कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे सांसद कोइरालाले मागिन् सरकारको धारणा

काठमाडौँ — पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालय र सरकारले स्पष्ट पार्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कोइरालाले चीनले अघि सारेको सैन्य रणनीतिमा नेपाल सहभागी भएको हो कि होइन र त्यसमा सरकारको धारणा के हो भनेर जवाफ मागेकी हुन् । 

चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे सांसद कोइरालाले मागिन् सरकारको धारणा

परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण, नेपालका लागि चिनियाँ राजदूतले सार्वजनिक रूपमा राखेका धारणा र चीनका उच्च अधिकारीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग गरेको छलफलमा ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे चर्चा गरेको विषयमा सरकार बोल्नुपर्ने कोइरालाको भनाइ थियो ।

'यी तीनवटै प्रसंगमा नेपालको परराष्ट्र संस्थापन मौन रह्यो । नेपालको स्थापित परराष्ट्र नीतिबमोजिम नेपाल कुनै पनि सुरक्षा गठबन्धनमा मौन रहने भन्ने नीति छ । यो जनचासोको विषयमा स्पष्ट पार्न सरकारसँग अनुरोध गर्दछु,' उनले भनिन्, 'कुनै पनि सुरक्षा गठबन्धनमा सहमति नगर्ने हाम्रो नीति छ । असंलग्न परराष्ट्र रणनीतिमा नेपालको समर्थन र संलग्नता छ ।'

चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको सन्दर्भलाई लिएर चीनको तर्फबाट आएका अभिव्यक्तिलाई लिएर सरकार नबोलेको विषयमा आफूलाई आश्चर्य लागेको कोइरालाको भनाइ थियो ।

त्यस्तै, चीनले तातोपानी नाका खोल्न आनाकानी गरेकाले नेपाली व्यापारी र उपभोक्ता समस्यामा परेको कोइरालाको भनाइ थियो । उनले भनिन्, 'तातोपानी नाका चीनले रोकेर नेपाली व्यापारी पीडित भइरहेका छन् । दसैमा महँगी बढेको छ । यसको तत्काल समाधान गरियोस् ।'

प्रकाशित : भाद्र २१, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?