कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमालेले आफ्नो टिकट टुंग्यायो, तीन पार्टीसँग गठबन्धन कोसिस जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी गठबन्धनका लागि नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई कुरिरहेको छ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङका अनुसार कुन निर्वाचन क्षेत्रबाट को उठ्ने भन्ने निश्चित भई टिकट तयार पारिसकेर अध्यक्ष केपी शर्मा ओलीले राखेका छन् ।

एमालेले आफ्नो टिकट टुंग्यायो, तीन पार्टीसँग गठबन्धन कोसिस जारी

नेम्वाङका अनुसार चुनावी गठबन्धन बन्ने सम्भावनालाई मध्यनजर गरी टिकटको टुंगो लागेपनि उम्मेदवारको नामावली सार्वजनिक नगरिएको हो । अध्यक्ष ओलीसहितका नेताहरूले गठबन्धनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिरहेका छन् । 'सबै टिकट लगभग फाइलन भएको छ । जम्मै अध्यक्षसँग छ । सबै क्षेत्रको लगभग टुंगो लागेको छ । त्यसमा कतिपय विषयमा कुराकानी भइरहेका छन् । स्थानीय, क्षेत्रदेखि राप्रपा, जसपा, लोसपासँग तालमेलका कुराकानी भइरहेका छन्,' नेम्वाङले भने ।

सरकारमा रहेको जसपा सत्तारुढ गठबन्धनमा कम सिट पाउने भएपछि पछिल्लो समय एमालेसँग पनि छलफलमा रहेको छ । अध्यक्ष यादवसहितका नेताहरू एमालेसँग तालमेल गर्न बालकोट र सत्तारुढ गठबन्धनमा कुराकानी गर्न बालुवाटार आलोपालो मिलाएर जाने गरेका छन् ।

एमालेसँग जसपाले कति सिट माग्यो भन्ने कुरा उल्लेख नगरेका उपाध्यक्ष नेम्वाङले अध्यक्ष यादवसँग ओलीको 'सैद्धान्तिक रूपमा सकरात्मक हिसाबले कुराकानी भइरहेको' बताए । राप्रपा र लोसपासँग पनि गठबन्धनबारे छलफल भइरहेको बताउँदै नेम्वाङले कुनै दलसँग पनि टुंगो भने नलागिसकेको बताए । उनले भने, 'निर्वाचन क्षेत्र र सिट संख्याबारे छलफल भइरहेको छ । दहलहरू जता फाइदा भयो त्यता मिल्छन् । उहाँहरू मिल्ने बढी सम्भावना एमालेसँग हो ।'

पार्टीभित्र भने जुन नेताको जित्ने सम्भावना बढी छ उसैका नाममा टिकट तयार रहेको नेम्वाङले बताए । 'जसले जित्छ उसलाई टिकट दिने भन्ने सिद्धान्त छ,' उनले भने ।

प्रकाशित : आश्विन २०, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?