कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पहाड उक्लँदै थारू

पहाडका गाउँबाट रोजगारी खोज्न भारत पस्नेको लर्को, तराईका कामदार भने काम खोज्दै पहाडमा
डीआर पन्त

धनगढी — रोजगारीका लागि डडेलधुरा उक्लेका मंगल चौधरी आफ्नै ओत बनाउने सुरमा छन् । ११ वर्षअघि कञ्चनपुरको कृष्णपुरको मुक्तकमैया शिविरबाट उनी डडेलधुरा पुगेका हुन् । टुँडिखेल पछाडिको ऐँसेलु झाडीमा ७ मिटर जग्गा किनेर घर बनाउने तयारीमा छन् ।

पहाड उक्लँदै थारू

कमैयाबाट मुक्त भएपछि डडेलधुराका निर्माण व्यवसायी सुरेश पाण्डेयको ठेक्कामा मजदुरी गर्न पहिलो पटक पहाड उक्लिएका उनी चाडपर्वबाहेक कञ्चनपुर झर्दैनन् । मजदुरबाट मिस्त्री भइसकेका उनी अहिले आफ्नै टोली बनाएर निर्माण व्यवसायीबाट पेटीठेक्का लिएर काम गर्छन् । ‘अब म पहाडिया बनिसकें, चाडबाडमा घर पुग्दा जिस्काएर पर्वतिया थारू भन्छन्,’ मंगलले भने, ‘बैंकबाट ऋण लिएर घर बनाउने तयारीमा छु ।’ चौधरीका तीन छोराछोरी पहाडमै हुर्किए । ‘छोराछोरी स्कुल जान्छन्, हामी बूढाबूढी काम गर्न जान्छौं,’ उनले भने, ‘अब त तराई झर्ने खासै इच्छा पनि हुँदैन ।’

मंगलसँगै मजदुरका रूपमा पहाड पुगेका कजुवा चौधरी पनि ‘पहाडी थारू’ भइसके । दशकअघि कजुवा पनि काम खोज्दै डोटीको सिलगढी पुगेका थिए ।

विकास निर्माणका काममा मजदुरी गर्न आएका उनी अहिले डोटीमा घर बनाउन नाम चलेका मिस्त्री हुन् । अचेल टोली नै बनाएर गाउँ–गाउँसम्म पनि काम गर्न पुग्छन् । ‘मलाई त घर तराई हो भन्दा धेरैले पत्याउँदैनन्,’ उनले भने, ‘मुक्त कमैयाँ हुँ । पहाड बस्न थालेको १० वर्ष बढी भयो, यतै घर बनाउने योजनामा छु ।’ पहाड उक्लेपछि काम नभएर कहिले पनि खाली बस्नु नपरेको उनी बताउँछन् । ‘हाम्रा लागि तराईभन्दा पनि सुरक्षित रोजगारी पहाडमै छ । यहाँ पैसा छ सम्मान पनि छ,’ उनले भने ।

खेतीपातीको काम सकेर हरेक वर्ष असार–साउन र कात्तिक–मंसिरतिर पहाडी गाउँहरूबाट कामको खोजीमा भारततिर जान युवाहरूको लर्को लाग्छ । उनीहरू सीमावर्ती सहरदेखि दिल्ली, मुम्बई, बैंग्लोर र सिमलासम्म पुग्छन् । तीमध्ये छोटो समयका लागि जानेहरू प्रायः सीमापारिका गाउँ–सहरमा सरकारी तथा निजी निर्माणका काममा जान्छन् । तर, पहाडी जिल्लामा निर्माणलगायत काममा स्थानीय कामदार नपाएर तराईबाट बोलाउने क्रम बढेको छ । पछिल्लो दशकमा तराईका थारू समुदायका युवायुवतीहरू पहाडी जिल्लामा ‘लोकप्रिय’ मिस्त्री र मजदुर भएका छन् । पहाडका अधिकांश युवा खाडी मुलुक या भारतमा छन् । उपभोक्ता समितिमार्फत हुने विकास निर्माणमा समेत काम गर्ने युवा नभएपछि तराईबाट उक्लेका थारू समुदायका कामदार नै पहाडी जिल्लामा भेटिने गरेका छन् । काममा सिपालु, कठोर परिश्रमी, अरूभन्दा ज्यालामा विवाद नगर्ने भएकाले उनीहरू पहाडमा लोकप्रिय भएका हुन् । ‘तराईमा समयसमयमा अशान्ति पनि हुन्छ । प्रतिस्पर्धा पनि धेरै छ, पहाडमा सजिलै काम पनि पाइने ज्याला पनि पाइने भएकाले पनि हाम्रो जातका धेरै युवा पहाडतिर उक्लिएका छौं,’ ७ वर्षदेखि डडेलधुरामा काम गर्दै आएका धनीराम डगौराले भने ।

