देउवालाई जिल्ला सभापतिहरूले भने- 'संघ नपाए प्रदेशका दुवै क्षेत्र कांग्रेसले राख्नुपर्छ'- समाचार - कान्तिपुर समाचार

देउवालाई जिल्ला सभापतिहरूले भने- 'संघ नपाए प्रदेशका दुवै क्षेत्र कांग्रेसले राख्नुपर्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आगामी निर्वाचनमा सबै मतदाताले रुखमा भोट हाल्न पाउनुपर्ने माग गरेका छन् । बिहीबार बिहान जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रुख चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् ।

सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा सिटको बाँडफाँट हुने र कतिपय सिट अन्य पार्टीहरुलाई दिनुपर्ने अवस्था रहेकोमा कांग्रेस सभापतिहरुले संघ नपाए सम्बन्धित संघीय क्षेत्रका दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राखेर सिटको बाँडफाँट हुनुपर्ने माग गरेका हुन् ।

धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले प्रदेशका १३ वटै जिल्ला सभापतिहरुको तर्फबाट आफूले सभापति देउवालाई ज्ञापन पत्र बुझाएको बताए । 'मतदाताले मतपत्रमा प्रत्यक्षतर्फ नै रुख चुनाव चिन्ह रोज्न पाउनुपर्छ । रुख चुनाव चिह्नबिनाको मतपत्र हुनु पार्टीका लागि राम्रो होइन,' उनले भने, 'हामीले सबै क्षेत्रका जनताले कांग्रेसलाई रोज्न पाउनुपर्ने माग सभापतिसमक्ष राखेका छौँ ।'

गठबन्धन हुँदा कांग्रेसले चितवन-३, धादिङ-१, सिन्धुपाल्चोक-१, काभ्रे-१, काठमाडौं-२, काठमाडौं-८, रामेछाप, मकवानपुर-१, नुवाकोट-१ र ललितपुर-१ अन्य दललाई छोड्नुपर्ने अवस्था छ । जिल्ला सभापतिहरुले ती क्षेत्रमा संघमा गठबन्धनका अन्य दलबाट उम्मेदवार भए प्रदेशका दुवै क्षेत्र का‌ग्रेसले आफ्नो भागमा राख्नुपर्ने माग गरेका छन् ।

'बरु हामी एक्लै चुनाव लड्न तयार छौँ । हामी सक्षम पनि छौँ । तर गठबन्धन गर्ने नाउँमा अन्य दललाई मात्रै भोट हाल्ने अवस्था नबनोस्,' धादिङ सभापति अधिकारीले इकान्तिपुरसँग भने ।

भेटमा कुनै पनि क्षेत्रमा कांग्रेसका उम्मेदवार नहुने अवस्था आउन नदिन आग्रह गरेको दोलखा सभापति बर्मा लामाले बताए । 'प्रदेश क्षेत्र अन्य दलले मागे कांग्रेसले संघ छोड्नुहुदैन । संघ अन्य दलले मागे कांग्रेसले प्रदेशसभाका दुवै क्षेत्र आफ्नो भागमा राख्नुपर्छ भन्ने हाम्रो माग हो,' उनले भने, 'यही कुरा सभापतिजीसमक्ष राखेका छौँ । उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।'

वाग्मती प्रदेशमा प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ६६ निर्वाचन क्षेत्र छन् ।

प्रकाशित : भाद्र २३, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मी-२ ले नयाँ अनुहार खोजेको छ : झाँक्री

सन्जु पौडेल

बुटवल — नेकपा समाजवादीकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले चुनावअघि नै मोलमोलाइ गरेर उम्मेदवार चयन हुने गरेको बताएकी छिन् ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले राजनीतिक दलले मोलमोलाइ गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता कार्यकर्तालाई मार पर्ने बताएकी हुन् ।

स्थानीय स्तरमा जनताले अनुभूति गर्ने गरी काम गर्ने उम्मेदवार उठाउनुपर्ने उनको भनाइ छ । आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्, ‘स्थानीय स्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’

उनले एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक–फरक कुरा गरेर जनतालाई झुक्याएको आरोपसमते लगाइन् ।

प्रकाशित : भाद्र २३, २०७९ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×