चितवन — नेपाली कांग्रेसले सत्तारूढ गठबन्धनकाे तर्फबाट चितवन-१ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उठाएकाे विश्वनाथ पाैडेल विरूद्ध साेमबार उजुरी परेकाे छ ।
स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकाेटीले पाैडेलविरूद्ध निर्वाचन अधिकृतकाे कार्यालयमा उजुरी दिएका हुन् ।
पाैडेल राष्ट्रिय याेजना आयाेगकाे उपाध्यक्षमा बहाल रहेकाे हुँदा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज हाेस् भनेर बुर्लाकाेटीले उजुरी दर्ता गराएकाे चितवन-१ मा प्रमुख निर्वाचन अधिकृत रेशमराज सिग्देलले बताए ।
पाैडेलले पदमा बहाल नरहेकाे प्रमाण पेस गर्नुपर्ने र त्यसका आधारमा भाेलि निर्णय हुने सिग्देलले जानकारी दिए । राष्ट्रिय याेजना आयाेगका सदस्य तथा प्रवक्ता दिलबहादुर गुरूङले उपाध्यक्ष पदबाट पाैडेलले असाेज २० गते राजीनामा दिएकाे बताएका छन् ।
