नाकामा ठगिन्छन् नेपाली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा ठगिन्छन् नेपाली

भवानी भट्ट

कञ्चनपुर — चार महिनाअघि रोजगारीका लागि भारतको हिमाचल पुगेका बाँके कोहलपुरका पुष्कर शाही दसैंतिहार मनाउन मंगलबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । दिउँसो सीमावर्ती बजार वनबासा पुगेका उनले नेपाल–भारत सीमासम्म ५ गुणा बढी सवारी भाडा तिर्नुपर्‍यो ।

वनबासादेखि नेपाल–भारत सीमासम्मको भाडा ५० रुपैयाँ हो । दसैंतिहारमा घर फर्किने नेपाली कामदारबाट अहिले सीमा क्षेत्रमा मनपरी भाडा उठाउने गरिएको छ । भारततर्फका सवारी चालकले पाँच गुणासम्म बढी भाडा असुल्ने गरेका छन् । ५० रुपैयाँ तिर्नुपर्नेमा अढाई सय बुझाएको शाहीले बताए ।

उनी प्रायः नेपालगन्जको रुपैडिया नाकाबाट आउजाउ गर्थे । पहिलो पटक गड्डाचौकीबाट आएका उनलाई स्थानीय भाडाका विषयमा जानकारी थिएन । ‘वनबासादेखि दुई जना आयौं, साढे ५ सय तिर्‍यौं,’ शाहीले भने, ‘कति भाडा पर्छ भनेर थाहा नहुँदा दुःख पाइयो ।’ सोमबार राति हरिद्वारबाट सार्वजनिक यातायात चढेर वनबासा पुगेका उनले ४ सय ९० रुपैयाँ भाडा तिरेका थिए । तर वनबासादेखि सीमानाकासम्म ८ किलोमिटर दूरीमा उनले त्यसभन्दा बढी भाडा तिरे ।

शाही जेठ दोस्रो साता रोजगारीका लागि हिमाचल पुगेका थिए । उनी बर्सेनि स्याउ टिप्ने सिजनमा हिमाचल पुग्छन् । दुई/चार महिना मजदुरी गरेर दसैंतिहारमा घर फर्किन्छन् । ‘दसैंतिहार मनाएर फेरि काममा फर्किन्छौं,’ उनले भने, ‘यो बाटोमा धेरै लुटपाट हुँदो रहेछ, अब उतै (रुपैडिया) बाट जान्छौं ।’ अछाम ढकारीका गंगा बुढाले पनि सीमा क्षेत्रमा दोब्बर भाडा तिरेको सुनाए ।

हिमाचलबाटै फर्किन लागेका उनले पनि ५० रुपैयाँ भाडा तोकिएको वनबासादेखि नेपाल–भारत सीमासम्म १ सय भारतीय रुपैयाँ तिरेका हुन् । साउन दोस्रो साता खेतीपातीको काम सकेर हिमाचल पुगेका उनी दुई महिना स्याउ टिप्ने काम गरेर घर फर्किन लागेका हुन् । ‘खेती भित्र्याउने बेला पनि भयो, दसैंतिहार पनि आयो,’ उनले भने, ‘अलिअलि कमाएर घर फर्किन लागे पनि बाटोमै खर्च हुन थाल्यो ।’

गड्डाचौकी नाकामा यतिबेला दसैंतिहारका लागि घर फर्किनेको भीड बढ्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपाली चाडबाड मनाउन घर आउन लागेका हुन् । तर फर्किंदा बाटोमै भाडामा ठगिने तथा नशालु पदार्थ खुवाएर लुटिनेलगायतका घटना भइरहन्छन् । लामो दूरीको यात्राका क्रममा भन्दा पनि सीमानाकाको छोटो दूरीका भाडामा यात्रु बढी ठगिन्छन् । छोटो दूरीमा चल्ने मोटरसाइकल, अटोरिक्सा र साना सवारी चालकहरूले मनपरी भाडा असुल्ने गरेका हुन् । तर यसरी ठगिनेहरू प्रहरीलाई खबर गरे सोधपुछ गर्ने तथा अनावश्यक झमेला हुने डरका कारण उजुरी नगरेर घरतिरै जाने गरेका छन् । ‘कहीं पनि केही नभनी हिँड्यौं, प्रहरीकहाँ गए समय पनि बर्बाद हुन्छ,’ बुढाले भने, ‘त्यतिबेलासम्म त हामी घर पुगिहाल्छौं ।’

घर फर्किनेको चाप बढेसँगै नाकामा कडाइ गरिएको छ । प्रहरीले यात्रुको सुरक्षाका लागि हेल्प डेस्कसमेत स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत ल्याएर मंगलबारदेखि जाँच भइरहेको हो ।

