माओवादी अध्यक्ष दाहाल गोरखा-२ बाट चुनाव लड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने निर्णय भएको हो ।

'पदाधिकारीको बैठकले अध्यक्ष गोरखाबाट उम्मेदवार बन्ने निर्णय गरेको छ । उहाँ अब गोरखा २ बाट उम्मेदवार बन्नुहुन्छ,' गजुरेलले भने ।

दाहाल २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

त्यस्तै २०६४ सालको पहिलो संविधानसभा चुनावमा दाहाल काठमाडौं क्षेत्र नम्बर १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । तर ७० सालको दोस्रो संविधानसभा चुनावमा दाहाल सिरहा ५ र काठमाडौं १० बाट उम्मेदवार बनेका थिए । उनी काठमाडौं १० मा पराजित भएका थिए ।

प्रकाशित : आश्विन २१, २०७९ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियामा हजारभन्दा बढी घरपरिवार विस्थापित

बबई नदीको बाढीले गुलरिया नपा बढी प्रभावित
कमल पन्थी

बर्दिया — मंगलबार रातिदेखिको अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले एक हजारभन्दा बढी घर डुबानमा परेको छ । सदरमुकाम गुलरियाको वालापुर, ईन्द्रपुर, मुक्तिनातघाट, गंगापुर, राधाकृष्ण टोललगायत बारबर्दिया नगरपालिकाका केही ठाउँ डुबानमा परेका सुरक्षित स्थलमा आश्रय लिएका छन् । 

स्थानीय प्रशासनका अनुसार शुक्रबार दिउँसोसम्म एक हजार बढी घर डुबानमा परिसकेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । राति अबेरसम्म उद्धार कार्य जारी छ । पानी रोकिएपछि वास्तविक तथ्यांक आउने छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गुलरिया नगरपालिकाको ईन्द्रपुरका १ सय १९ जना हुलाकी सडकको अग्लो ठाउँमा त्रिपाल टागेर बसेका छन् ।

गुलरिया—११ को टडुवाको ९२ घरका ४ सय जना वडा कार्यालय, सेभ सेन्टर, आफन्तीको घर, उच्च स्थानमा रहेको घरमा आश्रय लिएको प्रजिअ बास्तोलाले जनाए । गुलरिया—८ गंगापुरका १ सय २१ जना विस्थापित भई सुरक्षित स्थलमा गएका छन् । प्रजिअ बास्तोलाले गुलरिया—१० का १ सय ४० जना रत्नापुर र कालाबन्जरमा बनाएको सेभ हाउसमा आश्रय लिएका छन् ।

बारबर्दिया नपा—३ खुरखुरे फाटामा तीनवटा कच्ची घर भत्काउनुका साथै केही विस्थापित भएका छन् । विस्तृत विवरण आउन केही समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७९ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×