कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रचण्डले मलाई भस्म पार्न खोजे : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भस्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

प्रचण्डले मलाई भस्म पार्न खोजे : ओली

पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिए पनि आफूलाई छुरी रोपेको आरोप लगाएका हुन् । उनले पार्टी एकता गरी वामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दा पनि साधारण सदस्यबाट नै हटाएको बताए ।

‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी आन्दोलन बनाऔं, बलियो कम्युनिष्ट पार्टी बनाऔं, समाजवादतर्फ अघि बढाऔं, एकताबद्ध भएर अघि बढाऔं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ,' उनले भने, 'मैले अंगालो हालेको थिएँ प्रचण्डलाई तर प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म अलि होसियार त थिएँ, नभन्दै मैले अंगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे ।'

अध्यक्ष ओलीले माओवादी केन्द्र पहिल्यै एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताए । उनले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताए ।

उनले गठबन्धन शब्दबाट अहिले आम नागरिकहरु आजित भएको पनि बताए । उनले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी र आफ्ना स्वार्थमा कुदेको आरोप लगाए । उनले आगामी निर्वाचनमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पनि पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘एमालेमा प्रवेशको लहर छ । स्थानीय तहमा ३८ लाख भोट ल्यायौं, त्यो केही होइन, अब छोडिदिनुहोस्, ५० लाख कम्तीमा पुर्‍याउनुपर्छ ।’

प्रकाशित : भाद्र ३०, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?