प्रकाशित : आश्विन १२, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्

बम-गोला छल्दै मजदुरी

रोजगारीका लागि भारत गएका नेपालीहरू दसैं मनाउन फर्किरहेकाले नाकामा अहिले भीड छ 
जे पाण्डे, रुपा गहतराज

नेपालगन्ज — रुकुम पश्चिमका रमेश विक कामको खोजीमा भारतको जम्मु–कश्मीर राज्यस्थित कारगिल पुगेका थिए । त्यहाँ जाँदा उनले सन् १९९९ मा भारत–पकिस्तान संघर्षका अवशेष भेटिएलान् भन्ने कल्पना गरेका थिएनन् । त्यहाँ सोच्दै नसोचेको अवस्था देख्नुपरेको उनले बताए । मजदुरी क्षेत्रमा बम–गोला देखे ।

आवश्यकताअनुसार अक्सिजन र पानी नपाएको उनले सुनाए । ‘भोको पेटका लागि संघर्ष गर्न गएका हौं । भारत र पाकिस्तानबीचको लडाइँ भएको ठाउँ पनि देख्यौं,’ कारगिलबाट दसैं मनाउन नेपालगन्जको जमुनाह नाका हुँदै घर फर्केका उनले भने, ‘त्यसबेला बम–गोला छल्दै हिँड्यौं ।’ घरमा नुन, भुटुन बन्द भएपछि कारगिल पुगेको उनले बताए । युद्धभूमिमा अहिले पनि रहेका विस्फोटक पदार्थका कारण जोखिम मोल्नु परिरहेको उनले सुनाए ।

अहिले जमुनाह नाका हुँदै फर्किरहेका नेपालीमध्ये कतिपय उनीजस्तै कारगिलबाट फर्किनेहरू छन् । यसरी घर फर्किनेको भीडमा हरिबहादुर र तजवीर गैरे पनि भेटिए । दुवै जनाले हिमपात भइरहने कारगिलको निकै उचाइमा पुगेर काम गर्दा अक्सिजनको कमीले सास फेर्नै गाह्रो हुने गरेको सुनाए । ‘चिसो हावा । हिउँ परिराख्ने,’ रुकुम पश्चिमका हरिबहादुरले भने, ‘लेकमा रूखबिरुवा थिएनन् । भए पनि पात नभएका झिक्राजस्ता रूख थिए ।’ त्यहाँ पुगेर फर्किनेले रुकुम पश्चिमको प्राकृतिक सुन्दरता जम्मु कश्मीरको भन्दा कम नभएको बताए । कोहलपुरका सागर चौधरी र रेशम थारू दसैं/तिहारका लागि कारगिलबाट घर फर्किएका छन् ।

‘निकै ठन्डी ठाउँ, लगलगी कमाउने जाडो । तिर्खा लाग्दा पानी पाइँदैनथ्यो,’ रमेशले कारगिलमा भोगेका कष्ट सुनाए, ‘स्थानीयका घरमा गएर सरसापटी मागेर पानी खान्थ्यौं ।’ उनले ट्यांकरमा ल्याएको पानीले मजदुरी गर्नेहरूको तिर्खा नमेटिने हुँदा पानी पैंचो मागेर गुजारा चलाएको बताए । त्यहाँ रोजगारी गर्न गएर फर्किएका नेपालीले सानोतिनो युद्ध नै जितेर फर्किएजस्तो महसुस भइरहेको बताए । ‘अक्सिजनको कमीले काम गर्दा सास फुलेर स्वाँस्वाँ हुन्छ । सास फेर्नर् अति गाह्रो,’ भारतबाट फर्कंदै गर्दा नाकामा भेटिएका बाँके कोहलपुरका सागरले भने, ‘काम गर्दागर्दै दम बढ्छ ।’

नेपालमा रोजगारी नपाएपछि मुग्लान पसेका यस्ता धेरै युवा अहिले आफ्ना संघर्षका कथाव्यथा सँगालेर घर फर्किरहेका छन् । प्राण जोगाउन आवश्यक पर्ने अक्सिजनयुक्त हावा र पानीको समेत अभावमा ज्यान जोखिममा राखेर कमाइ गरेर फर्किनेहरूले धेरै कष्ट भोगेका छन् । नेपाली भूमिमा टेकेपछि उनीहरूका अनुहारमा मुस्कानको लहर देखिन्छ । भारत–पकिस्तानबीच १९९९ मा कारगिलमा १८ हजार फिटको उचाइमा युद्ध भएको थियो । कारगिल कश्मीर घाटीको उत्तर–पूर्व अर्थात् श्रीनगरदेखि २ सय ५ किलोमिटरको दूरीमा छ । त्यो युद्ध त अन्त्य भयो । तर, अझै पनि बेलाबेलामा झडप भइरहन्छ ।

