कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभाका ५६ स्थानमा एमालेको एकल सिफारिस, को-को परे ?

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष सिटका लागि नेकपा एमालेबाट ५६ स्थानका उम्मेदवारहरू एकल सिफारिस भएका छन् ।एमालेले प्रदेश समन्वय समिति हुँदै जिल्ला कमिटी र प्रदेश कमिटीलाई गत बुधबारसम्म नाम सिफारिस गर्न निर्देशन दिएको थियो । केन्द्रले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको भए पनि ५६ स्थानबाट एकल सिफारिस आएको हो । 

प्रतिनिधिसभाका ५६ स्थानमा एमालेको एकल सिफारिस, को-को परे ?

प्रदेश १ मा ११ निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएको छ । त्यसैगरी मधेश प्रदेशबाट ८ क्षेत्रमा एकल नाम सिफारिस गरिएको छ । वाग्मती प्रदेशमा ७ स्थान, गण्डकीमा ३, लुम्बिनीमा १२, कर्णाली प्रदेशमा ६ स्थानमा एकल सिफारिस भएको छ । सुदूरपश्चिममा ९ स्थानमा एकल सिफारिस भएको छ । यसरी एकल सिफारिसमा परेका नेताहरूमा केन्द्रमा राजनीति गर्ने अधिकांश रहेका छन् । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उप महासचिव प्रदीप ज्ञवाली, सचिव टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र लेखराज भट्ट रहेका छन् । यस्तै गौरीशंकर चौधरी र प्रभु साह पनि एकल सिफारिसमा परेका छन् । १० बुँदे सहमति गरेर एमालेमा रहेका नेताहरूमध्ये भीम रावल मात्रै एकल सिफारिसमा परेका छन् ।

केन्द्रले औपचारिक रुपमा निर्णय गर्न बाँकी रहँदा नै एकल सिफारिस भएका उम्मेदवारले चुनाव अभियान सुरु गरेका छन् । 'हाम्रो चुनावी अभियान सुरु भइसकेको छ’ पाल्पा २ बाट एकल सिफारिसमा परेका एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

प्रदेश १

प्रदेश १ को २८ वटा निर्वाचन क्षेत्रमध्ये ११ निर्वाचन क्षेत्रबाट एकल सिफारिस भएको प्रदेश अध्यक्ष तुलसी न्यौपानेले बताए । 'हामीले केन्द्रमा ११ वटा निर्वाचन क्षेत्रमा एक सिफारिसको नाम पठाएका छौं,’ उनले भने, 'यो अन्तिम निर्णय होइन तर ।’ एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ आआफ्नो क्षेत्रहरू सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

मधेश प्रदेश

यसअघि विवादमा रहेको मधेश प्रदेशको ८ वटा निर्वाचन क्षेत्रमा एकल सिफारिस भएको छ । ३२ निर्वाचन क्षेत्रको यो २५ प्रतिशत संख्या हो ।'८ वटा निर्वाचन क्षेत्रमा एकल सिफारिस भएको छ,’ प्रदेश कमिटीमा उपाध्यक्ष रेवती पन्तले भने । एमाले सचिव रघुवीर महासेठ पत्निसहित एकल सिफारिसमा परेका छन् । समानुपातिकबाट हाल सांसद रहेकी जुली महतो घनुषा ३ बाट एकल सिफारिसमा परेकी हुन् । महासेठ घनुषा ४ बाट एकल सिफारिसमा परेका हुन् । गत निर्वाचन एमालेको मधेश प्रदेशमा कमजोर प्रदर्शन रहेको थियो । त्यसबेला एमालेबाट प्रत्यक्षतर्फ जित्ने महासेठसँग लिलानाथ श्रेष्ठ पनि सिराहा ३ बाट एकल सिफारिसमा परेका छन् ।

वाग्मती प्रदेश

३३ वटा निर्वाचन क्षेत्र रहेको वाग्मतीमा ७ वटा निर्वाचन क्षेत्रबाट मात्रै एकल सहमति भएको छ । प्रदेश अध्यक्ष केशव पाण्डेले प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी, जिल्ला हुँदै प्रदेशमा आएको नामहरू केन्द्रमा पठाएको बताए । काठमाडौं जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा मात्रै एकल नाम सिफारिस भएको छ । जसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य राजन भट्टराई एकल सिफारिसमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनकोतर्फबाट उम्मेदवार बन्ने घोषणा गरेको चितवन ३ मा पनि एमालेले एकल नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट रामप्रसाद न्यौपानेको नाममा एकल सिफारिस गएको हो ।

गण्डकी प्रदेश

गण्डकीका ४ वटा निर्वाचन क्षेत्रबाट मात्रै एकल सिफारिस भएको छ । प्रदेश कमिटीका सह-सचिव रश्मी आचार्यले उम्मेदवार बन्ने चाहाना व्यक्त गर्ने सबैको नाम सिफारिसमा परेको बताए । 'उम्मेदवारको बारेमा अन्तिम निर्णय केन्द्रले लिने छ’ आचार्यले भने, 'आफ्नै चाहनाले कसैले फिर्ता लिने भयो भने लिन सक्छ । तर हामीलाई कसैलाई बस भनेर भनेनौं चाहाना व्यक्त गर्ने जतिको नाम केन्द्रमा पठाएका हौं ।’ आचार्यले करिब को-को उम्मेदवार हुन्छन् भन्ने विषयमा सबै जानकार नै रहेको बताए । म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, मनाङमा पोल्देन छोपाङ गुरुङ र नवलपुर २ का तिलक महतको नाम एकल सिफारिस भएको छ । गुरुङ र महत अहिले त्यही क्षेत्रबाट सांसद रहेका छन् । गण्डकीमा १८ वटा निर्वाचन क्षेत्र छन् ।

