगायत युरोपेली मुलुकमा निकासी हुन्थ्यो । ती सामान निकासी गर्न राष्ट्र बैंकले बोनसका नामले चिनिने पहेंलो पत्र दिन्थ्यो । त्यही पत्रका आधारमा वाणिज्य विभागले आयात गर्न लाइसेन्स दिन्थ्यो ।’

भारतबाट लत्ताकपडा र घरेलु प्रयोजनका सामग्री आयात हुन्थ्यो । केही सीमित व्यापारिक घरानाको उत्पादनको निर्यात र भारतबाट लत्ताकपडा र घरेलु प्रयोजनका सामग्री आयात गरेर धानिएको विराटनगरको व्यापार अहिले धेरै फराकिलो भइसकेको छ । विराट व्यापार संघका पूर्वअध्यक्ष सुजन थापाका अनुसार महानगरभित्र १५ हजारभन्दा बढी साना–ठूला व्यापारिक पसल छन् ।

तस्बिर सौजन्य : किथ कनिङ्घम

पूर्वका अन्य स–साना व्यापारिक केन्द्रभन्दा विराटनगरको गति तीव्र देखिनुका पछाडि यहाँ निर्माण भएको पूर्वाधारहरूको पनि मुख्य भूमिका देखिन्छ । जस्तो कि विराटनगरमा पहिलो पटक २००१ सालमा सरकारी अड्डामा बिजुली बत्ती बलेको इतिहास छ । इतिहासका जानकार पाण्डेका अनुसार पदमशमशेरले उत्तरी मोरङको हालको लेटाङमा (सिकारवास) पावर हाउस खडा गरी डाइनामोबाट बिजुली निकालेर २००१ सालमा विराटनगरका सरकारी अड्डामा बत्ती बालेको र २००२ देखि सर्वसाधारणलाई बिजुली उपलब्ध गराएको देखिन्छ ।

छिमेकी जिल्लामा सञ्चारको सुरुवात नहुँदै विराटगरमा आकाशवाणीको सेवा सुरु भएको देखिन्छ । भारत र अन्य मुलुकमा फोन गर्न भारतको जोगवनी धाउनुपरेको इतिहास अहिले पनि विराटनगरका पुराना बासिन्दाको सम्झनामा ताजै छ । खेतानले एक पटक त जोगवनीको आकाशवाणी पनि बिग्रेपछि रेलमार्ग हुँदै तीन रुपैयाँ भाडा तिरेर ११५ किलोमिटर टाढाको कटिहारसम्म पुगेको सुनाए । कुनै समय व्यापारीका लागि नेपाल बैंक र वाणिज्य बैंकको सुविधा मात्रै रहेको विराटनगरमा अहिले सरकारीबाहेक निजी क वर्गका २७ बैंक, ख वर्गका दुई दर्जन, दर्जनौं वित्तीय संस्था र लघुवित्त कम्पनी सञ्चालनमा छन् ।

विराटनगरका पछिल्लो वैभवको विस्तार भने प्रदेश १ को राजधानी बनेपछि सुरु भएको देखिन्छ । २००० सालसम्मै कच्ची गोरेटो सडक रहेको विराटनगरमा अहिले ७ सय ५० किलोमिटर सडक पूर्वाधार निर्माण भएको छ । महानगरलाई आधुनिक सहरमा परिणत गर्न एसियाली विकास बैंकको ६ अर्बभन्दा बढी लगानी छ । पक्की सडक देख्नका लागि २०१४–०१५ साल कुरेको विराटनगरमा अहिले क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत एसियाली विकास बैंकको लगानीमा विराटनगरभित्र ८३ किलोमिटर कालोपत्र सडक, सडकसँग जोडिएको ८१ किलोमिटर र ठूलो ३८ किलोमिटर नाला निर्माण सम्पन्न भएको छ ।

विराटनगरको इतिहासका जानकार पाण्डेका अनुसार २०१४ सालतिर हालको तीनपैनी चोकदेखि बजार अड्डासम्म करिब दुई किलोमिटर पिच सडक बनेपछि यहाँ मोटरसाइकल गुड्न थालेका थिए । यस्तो सहर अहिले अटो रिक्सादेखि महँगा गाडी र मोटरसाइकलले भरिएको देख्दा उनी अचम्म मान्छन् ।