हिउँले ढपक्कै छोपिएका अग्ला लेकसँगै उच्च हिमाली क्षेत्रमा पर्ने कारगिलको लेकमा अक्सिजनको कमी हुँदासमेत ज्यान जोखिममा राखेर धेरै नेपाली मजदुरी गर्न विवश छन् । दसैं–तिहारजस्ता प्रमुख चाडबाड नजिकिँदै गर्दा त्यहाँबाट घर फर्किनेहरूले आफूले भोगेका त्रासदीपूर्ण दैनिकी बताउँछन् ।

जमुनाह नाकामा चहलपहल छ । रिक्सा र टाँगाहरू तँछाडमछाड गरिरहेका छन् । होटलवालाहरू ग्राहक तान्न कसरत गरिरहेका छन् । रोजगारीका लागि भारत गएका नेपालीहरू दसैं मनाउन फर्किरहेकाले नाकामा अहिले भीड छ । सबैका पिठ्युँ र टाउकामा बोरा छन् । ती बोराभित्र स्याउ छन् । स्याउका पोका बोक्दै नेपालीहरू फर्किरहेका हुन् ।

दाङका शेरबहादुर वलीले सिमलामा काम गरेर एक वर्षपछि घर फर्कंदै गरेको बताए । ‘स्याउको बोरा हो,’ टाउकोबाट भारी उतार्दै उनले भने, ‘सिमलाको कमाइ यही हो । महँगी धेरै छ । चामल र तेल किन्न ठिक्क हुन्छ । के कमाउनु ? एक वर्ष सिमलामा रमाएर आइयो ।’ एक वर्षसम्म सिमलामा काम गरेर २० हजार रुपैयाँ कमाएर आएको उनले सुनाए । उनीसँगै गएका तेजबहादुर वली पनि सिमलाबाट एक बोरा स्याउ बोकेर फर्किएका छन् । प्रतिव्यक्ति चार हजार रुपैयाँमा गाडी बुक गरेर उनीहरूको समूह सोमबार नेपाल आइपुगेको हो । दुई महिनाअघि सिमला गएका उनले दसैं खर्च जोहो गर्न त्यहाँ गएको बताए । ‘सात जना त एउटै परिवारका छौं,’ तेजबहादुरले भने, ‘घर पुग्नेबित्तिकै केटाकेटी पोकापोकी खोल्छन् । त्यसैले स्याउ बोकेर ल्याएका छौं । गरिबको कर्म यस्तै छ ।

४५ जना एउटा गाडीमा कोचिएर आएका हौं ।’ सुर्खेतका सुमन भण्डारीले पनि २ महिना सिमलामा स्याउको बगैंचामा काम गरे । उनले पनि परिवार र आफन्तका लागि एक बोरा स्याउ ल्याएको बताए । साहुले चाडपर्व भएकाले परिवारका लागि स्याउ पठाइदिएको भण्डारीले सुनाए । उनले सिमलामा दिनभरि काम गरेको आठ सय रुपैयाँ पाउँथे । त्यो पनि नियमित पाउँदैनथे । ‘कहिले ५ सय त कहिले ८ सयमा काम गर्नुपर्थ्यो,’ उनले भने, ‘धन्न सिमला छ र स्याउ टिप्ने काम पाएका छौं ।’

भारतको हिमाचल प्रदेशको सिमलामा नेपालीहरू यसरी नै सिजनको तीन महिना स्याउ टिप्न जान्छन् । दिनभरि बगैंचाबाट टिपेर ल्याएको स्याउ गोदाममा थन्क्याउँछन् । यसरी गोदाममा राखिएको स्याउ पेटीमा राखेर निर्यात गरिन्छ । ‘गर्न सक्नेलाई त कामै काम छ तर मजदुरीको कुनै दररेट छैन । तीन महिनामा १५ हजार कमाइ भयो,’ सुर्खेतका भरत रोकायले भने, ‘अब यही कमाइमा भए पनि दसैं मनाउनु छ । यसैमा रमाउनु छ ।’

दसैं र तिहार नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किने क्रम बढेको छ । भारतबाट अहिले दैनिक झन्डै ५ हजार नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालले बताए । भारतबाट फर्किने नेपालीहरूको स्वास्थ्य परीक्षणका लागि जमुनाह सीमा नाकामा हेल्थ डेस्क राखिएको छ । दाङ, रोल्पा, पूर्वी रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, सल्यानलगायतका जिल्लाबाट हजारौं युवा काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गर्छन् ।

प्रकाशित : आश्विन १२, २०७९ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×