३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाली सेना जनताको आसा, भरोसा र एकताको केन्द्र : प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जनताको आसा, भरोसा र एकताको केन्द्र भएको बताएका छन् । सैनिक नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार सकल दर्जाहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

नेपाली सेना जनताको आसा, भरोसा र एकताको केन्द्र : प्रधानसेनापति

उनले विपद्‍ व्यवस्थापनदेखि विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ फौजले निर्वाह गरेको सेवाभाव र पेसागत व्यवसायिकता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको पनि बताए । शर्मा २०७८ भदौमा प्रधानसेनापतिमा नियुक्त भएका थिए ।

‘नेपाली सेना सबै नेपाली जनताको आसा, भरोसा र एकताको केन्द्रविन्दु हो,’ प्रधानसेनापति शर्माले सम्बोधनमा उल्लेख गरेका विषय उदृत गर्दै सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राज्यमा उत्पन्‍न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निस्वार्थ सेवाभाव र पेसागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको छ ।’

शर्माले हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरिरहेको बताए । उनले आगामी दिनमा यसैगरी राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन मातहत फौजलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएका थिए ।

उनले सबैको सामूहिक प्रयासबाट मात्रै सेनाको सुदृढिकरण, सबलीकरण तथा समयानुकूल व्यवसायीकरण सम्भव हुने बताएका थिए । सेनाको मूल्य–मान्यताको सम्वर्द्धन र प्रवर्द्धन गर्दै फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राखेर आ–आफ्नो दायित्व निर्वाह गर्न पनि उनले निर्देशन दिएका छन् । यसैबीच प्रधानसेनापति शर्माले निर्देशन/सम्बोधनका क्रममा आसन्न निर्वाचनमा पनि तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न प्रधानसेनापति शर्माले निर्देशन दिएका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न, मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका दुर्गम र संवेदनशील क्षेत्रमा ढुवानी लगायत विष्फोटक पदार्थ निष्क्रिय गर्ने, आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न उनले फौजलाई निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उनले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रूतमार्ग तोकिएको समय सिमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।

प्रकाशित : भाद्र २६, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?