७९ वर्षीय सुरेशकुमार शर्मा हेर्दाहेर्दै बदलिएको विराटगर सम्झिँदा अचम्मै मानेजस्तो गर्छन् । उनले एकाध मारवाडी, धनीमानी र केही सरकारी कर्मचारीले मोटरसाइकल र साइकल चलाएकोदेखि गाडीको ताँतीसम्म यही सहरमा देखेका छन् । एक समय कच्ची सडकमा धरान–विराटनगर सामान बोक्ने लहरीबाट सुरु भएको यो सहरमा विराटनगर र धरानमा दन्तकाली र अशोक मोटर्सले सेवा सुरु गरेपछि यातायात विस्तार भयो । शर्माका अनुसार ती मोटर सेवाले भारत र बेलायतबीचको द्वन्द्वमा विस्थापित भएका चारचक्के गाडी ल्याएर चलाएका थिए ।

पूर्वाधारमा फड्को मार्दै अघि बढेको विराटनगरले समयक्रममा सहरिया शैली र स्वादको विविधा पनि अँगाल्दै गयो । कुनै समय विराटनगरमा हालको पुरानो डीएसपी कार्यालयअगाडि काली बंगालीको काली मिष्ठान भण्डार र हालको गुदरी चोकमा टाटा मिष्ठान भण्डार चिया र मिठाईका लागि प्रख्यात थिए । शर्माले भने काली मिष्ठान भण्डारमा चिया र मिठाई नपाउँदा आधा किलोमिटर दक्षिण हिँडेर चिया खान टाटा मिष्ठान भण्डार जाने गरेको सुनाए । अहिले हरेक पाइलामा आधुनिक साजसज्जासहितका क्याफे र रेस्टुरेन्टको ताँती देख्ने धेरैलाई विराटनगरको त्यो इतिहास कथाजस्तो लाग्ने शर्माले बताए ।

सेवा क्षेत्रमा पनि विराटनगरले पछिल्लो दशकमा ठूलो फड्को मारेको छ । एक समय थियो, विराटनगर बाहिरबाट यहाँ झर्नेहरू खान र बस्न आफन्ती वा चिनारुको घर खोज्दै हिँड्थे । साधु सन्तहरू देवकोटा चोकपूर्वको वनसखण्डी मन्दिर र गोपीनाथ धर्मशालाको छहारीमा बस्थे । शर्माका अनुसार २००२ सालमा सत्यनारायण मन्दिर बनेपछि बाहिरका मानिसको रात्रिकालीन बसोबास यता पनि सर्‍यो ।

मारवाडी समुदायले २०२७ सालमा मेन रोडमा अतिथि सदन स्थापना गरेपछि बाहिरबाट आउनेको बसोबास यतातिर हुन थाल्यो । इतिहास खोतल्दै जाँदा विराटनगरमा २०३२ सालमा होटल स्थापना भएको भेटिन्छ । अहिलेको जनआन्दोलन चोक उत्तरमा पहिलो राणा होटल स्थापना भएसँगै मिलन र दोभान होटल स्थापना भएको इतिहास होटल एसोसिएसन विराटनगरका अध्यक्ष राजन श्रेष्ठले सुनाए । सुरुमा खुलेका तीन वटा होटल दशकसम्म चले । त्यसपछि २०३९ सालमा नमस्कार होटल खुलेसँगै विराटनगरमा व्यावसायिक रूपमा होटल खुल्ने क्रम बढेको उनले बताए । एसोसिएसनका अनुसार अहिले विराटनगरमा पर्यटकस्तरीय २६ वटा ठूला तारे होटल र करिब दुई सय साना होटल र लज छन् ।

