२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मनास्लुमा कम्तीमा १३ जना बेपत्ता, उद्धार उडानमा समस्या [अपडेट]

एक जना नेपाली सख्त घाइते
अमेरिकी स्कीआरोही हिलारी मनास्लुमा बेपत्ता 
सुरज कुँवर

काठमाडौँ — मनास्लु हिमालमा सोमबार बिहान गएको हिमपहिरोमा नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएका छन् । ८ हजार १ सय ६३ मिटर उचाईको उक्त हिमालको ४८ सय मिटर उचाईमा रहेको आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार, दिउँसो गएको हिमपहिरोमा खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ । 

मनास्लुमा कम्तीमा १३ जना बेपत्ता, उद्धार उडानमा समस्या [अपडेट]

छाङदावाका अनुसार, हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीनवटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा उद्धारका लागि काठमाडौंबाट पुगिसकेका छन् । सेभेन समिटका दुई आरोहण दल सदस्यसहित चार जनालाई घटनास्थलबाट उद्धार गर्नुपर्ने छ ।

उक्त हिमालको ६ हजार ८ सय मिटर उचाईको तेस्रो शिविरदेखि ७ हजार ४ सय ५० मिटर उचाइमा रहेको चौथो शिविरमा बन्दोबस्तीका सामग्री ओसार्ने क्रममा रहेका शेर्पा तथा आरोहीहरु हिमपहिरोमा परेका हुन् ।

हिमपहिरोमा काठमाडौंको सातुरी एडभेन्चरका तीन जना शेर्पा घाइते भएको कम्पनीका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले कान्तिपुरलाई बताए । उनका अनुसार, उक्त कम्पनीका गाइड अनुप राईको अवस्था सख्त घाइते छ । ‘घाइतेहरुलाई उद्धारको खाँचो छ । अनुप बेहोस छन् । तीनवटा हेलिकप्टर मनास्लु हिमालको आधार शिविर आसपासमा छन् । मौसम सफा हुनेबित्तिकै घाइतेहरुलाई उद्धार गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

आधार शिविरदेखि ४ घन्टा दुरीमा रहेको सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत तथा आरोहण दल सम्पर्क अधिकृत यशोदा अर्यालका अनुसार, हिमपहिरोबाट भएको क्षतिबारे एकिन जानकारी अझै प्राप्त हुन सकेको छैन । ‘हिउँ परिरहेको छ । दुइटा हेलिकप्टर सामागाउँमा उद्धारका लागि तयारी अवस्थामा छन् । अहिले यहाँबाट आधार शिविरमा हिउँ परेको देखिरहेको छ,’ उनले कान्तिपुरसँग भनिन् । उनका अनुसार, अर्को हेलिकप्टर नजिकैको नाम्जुङतर्फ गएको छ ।

अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन बेपत्ता

यसैबीच प्रख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा स्की गर्नेक्रममा बेपत्ता भएकी छन् । काठमाडौंको सांग्रीला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जीम म्यारिसन भने आधार शिविरमा फर्किसकेका छन् । ‘जीम सकुशल आधार शिविर फर्किसके । हिलारी मनाङतर्फ पर्ने भीमथाङतर्फ हराइरहेकी छन्,’ प्रबन्ध निर्देशक घिमिरेले कान्तिपुरसँग भने । उनले आफ्नो कम्पनीबाट शरदकालीन मनास्लु आरोहणमा गएका अन्य सदस्य तथा शेर्पाहरु सकुशल रहेको बताए ।

प्रकाशित : आश्विन १०, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?