कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अवैध संरचना हटाउन ‘एक्सन’ मा मेयर शाह

—पार्किङका लागि छुट्याइएको बेसमेन्टमा फार्मेसी र डायग्नोस्टिक सेन्टर सञ्चालन भएको पाइएपछि अल्फाबिटा कम्प्लेक्सका अनधिकृत संरचनामा डोजर
—आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाउन मेयर शाहको आग्रह
—‘अवैध संरचना र अन्डरग्राउन्ड पार्किङ खुलाउने अभियान ५ वर्षसम्म चलिरहन्छ’
गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोली बिहीबार बिहान अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन शंखमूल पुग्यो । पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्टमा सञ्चालित बर्गर हाउसलगायत अन्य भवनका पसल हटाउन निर्देशन दिएर शाह टोलीसहित बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुग्यो ।

अवैध संरचना हटाउन ‘एक्सन’ मा मेयर शाह

कम्प्लेक्सका अध्यक्ष द्विराज शर्मा सिवाकोटीले मेयर शाहलाई नक्सा लिएर आउन चुनौती दिए । त्यसपछि एक्कासि आवेशमा आएका शाहले शर्मालाई हप्काउँदै ३५ दिने सूचना निकालेरै अनधिकृत संरचना हटाउन थालेको प्रस्ट्याए ।

त्यहाँबाट फर्किएका शाह महानगर कार्यालय पुगे र केही घण्टापछि नक्सासहित अल्फाबिटा नै फर्किए । उनी पुग्दा शर्मा भने उपस्थित थिएनन् । नक्सा देखाउँदै शाहले सो अनुसारको संरचना भए/नभएको अनुगमन गरे । पार्किङका लागि छुट्याइएको बेसमेन्टमा अनधिकृत संरचना बनाएर फार्मेसी र डायग्नोस्टिक सेन्टर सञ्चालन भइरहेको पुष्टि भएपछि शाह एक्सनमा उत्रिए । अनधिकृत संरचना हटाउन निर्देशन दिएपछि फार्मेसीमा भएका औषधि निकाल्न लगाएर महानगरले डोजर चलाउन सुरु गर्‍यो । त्यतिन्जेलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो भने भीड पनि बढिसकेको थियो । अवैध संरचना भत्काउन थालेपछि भीडले ताली बजाउँदै शाहको कामको प्रशंसा गर्‍यो । शाहले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’ आफैं बुझेर अवैध रूपमा बनाइएका संरचना हटाउन आग्रह गर्दै उनले नक्सा जसरी पास भएको छ, सोहीअनुसार बनाउन आग्रह गरेका छन् ।

अनधिकृत संरचना भत्काउनुअघि ३५ दिने सूचना जारी गरे पनि सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि घरधनी सम्पर्कमा नआएको मेयर शाहले गुनासो गर्दै आएका छन् । नक्सापासबिनाका त्यस्ता संरचनामा बस्ने भाडावाल व्यवसायीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै उनले घर मालिकबाटै क्षतिपूर्ति भराउन पनि महानगरले हदैसम्मको पहल गर्ने उनको भनाइ छ ।

गत सोमबारदेखि नै महानगरले अवैध संरचना र अन्डरग्राउन्ड पार्किङ खुलाउन थालेको हो । यो अभियान ५ वर्षसम्म चल्ने मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले कान्तिपुरलाई बताए ।

सर्वसाधारणको साथ

साउन पहिलो साता बन्चरेडाँडा ल्यान्डफिल साइट जाने नुवाकोट–सिसडोल सडकखण्डको बाटो भत्किएपछि उपत्यकाको फोहोर ढुवानी ठप्प भयो । कुहिने र नकुहिने फोहोर छुट्याउने अभियान चलिरहेकै बेला वर्षाका कारण बाटो बिग्रिएपछि फोहोर सडकमै थुप्रियो, मेयर शाहविरुद्ध सामाजिक सञ्जालमा आलोचना सुरु भयो । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि ‘काठमाडौंको फोहोर सफा गर्न नसक्नेले के ठूलो कुरा गर्नू’ भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरे । काठमाडौं र धरानका मेयरबीच सामाजिक सञ्जालमा जुहारी नै चल्यो ।

श्रमदान गरेर धरानका सर्वसाधारणलाई पानी खुवाउने प्रयास गरिरहेको, वृक्षरोपण गरेर श्रम संस्कृतिको सन्देश दिएको भन्दै साम्पाङले वाहवाही कमाइरहेका बेला यता मेयर शाहविरुद्ध फोहोर उठाउन नसकेको भन्दै आलोचना चुलिइसकेको थियो । यहीबीच सोमबार महानगरका कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीसहतिको टोली लिएर शाह बानेश्वर पुगे । नियमविपरीत बनाएका संरचना भटाभट भत्काउन थाले । बानेश्वरको खानेपानी ट्यांकीदेखि मुख्य चोकसम्मका व्यावसायिक प्रयोजनका भवनका बेसमेन्टमा अनधिकृत सञ्चालन भएका पसल तथा होटलहरू एकाएक हटाउन थालिए ।