तेह्रथुम जलजलेको मास्के समाजले २००९ सालमा विराटनगरमा जलजला सिनेमा हल खोलेपछि विराटनगरले नयाँ संसार देख्न थाल्यो । मास्के समाजका सदस्य राजेश मास्केका अनुसार समाजले २००९ सालमा सीमावर्ती जोगवनीमा खोलेको जलजला हल चार वर्षपछि हालको तीनपैनी चोकमा सारेको थियो । जुन २०१८ सालमा हालको मेनरोडमा सारियो । जलजला हल खुलेपछि विराटनगरमा हिमालय टाकिज, अरुण टाकिज र इन्द्र चलचित्र हल खुले । दशकयता ती सबै सिनेमा हलको अस्तित्व छैन । महानगरमा पछिल्लो समय डिपार्टमेन्ट स्टल र आधुनिक सिनेमा हल निर्माण हुने क्रम बढ्दो छ । पछिल्ला वर्ष भाटभटेनीसहित सिटी मल र आरके महल निर्माणसँगै सपिङ कल्चर सुरु भएको छ ।

महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक सुशीलकुमार अधिकारीले दशकअघि सुरु गरिएको विराटनगर–धरान ६ लेनको सडक निर्माण भएपछि विराटनगर झनै फैलिएको बताए । भारतको लगानीमा संयुक्त भन्सार जाँच चौकी निर्माण भएपछि र भारतको बथनादेखि कटहरीसम्म मालवाहक रेल्वेमार्गको निर्माण सुरु भएपछि महानगरको आवादी थप बढ्यो ।

कृष्णप्रसाद कोइरालाले १९७२–७३ सालमा दुई वटा विद्यालय खोलेपछि सुरु भएको शिक्षाको यात्रा अहिले निजी क्षेत्रका दर्जनभन्दा बढी कलेजदेखि दुई मेडिकल कलेज र पूर्वाञ्चल विश्वविद्यालयसम्म आइपुगेको छ । यसका अलावा कोसी अस्पतालसहित आधा दर्जनभन्दा बढी निजी अस्पतालजस्ता पूर्वाधार बनिसकेका छन् ।

शतक लामो यात्रा हिँडेर अहिलेको बिन्दुसम्म आइपुगे पनि विराटनगरका सामुन्ने चुनौती पनि उत्तिकै छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल सस्तो मूल्यमा उपभोग्य वस्तु पाइने नाममा उपभोक्ता सीमावर्ती जोगवनीतर्फ आकर्षित हुँदा विराटनगर बजार सुनसान बन्दै गएको र यसले समयक्रममा स्थानीय उद्योगी व्यापारीलाई पलायन गराउन सक्ने जोखिम रहेको बताउँछन् । कुनै समय पूर्वी पहाडी जिल्लाबाट सामान खरिद गर्न विराटनगर झर्नेहरू अहिले जोगवनी किन पुग्छन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने उनको तर्क छ ।

...

ऐतिहासिक खेल ‘फड्का’

विराटनगरको पुरानो परिचय यहाँका व्यापारी र उद्योगीहरूबीच ‘फड्का’ अर्थात् बाजी लगाउने खेलबिना अपूरै हुन्छ । एक समय विराटनगरमा फड्का खेल्न भारतबाट समेत ठूल्ठूला व्यापारी आउने गरेको स्मरण गर्छन् पुराना उद्योगीहरू । खेतानले सुनाए, ‘त्यतिबेला पनि फड्कामा लाखौंको कारोबार हुन्थ्यो ।’

अहिलेको जैन भवनमा कुनै समय साँझ परेपछि व्यापारीहरू भेला भएर फड्का खेल्थे । सयौं मन अन्न, जुटको पनि मौखिक किनबेच हुन्थ्यो । अहिले सात आना मन सनपाटको मूल्य छ, अब ६ महिनापछि वैशाखमा कुन भाउमा बिक्री गर्ने भनेर पहिले नै दाम छिनेर राखिन्थ्यो । तर, आर्थिक लेनदेन तत्कालै हुँदैनथ्यो ।

पछि वैशाख महिनामा सनपाटको भाउ बढेको होस् कि घटेको होस् किन्ने र बेच्नेले सोही भाउमा कारोबार गर्नुपर्थ्यो । त्यसरी नै फड्काको कारोबार हुन्थ्यो । अर्को आज पानी पर्छ कि पर्दैन, एक घण्टामा बाटोमा कति मान्छे हिँड्छन् जस्ता विषयमा पनि लाखौं रुपैयाँको फड्का हुन्थ्यो । अहिले पनि अतिथि सदन अगाडि फड्का खेलिन्छ तर पहिलेको तुलनामा अहिले निकै कम ।

प्रकाशित : आश्विन २८, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?