अछाम पहिरो : ३ जना घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइयो

आश्विन १, २०७९

मेनुका ढुंगाना

अछाम — शुक्रबार राति आएको पहिरोमा परी घाइते भएका ढकारी गाउँपालिका -६ ढुंगाचाल्नाका ३ जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत अस्पतालमा लगिएको छ ।

एक परिवारका ६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षकी चन्द्रा बुढा, हर्कबहादुरका १२ वर्षका नाति धर्म बुढाको हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि सुर्खेत लगिएको परिवारका सदस्य निर्मल बुढाले बताए ।

'बुबा, भाइ–बुहारी र भतिजलाई हेलिकोप्टरबाट सुर्खेत लगिएको छ । डेढ वर्षको भतिज नवीन बुढाको घटनास्थलमै मृत्युु भयो  । उनकी आमा चन्द्रादेवी हुन् । उनी पनि गम्भीर घाइते भएकी छन्,' उनले भने, 'गाईवस्तु, अन्न सबै बगाएको छ । अहिले गाउँ शोकमा छ ।'

कमलबजार र तुर्माखाँदमा हेलिकोप्टरबाट उद्वार गर्नुपर्ने प्रकृतिका घाइते नभएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । 'जिल्ला प्रशासन कार्यालयको आग्रहमा गृह मन्त्रालयले घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाएको उनले बताए । आज बेपत्ताको खोजी र घाइतेको उद्धार र उपचार गर्ने विषयलाई प्राथमिकता दिएका छौं । पहिरोपीडितलाई राहत दिन स्थानीय तहलाई भनेका छौं । भोलिदेखि हामी पनि लाग्छौ ।' निमित्त प्रजिअ रिजालले भने ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully