कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानान्तरण गरी चितवन ल्याइएका सबै अर्ना सकिए

रमेशकुमार पौडेल

चितवन — करिब ६ वर्षअघि कोसीटप्पु वन्यजन्तु आरक्ष र जावलाखेलको सदर चिडियाखानाबाट चितवन निकुञ्ज ल्याइएका १५ वटै अर्ना सकिएका छन् । तारबार गरेर अर्ना राखेको क्षेत्रमा सोमबार बाघ पसेर तीन वटा अर्ना मारेपछि चितवन ल्याइएका सबै अर्ना सखाप भएका हुन् । ७३ सालको माघमा कोसीबाट १२ र चिडियाखानाबाट तीन वटा अर्ना चितवन ल्याएर सौराहादेखि दक्षिण पदमपुर फाँटमा छाडिएको थियो ।

स्थानान्तरण गरी चितवन ल्याइएका सबै अर्ना सकिए

चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाघले मारेका तीनवटै अर्ना पोथी थिए । बाँकी विवरण भने संकलन भइरहेको उनले बताए । स्थानान्तरण गरेलगत्तै चिडियाखानाबाट ल्याएका तीनवटा अर्ना मरेका थिए । त्यसैगरी ७४ सालको साउनमा आएको बाढीले दुईवटा अर्ना मर्नुका साथै बाँकी रहेका १० वटा अर्नाको स्वास्थ्य पनि नराम्रोसँग बिग्रिएको थियो ।

त्यसपछि बाघ आक्रमण र अन्य कारणले हरेक वर्षजस्तो अर्ना मर्ने गरेका थिए । सूचना अधिकारी तिवारीले गत वर्ष मात्रै १० वटा अर्ना मरेको बताए । चितवन आएपछि गत वर्षसम्म अर्नाका ६ वटा बच्चा जन्मेको निकुञ्ज कार्यालयले जनाएको छ । ३० बिघा खुला जमिनलाई तारबार गरेर अर्ना राखिएको थियो । त्यो बेला तारबार अर्थात 'इनक्लोजर' बनाउन ३४ लाख र अर्ना ल्याउन ४५ लाख रुपैयाँ खर्च भएको थियो ।

महालेखा परीक्षकको हालै सार्वजनिक ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा गरेर 'इनक्लोजर'मा राखेका अर्नाका लागि ६३ लाख ६९ हजा रुपैयाँ खर्च भएको थियो । तर अर्ना संरक्षणमा अपेक्षित लाभ र सफलता प्राप्त नभएको भनेर प्रतिवेदनमा सजग गराइएको छ । अर्नासँगै शुक्लाफाँटाबाट ल्याइएका पाँचवटा बाह्रसिंगे उसै वर्ष मरेर सकिएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?