लुम्बिनी प्रदेश

२६ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशका १२ निर्वाचन क्षेत्रमा एकल सिफारिस भएको छ । प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले एकल सिफारिससहित छलफलमा रहेका नामहरू केन्द्रमा पठाएको बताए । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको एकल नाम सिफारिस भए पनि पूर्वउपमहसचिवसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको नाम भने रुपन्देही १ बाट काटिएको छ । आफ्नो गृह निर्वाचन क्षेत्रबाट भूसाल सिफारिस हुन चाहेका थिए । निर्वाचन क्षेत्र र जिल्ला कमिटीले भूसालले नाम रुपन्देही १ र ३ बाट सिफारिस गरे पनि प्रदेश कमिटीले १ बाट पार्टी सचिव छविलाल विश्वकर्माको एकल नाम पठाएको छ । भूसाल हाल ३ नम्बरबाट सांसद रहेका छन् ।

कर्णाली प्रदेश

१२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा आधा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएको छ । सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि कति स्थानमा २ वा सोभन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ । प्रदेश इन्चार्ज यमलाल कँडेलले एकलसहित आएको सबै नामहरू केन्द्रलाई पठाइसकेको बताए ।

सुदूरपश्चिम प्रदेश

प्रदेश सभातर्फ १६ वटा निर्वाचन सुदूरपश्चिमको नौ वटा निर्वाचन क्षेत्रमा सहमति भएको छ । ५ निर्वाचन क्षेत्र रहेको कैलालीको ३ वटा निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस भएको छ । कैलालीबाट सिफारिस भएका ३ जना वर्तमान सांसद हुन् । जसमध्ये २ जना लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी केन्द्र छाडेर एमालेको बस्दा सांसद पद गुमाएका थिए । यसरी एकल सिफारिस पर्नेमा संस्थापन पक्षसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका भीम रावल पनि रहेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापाले प्रदेश कमिटीले निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट सिफारिस भएर आएका सबै जनाको नामहरू केन्द्रमा पठाएको बताए ।

को कहाँ एकल सिफारिसमा परे ?

प्रदेश १

झापा १- रविन कोइराला

झापा ५ - केपी शर्मा ओली

इलाम १ -महेश बस्नेत

इलाम २ -सुवास नेम्वाङ

मोरङ २ -ऋषिकेश पोखरेल

मोरङ ३- भानुभक्त ढकाल

मोरङ ४ - विनोद ढकाल

सुनसरी १- जयकुमार राई

सुनसरी ३- भगवती चौधरी

धनकुटा- राजेन्द्र राई

सोलु - मानवीर राई

मधेश

पर्सा ३- राजकुमार गुप्ता

बारा २- बलवीर चौधरी

बारा ४- देवनारायण चौधरी

रौतहट ३- प्रभु साह

सर्लाही २- राजनारायण साह

धनुषा ३- जुली महतो

धनुषा ४- रघुवीर महासेठ

सिराह ३- लिलानाथ श्रेष्ठ

वाग्मती

काभ्रे २- गोकुल बाँस्कोटा

काठमाडौ २- मणिराम फुँयाल

काठमाडौ ३- कृष्ण राई

काठमाडौ ४- राजन भट्टराई

काठमाडौ ५- ईश्वर पोखरेल

नुवाकोट १- बद्री मैनाली

चितवन ३ -रामप्रसाद न्यौपाने

गण्डकी

नवलपुर २- तिलकबहादुर महत

म्याग्दी- हरिकृष्ण श्रेष्ठ

मनाङ- पाल्देन छोपाङ गुरुङ

लुम्बिनी

पाल्पा २- ठाकुर गैरे

गुल्मी १- प्रदीप ज्ञवाली

अर्घाखाँची- टोपबहादुर रायमाझी

प्युठान- सूर्य थापा

दाङ २- शंकर पोखरेल

कपिलबस्तु २- बृजेशकुमार गुप्ता

कपिलबस्तु ३- मंगलप्रसाद गुप्ता

रुपन्देही १- छविलाल विश्वकर्मा

रुपन्देही २- विष्णुप्रसाद पौडेल

रुपन्देही ४- कृष्णप्रसाद भूसाल

रुपन्देही ५- खिमलाल भट्टराई

रोल्पा-पूर्ण बुढा मगर

कर्णाली

डोल्पा – बम्दी क्वाँरा बोहोरा

हुम्ला –दल रावल

मुगु – मोहन बानियाँ

जुम्ला – रतननाथ योगी

कालीकोट – नागिन्द्र शाही

सल्यान – गुलावजंग शाह

सुदूर पश्चिम प्रदेश

दार्चुला – गणेश ठगुन्ना

बैतडी – दमोदार भण्डारी

डेडल्धुरा – पठानसिंह बोहोरा

डोटी – चक्र मल्ल

अछाम १- भीम रावल

अछाम २- यज्ञराज बोगटी

कैलाली ३- गौरीशंकर चौधरी

कैलाली ४- लेखराज भट्ट

कैलाली ५- नारदमुनी राना

प्रकाशित : भाद्र २७, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?