नेपालमा अभिलेख भयो चिलापाटा भ्यागुतो 

गोविन्द पोखरेल

काठमाडौँ — सरीसृप-उभयचरसम्बन्धी अनुसन्धानकर्ता विवेक गौतम सन् २०१९ मा मोरङको पथरी-शनिश्चरे नगरपालिकाको जैविक विविधताको अभिलेख गर्दै थिए । अध्ययनकै क्रममा उनले दोस्रो चरणमा सन् २०२० को जुलाईमा पथरी-कानेपोखरी जंगलमा पुगे ।

नेपालमा अभिलेख भयो चिलापाटा भ्यागुतो 

जंगल छिर्ने क्रममा उनले सडक छेउमा भ्यागुता कराएको आवाज सुनियो । त्यो आवाज उनले सुनेका अन्य भ्यागुताको अवाजभन्दा अलिक फरक थियो । त्यही अवाजलाई संकेत मानेर हेर्दा एउटा भ्यागुता गला फुकाएको अवस्थामा फेला पर्‍यो ।

भ्यागुता आकारमा सानो, भोकल स्याक (कराउँदा हावा भरिएपछि थुतुनोमुनि फुलिने भाग) एक तर्फमात्रै भएको, शरीर भी आकारको पाएपछि उनले नेपालमा पाइने भ्यागुताभन्दा केही फरक रहेको ठम्याए ।

भ्यागुताको बाहिरी अवारण हेरेर उनले ‘मिनेरभार्या’ जेनस रहेको पत्ता त लगाए तर त्यसभित्रको कुन चाहीँ प्रजाति हो भन्ने भेउ पाउन सकेनन् । एसियन हर्पिटोलोजिकल जर्नलमा सन् २०२१ मा जनकराज खतिवडाको आलेखमा नेपालमा पाइने ४ वटा मिनेरभार्याका प्रजातिसँग पनि उक्त भ्यागुतो नरहेको पत्ता लाग्यो ।

खतिवडाको आलेखमा मिनेरभार्याका जेनेसका एम नेपालेन्सिस, एम पिइरेरी, एम स्याड्रिनेनसिस र एम तराइनेन्सिसको अभिलेखीकरण भएको छ । ती प्रजातिसँग नमिलेपछि गौतमले खोज्दा जाँदा भारतमा सन् २००९ मा विश्वमै पहिलोपटक पत्ता लागेको ‘मिनेरभार्या चिलापाटा’ सँग मिल्दोजुल्दो देखियो । र, उनले नेपालका लागि पहिलो पटक यो प्रजातिको वैज्ञानिक अभिलेख तयार गरे । हर्पिटोजोआ जर्नलमा यससम्बधी विवरण बिहीबार प्रकाशित भएको छ ।

उनको यो खोजसँगै नेपालमा अब ४९ प्रजातिका भ्यागुताको अभिलेख भएको छ । यसैगरी नेपालमा मिनेरभार्या जेनसका ५ प्रजातिका भ्यागुताको अभिलेखीकरणका लागि वैज्ञानिक प्रमाण जुटेको छ ।

‘मिनेरभार्या’ जेनेसभित्रको चिलापाटा प्रजातिको यो भ्यागुतो पथरी–कानेपोखरीको जंगलको अलावा चितवनको बरन्डाभार जैविक मार्गमा पनि पाइने आलेखमा उल्लेख छ ।

नेपालमा पाइने मिनेरभार्या जेनसका भ्यागुतामध्ये यो प्रजाति सबैभन्दा सानो रहेको अनुसन्धानकर्ता गौतमले बताए ।

एम. चिलापाटाको आकार १८ देखि २१ एमएमको हुन्छ भने एम. नेपालेन्सिसको २८ देखि ३५, एम. पिइरेरीको २६ देखि ३१ एम. स्याड्रिनेनसिसको ३२ सम्म र एम. तराइनेन्सिसको आकार ४६ एमएमको हुने अनुसन्धानमा उल्लेख छ । पोथी चिलापाटा २३ देखि २६ एमएमसम्मको हुन्छ भने तराइनेन्सिसको आकार ५५ एमएम हुने जनाइएको छ ।

चिलापाटाको भोकल स्याक (कण्ठ) एउटा र केही सेतो अनि ग्रे रंगको हुन्छ । नेपोन्सिसको कालो, पिइरेरीको एक जोडा कालो, स्याड्रिनेनसिसको जिब्रो कालो र तराइनेन्ससको डब्लू आकारको कालो रंगको एक जोडा भोकल स्याक हुने गर्छ ।

चिलापाटा जंगलको छेवैमा पानी पर्दा जम्ने स-साना आहाल पोखरीमा पाइने गर्छ । यही विशेषताले ‘पुल-फ्रक’ भनिएको गौतमले बताए । पथरीको पञ्चात माविमा शिक्षकसमेत रहेका अनुसन्धानकर्ता गौतमले कान्तिपुरसित भने, ‘सानो सानो चिपचिप पानीहरू भएको ठाउँमा यो भेटिन्छ । जंगलको घना क्षेत्रमा होइन, जंगल पस्ने/निस्कने क्षेत्रका छेवैमा भेटिन्छ ।’

गौतमले यो प्रजातिको बासस्थान उक्त क्षेत्रमा रहेको र हाल नियमित निगरानी गरिरहेको पनि बताए । उनले हाल यी प्रजातिको फूल पनि भेटिएकाले विस्तृत अध्ययन गर्न बाँकी रहेको बताए ।

खेतीयोग्य जमिन, मान्छेहरूको बसोबास गरेको क्षेत्रमा नपाइने भएकाले अनुसन्धानकर्ताले यसलाई जंगलमा पाइने जंगली भ्यागुता पनि भनेका छन् । किरा फट्यांग्रा खाएर बाली नालीमा लाग्ने किरा नियन्त्रणमा भ्यागुताले सघाउँछन् ।

यो अनुसन्धानसँगै चिलपाटा भ्यागुताको पश्चिमी अवस्थिति नेपालको चितवनसँग फैलिएको पाइएको छ भने नेपालको पूर्वी अवस्थिति पथरी नगरपालिकासम्म रहेको छ । चुरे क्षेत्रमुनिका जंगलमा यो प्रजातिको भ्यागुता धेरै पाइने अनुमान गरिएको छ । आईयूसीएनले यो प्रजातिलाई डेटा डिफिसेन्टको सूचीमा राखेकाले आगामी दिनहरूमा अध्ययन तथा अनुसन्धानमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

नेपालमा सरिसृप तथा उभयचर प्रजातिहरू धेरै कम अनुसन्धान भएका जीवमा पर्छन् । उनीहरूको अनुसन्धानले पनि यो जीवको अन्य अनुसन्धान गर्न जोड दिएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?