२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

शान्ति र क्रान्तिको नेतृत्व गरेँ, अब एक पटक समृद्धिको नेतृत्व गर्छु : दाहाल

भानुभक्त निरौला

सोलुखुम्बु — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायाम गरेको दाबी गरेका छन् ।

शान्ति र क्रान्तिको नेतृत्व गरेँ, अब एक पटक समृद्धिको नेतृत्व गर्छु : दाहाल

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकारसम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए ।

‘संघीय निजामती ऐन र सुरक्षा ऐन बनाउन बााकी छ, संविधानको सफल कार्यान्वयनमार्फत तल्लो तहलाई अधिकारसम्पन्न बनाउने ठूलो अभिभारा बााकी नै छ,’ उनले भने । संविधान दिवसको दिन आयोजित कार्यक्रममा उनले घुमाउरो पारामा फेरि एक पटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भने, ‘जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ,’ दाहालले भने ।

उनले एक पटक नेतृत्व गर्ने चाहना भएको पनि बताए । ‘समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउने हो,’ उनले भने । ‘जनयुद्ध’मार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको दाहालको तर्क छ ।

यहाँ आयोजित कार्यक्रममा एकै साथ ५० शय्याको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष दाहालले उद्घाटन गरेका छन् । दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

‘जिल्लामै पहिलो पटक सुविधासम्पन्न अस्पताल जनताबाट चन्दा उठाएर बनाएका हौँ,’ पालिका अध्यक्ष राईले भने, ‘महायज्ञ लाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएका छौँ ।’ पछिल्लो समय आस्था, जाति र लिंगको आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक स‌ंरचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्र आङ्बो, प्रदेश १ मा पूर्वराज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो । सो अवसरमा पालिकालाई २५ रोपनी नि:शुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?