१३ जनाको समूह बनाएर काम गरिरहेका धनीरामका अनुसार लामो समयदेखि पहाडतिर काम गरिरहेका थारू युवा धेरैले डडेलधुरा सदरमुकाम आसपास र बैतडीको पाटन क्षेत्रमा घरघडेरीसमेत किनेका छन् । थारू युवाहरू काममा मिहिनेत गर्ने भएकाले यहाँ धेरैजसोले रुचाएको निर्माण व्यवसायीहरू बताउँछन् । ‘उनीहरू इमानदार मेहनती अनि सस्ता पनि छन्,’ डडेलधुरा निर्माण व्यवसायी संघका महासचिव लवराज चटौत भन्छन्, ‘भनेका बेला काममा खटिने र धोका नदिने भएकाले अहिले निर्माण व्यवसायीको पहिलो रोजाइमा थारू समुदायका मिस्त्री र कामदार छन् ।’

ठुल्ठूला विकास योजना, ठेक्कापट्टा र निजी क्षेत्रका निर्माणका काममा चार हजार जनाभन्दा बढी थारू समुदायका युवायुवती सुदूरपश्चिमका पहाडी जिल्लामा काम गरिरहेको यहाँका व्यवसायी बताउँछन् । ‘गाउँगाउँमा आफ्ना समूह बनाएर काम गर्ने मिस्त्री र कामदारको संख्या जोड्ने हो भने यो अझै बढी हुन सक्छ,’ महासचिव चटौतले भने । डडेलधुरामा मात्र एक हजार जनाभन्दा बढी थारु समुदायका मिस्त्री र कामदार रहेको उनले बताए ।

सडक, खानेपानी, भवन निर्माण, विद्युत् विस्तारदेखि सबैखाले काममा थारू कामदार दक्ष देखिएका छन् । काठको काम गर्ने पनि अधिकांश थारू समुदायकै मिस्त्री छन् । कमैयाबाट मुक्त भएपछि धेरैले सरकारी गैरसरकारी क्षेत्रका तालिमबाट पाएको सीपको सदुपयोग गरिरहेका छन् । विभिन्न मुक्तकमैया शिविरमा सरकारले सञ्चालन गरेका प्राविधिक सीपमूलक तालिमपछि आत्मनिर्भर हुँदै थारू समुदायका युवा पहाडी जिल्लामा पुग्न थालेका हुन् । पहाडी क्षेत्रमा काम गरिरहेका सबै नभए पनि अधिकांश मुक्तकमैया नै भएको कजुवाले बताए । बझाङ, दार्चुला र बाजुरा जस्ता हिमाली जिल्लामा पनि थारू समुदायका कामदार प्रशस्तै पुगेका छन् । ‘चौधरीहरू पहाडमा बस्नै सक्दैनन् भन्थे होइन रै’छ । अहिले हामीहरू नभएको पहाडका कमै गाउँ होलान्,’ दार्चुलाको छाङरुमा घर बनाउने काम गरेर फर्किएका कैलालीका चन्द्रलाल चौधरीले भने, ‘दुनियाँ यति फराकिलो छ भन्ने मैले त कल्पना पनि गरेको थिएन, मालिकको घरमा काम गर्‍यो खायो सुत्यो, त्योभन्दा बाहिरको जीवन देखेको यतै पहाड उक्लेपछि हो ।’ उनले पहाडमा खर्च पनि कम हुने र बानीबेहोरा पनि सुध्रिने भएकाले आफ्नो समुदायका धेरै युवा पहाडतिर आकर्षित भएको बताए ।

मध्यपहाडमा पछिल्लो समय बसाइँसराइ र रोजगारीका लागि बिदेसिने युवाको संख्या बढी छ । गाउँ रित्तिँदै जान थालेका छन् । सामान्य काम गर्ने जनशक्तिसमेत गाउँमा रैथाने छैनन् । प्रायःजसो गाउँमा वृद्धवृद्धा, बालबालिका र महिलामात्र गाउँमा भेटिन्छन् । निर्माण व्यवसायमा संलग्न डडेलधुराका नीलकण्ठ भट्ट स्थानीय तहबाट हुने सानातिना विकास योजनामा काम गर्ने मजदुरसमेत तराईबाटै मगाउनु परेको बताउँछन् । ‘उपभोक्ता समितिका अधिकांश काममा महिला कामदार हुन्छन्, उनीहरूले गर्न नसकेको कामका लागि तराईबाट आएका थारू समुदायका मजदुर नै प्रयोग भइरहेका छन्,’ उनले भने ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?