काठमाडौँ — नेकपा माओवादी केन्द्रले आगामी संघीय संसद् एवं प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर देशव्यापीरूपमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यसका लागि यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा प्रशिक्षणको कार्यक्रम सुरु हुनेछ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले यही भदौ ८ गते बुधबार मधेस प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सुरु हुने उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
यस्तै भदौ ९ गते बिहीबार गण्डकी प्रदेशमा, १० गते शुक्रबार प्रदेश नं १ मा, ११ गते शनिबार लुम्बिनी प्रदेशमा, १२ गते आइतबार बागमती प्रदेशमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तय भएको छ ।
उपाध्यक्ष महराका अनुसार भदौ १३ गते सोमबार विशेष प्रदेश समिति, १५ गते बुधबार सम्पर्क समन्वय समिति र १६ गते बिहीबार कर्णाली प्रदेश तथा १७ गते शुक्रबार सुदूरपश्चिम प्रदेशमा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।
