
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । लामिछानेले आइतबार दिउँसाे भरतपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराएका हुन् ।

यसअघि रवि चितवन-३ बाट उठ्ने चर्चा थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उक्त ठाउँबाट उम्मेदवार हुने सम्भावना रहेका बेला केही दिनअघि लामिछाने चितवन-३ अन्तर्गत पर्ने माडी आएर कार्यक्रम पनि गरेका थिए ।
तर माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवनबाट नभएर गाेरखाबाट उठ्ने र माओवादीले चितवन-३ मा गठबन्धनका उम्मेदवारका रूपमा डा. भाेजराज अधिकारीलाई उठाउने निर्णग गरेपछि रविले चितवन-२ राेजेका हुन् ।
लामिछाने आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेर ९ दिनसम्म चितवन जिल्ला प्रहरी हिरासतमा बसेका बेला उनका पक्षमा भरतपुरमा दिनहुँजसाे विशाल प्रदर्शन भएको थियो ।
नुवाकाेट घर भएर काठमाडाैंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी २०७६ सालकाे साउन २० गते नारायणगढकाे एक हाेटलमा मृत फेला परेका थिए । उनी लामिछानेका पूर्वसहकर्मी पनि थिए ।
आत्महत्या दुरुत्साहनमा रविविरूद्ध मुद्दा दायर भएपछि चितवन जिल्ला अदालतले उनलाई २०७६ सालकाे भदाै ९ मा पाँच लाख रूपैयाँ धराैटीमा रिहा गरेकाे थियाे ।
रिहा भएपछि उनकाे समर्थनमा नारायणगढ नारायणी किनारमा समर्थककाे ठूलाे भीड जम्मा भएकाे थियाे । जसलाई रविले सम्बाेधन गरेर राजनीतिमा आउने संकेत दिएका थिए ।
आत्महत्या दुरूत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई २०७६ सालकाे माघ ५ मा सफाइ दिएकाे थियाे । आफूले चर्चा कमाएकाे टेलिभिजन कर्मलाई बिराम लगाउँदै लामिछानेले गत असारमा आफ्नाे नेतृत्वमा राष्ट्रिय स्वतन्त्र दल निर्माण गरेका हुन् ।
चितवन-२ मा एमालेबाट कृष्णभक्त पाेखरेल र सत्तारूढ गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन् ।
प्रकाशित : आश्विन २३, २०७९ १४:५९