देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : पौडेल - समाचार - कान्तिपुर समाचार

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : पौडेल 

कान्तिपुर संवाददाता

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए ।

उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ ।’

पौडेलले सिँगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए । उनले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि म संग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ पनि छ ।’

पौडेलले सुशासन भएमात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने भन्दै राष्ट्रलाई स्वतन्त्रता, संवर्द्धन र हितका लागि नैतिक, सुशासन दिने क्षमता चाहिने बताए । उनले भने, ‘सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ । म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन् । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।’

पौडेलले युवा र पाको नेता दुवै मिलेर देश विकास गर्नुपर्ने बताए । युवाले राजनीतिमा आउनै हुन्न भन्ने होइन र पाकाले राजनीति गर्न हुँदैन भन्ने पनि नहुने उनको तर्क थियो ।

प्रकाशित : भाद्र १८, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्

चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाले साना ऋणीलाई असर गर्दैन : गभर्नर अधिकारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले अधिल्लो हप्ता जारी गरेको 'चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९' ले साना ऋणीलाई कुनै असर नगर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । यो मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र नभई व्यवसायीहरूलाई समेत जिम्मेवार र नियन्त्रित बनाएको उनको भनाइ छ ।

‘यो मार्गदर्शन ५० लाख रुपैयाँभन्दा कम ऋण लिनेहरूका लागि सुहाउने खालको छ । २ करोड रुपैयाँ सम्मको ऋण लिनेहरूका लागि एक खालको मार्जिन राखिएको छ,’ शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले भने, ‘यो प्रयोजनको कर्जाको सीमा निर्धारणमा ५ वर्षसम्मको विवरण विश्लेषण गर्नुपर्छ भनिएको हो ।’ राष्ट्र बैंकले यो व्यवस्था लामो तयारी गरेर ल्याएको पनि उनले बताए ।

चालु पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले उद्योग व्यवसायलाई धरापमा पार्ने भन्दै निजी क्षेत्रले त्यसको विरोध गरिरहेको छ । मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाले ऋणीको वार्षिक कारोबार (बिक्री) को अधिकतम २५ प्रतिशतसम्म चालु पुँजी कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो । तर, निजी क्षेत्रले भने उद्योगको प्रकृतिअनुसार फरक–फरक चालु पुँजी आवश्यक पर्ने हुँदा यस्तो कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक रहेको भन्दै विरोध गरिरहेको छ ।

गभर्नर अधिकारीले सबै वस्तुको आयात खुला गरे फेरि भुक्तानी सन्तुलनको समस्या देखिनसक्ने बताए । साथै, तरलता अभावको समस्या कति समय लम्बिन्छ भन्ने यकिन गर्न नसकिने पनि उनको भनाइ छ । ‘सबै वस्तुको आयात खोल्ने हो भने फेरि समस्या आउन सक्छ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चिती घट्दा भुक्तानी सन्तुलनमा चाप देखिनु, सरकारको पुँजीगत खर्च न्यून हुनु र परिचालन भएको ऋण बैंकिङ प्रणालीमा नफर्किनुलगायत कारणले तरलता अभावको समस्या देखिएको हो ।’

एउटा प्रयोजनका लागि लगिएको ऋण अरू नै काममा खर्च भइसकेको र बैंकहरूले त्यसको नियन्त्रणमा उदासिनता देखाएको पनि अधिकारीले बताए । त्यस्तै, एलसीको विश्लेषणका बैंकहरूलाई निर्देशन दिएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १८, २०७९ १५:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×