मदन पुरस्कार 'अग्‍नि'लाई, जगदम्बा श्री श्रेष्ठलाई

भाद्र ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित भएको 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा श्री र लम्सालको कृति अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । 

दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा ८ पुस्तक परेका थिए । जसमा डा. दामोदर पुडासैनी 'किशोर' को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको  व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश, सुजित मैनालीको सती : इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको  हिति प्रणाली थिए । 

कान्तिपुर

Link copied successfully