२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चुनावी तालमेलका लागि समानान्तर वार्तामा जसपा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तागठबन्धनमा आफ्नो मागको सम्बोधन नहुने देखेपछि जनता समाजवादी पार्टी (जसपा)ले विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलका लागि समानान्तर रुपमा वार्ता अघि बढाएको छ । गठबन्धन दलको बालुवाटारमा बैठक चल्दै गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार राति अबेरसम्म  वार्ता गरेका थिए । शुक्रबार पनि कुराकानी हुँदैछ ।

चुनावी तालमेलका लागि समानान्तर वार्तामा जसपा

प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकबीचमै छाडेर जसपा अध्यक्ष यादव एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए । एमाले स्रोतहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् । एमालेका नेताहरुले मधेसमा कम्तीमा आधा सीट जसपालाई दिन तयार रहेको बताएका छन् ।

'समग्रमा जसपासँग सकारात्मक रुपमा छलफल अघि बढेको छ । सहमति भए मधेसमा १६ वटा स्थानमा जसपाका लागि छाड्न तयार छौ' जसपासँग भैरहेको वार्ताको बारेमा जानकार नेताले भने, 'मधेस बाहेक अन्य स्थानमा समेत उहाँहरुको माग रहेको छ । त्यस विषयमा छलफल भैरहेको छ ।'

जसपासँग छलफल भैरहेको छलफलबाट एमालेका नेताहरु आशावादी छन् । 'आज र भोलिसम्ममा सबै कुरा टुङ्ग्याइसक्नु पर्ने हु्न्छ । सहमति नै हुन्छ भन्ने निश्चित छैन । अन्य दलहरुसँग तालमेल विषयमा छलफल भैरहेको छ' ती नेताले भने, ‘जसपाको दुवैतर्फ कुराकानी चलिरहेको छ । ’ एमालेले कम्तीमा १ सय ४० स्थानमा चुनाव लड्ने गरि अन्य दलहरुसँग गठबन्धन गर्ने पक्षमा रहेको छ । ‘फुटबलमा पनि अन्तिम समयमा जस्तै गोल हुनसक्छ । टिमले त्यसका लागि पनि प्रयास गरिरहेकै हुन्छ’ ती नेताले भने, ‘अन्तिम समयमा के हुन्छ भन्न सकिदैन ।’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले बिहीबार कान्तिपुरसँग कुरा गर्दै जसपा, राप्रपा र लोसपासँग छलफल चलिरहेको बताएका थिए ।

सत्ता गठबन्धनमा आफ्नो माग पुरा नहुनेदेखेपछि जसपाले गत साता मात्रै केन्द्रीय कार्यसमितिको बैठक राखेर सबै दलहरुसँग चुनावी तालमेल गर्नका लागि खुला रहने निर्णय गरेको थियो । एमाले र जसपाका दोस्रो तहका नेताबीच दसैअघिबाट छलफल भएपछि अध्यक्ष तहमा भने बिहीबार पहिलो पटक छलफल भएको हो ।

जसपाका नेताहरुले चुनावी तालमेलमा पहिलो प्राथमिकता सत्तारुढ गठबन्धनमै भएपनि आफ्नो शक्तिलाई साझेदार अन्य दलहरुले कम्ती आँकेको भन्दै असन्तुष्टी जनाएकाछन्।

गठबन्धनमा जसपाले मधेस प्रदेशमा १६ सहित २४ सीटको दावी गर्दै आएको छ । तर सहमतिको अवस्थामा कही कम हुनसक्ने बताएका छन् । तर गठबन्धनमा अन्य दलहरु जसपालाई १६ स्थान मात्रै दिन तयार रहेका छन् ।


प्रकाशित : आश्विन २१, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?