साउन २ गते महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना निकाल्दै एउटा प्रयोजनका लागि बनाइएको व्यावसायिक भवनको बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग नगर्न भनेको थियो । बेसमेन्टमा पार्किङ र गोदाम राख्ने भनेर नक्सापास भएका भवनमा घरधनीले पसल तथा होटल सञ्चालन गर्न दिएपछि महानगरले अभियानै रूपमा त्यस्ता संरचना हटाउन थालेको हो । मेयर शाहले स्थानीयको साथ र सहयोगमा बेसमेन्टमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्भव भएको भन्दै धन्यवाद ज्ञापन पनि गरे । उनले भनेका छन्, ‘जे सम्पदा, संरचना र विषय जुन प्रयोजनका लागि हो, त्यसका लागि मात्रै उपयोग हुनुपर्छ भन्ने कुरामा महानगर दृढ छ ।’ उनले स्थानीयसँग हातेमालो गर्दै अगाडि बढ्न चाहेको पनि बताएका छन् ।

मेयर शाहले मंगलबार नगर क्षेत्रभित्रका व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेको भवनको बेसमेन्ट निगरानी तथा अनुगमन गर्न नगर प्रहरी र कर्मचारीलाई निर्देशन दिएका थिए । केही अभिलेख तथा तथ्यांक संकलन पनि गरिए । त्यही दिन उनले विज्ञप्ति निकाल्दै महानगरका कर्मचारी र शिक्षकहरूलाई दलीय आबद्धता त्याग्न आग्रह गर्दै कानुन/नियम स्मरण गराए । उनको यो कदमलाई धेरैले स्वागत गरेका छन् ।

बुधबार उनी डोजर लिएर न्युरोड पुगे । काठमाडौं प्लाजा, आरबी कम्प्लेक्सनमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काए । न्युरोडमै नबिल बैंकले पार्किङका लागि बनाइएको बेसमेन्टमा राखिएको शाखा कार्यालय र दरबारमार्गस्थित वान दरबार मलमा सञ्चालित ‘पब’ हटाउन महानगरले निर्देशन दिएको छ । बुधबारै अपराह्न महानगरको टोलीले कोटेश्वर चोक क्षेत्रमा फुटपाथ मिचेर व्यवसाय गर्नेहरूलाई हटाएको थियो ।

पार्किङ गर्नका लागि बनाइएका बेसमेन्टमा पसल तथा रेस्टुरेन्ट सञ्चालन गर्दा त्यसले ट्राफिक व्यवस्थापनमा समेत ठूलो चुनौती हुँदै आएको छ । सबै भवनको पार्किङलाई प्रयोगमा ल्याउँदा धेरै हदसम्म फुटपाथको अव्यवस्थित पार्किङ र जाम हट्न सक्ने महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । महानगरको अभियानमा कार्यालयकी प्रमुख डीआईजी मीरा चौधरी आफैं फिल्डमा पुगेर साथ दिइरहेकी छन् ।

नक्सामा उल्लेख भएबमोजिम सबै बेसमेन्टमा पार्किङ गर्दा फुटपाथको समस्या धेरै हदसम्म हट्ने महानगर सहरी तथा भवन विभागका प्रमुख सुरज शाक्य बताउँछन् । तर, अवैधानिक रूपमा प्रयोग भइरहेको बेसमेन्टको यकिन तथ्यांक महानगरसँग छैन । अहिले अनुगमन गरेर त्यस्ता संरचना हटाइरहेको विभाग प्रमुख शाक्यले बताए । ‘घर भाडामा पनि दिने तर भाडामा बस्नेलाई पार्किङ गर्ने ठाउँ नदिने भन्ने हुन्न,’ शाक्यले भने, ‘घरभेटीले भाडामा बस्नेलाई पार्किङ गर्ने क्षेत्र, फोहोर फाल्ने ठाउँ सबैको व्यवस्थापन गर्नुपर्छ । चोकचोकमा फाल्न लगाउने होइन ।’

यसैबीच, शैलुङ कन्स्ट्रक्सनलाई सरकारले कालोसूचीमा राखेपछि सडक विभागले फास्ट ट्र्याकमा मुड्खु–तीनपिप्ले करिब ६ किलोमिटर सडकका लागि नयाँ टेन्डर खोल्न लागेको छ । उक्त सडकको ठेक्का पाएको शैलुङले काम नगरेपछि सरकारले ३ वर्षसम्म कालोसूचीमा राखेको हो । सडक निर्माण भएपछि वर्षायाममा पनि काठमाडौंको फोहोर उठाएर ल्यान्डफिल साइट लैजान सकिने महानगरले जनाएको छ । फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइट लैजान यही सडक प्रयोग हुने गरेको छ ।

प्रकाशित : भाद्र ९, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×