१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फुकुओकामा दाहालले सच्याए बोली : सिन्जो आबेसँग विभिन्न माध्यमबाट सम्पर्कमा रहेको थिएँ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग विभिन्न माध्यमबाट आफू सम्पर्कमा रहने गरेको बताएका छन् । शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभल-२०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले जापानका पूर्वप्रधानमन्त्री आबेसँग राम्रो सम्बन्धमा रहेको बताएका हुन् ।

फुकुओकामा दाहालले सच्याए बोली : सिन्जो आबेसँग विभिन्न माध्यमबाट सम्पर्कमा रहेको थिएँ

यसअघि अध्यक्ष दाहालले जापानका पूर्वप्रधानमन्त्री आबे नेपाल आउँदा २/३ पटक कुराकानी भएको बताएका थिए । नरिता विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, 'म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २/३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्‍याक्सन भएको थियो ।'

२६ सेप्टेम्बर २००६- २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२- १६ सेप्टेम्बर २०२० सम्म जापानको प्रधानमन्त्री भएका आबेले नेपाल भ्रमण नगरेको उल्लेख गर्दै दाहालको दाबी गलत भएको समाचार इकान्तिपुरले प्रकाशित गरेको थियो । नरिता विमानस्थलमा गलत दाबी गरेका दाहालले फुकुओकामा सच्याएका हुन् ।

फुकुओकामा प्रवासी नेपालीलाई सम्बोधन गर्दै उनले भने,'एक-डेढ महिनाअघि नै जापान आउने निर्णय भएको थियो । त्यतिबेला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका रूपमा पनि जापानका पूर्वप्रधानमन्त्री आबेसँग विभिन्न रूपले म सम्पर्क र कुराकानीमा हुने गरेको थिएँ । र, उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग भेट्ने र फेरि एकचोटि प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्‍याएको थिएँ । तर दुर्भाग्य उहाँको यहीबीचमा बडो दुर्भाग्यपूर्ण अवसान भयो । म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । शोकसन्तप्त परिवारमा पनि हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।'

विस्तृत शान्ति सम्झौतापछि संविधानसभा निर्वाचनकै बेला आफूलाई जापान भ्रमण गर्ने इच्छा भएको पनि उनले बताए ।

५ दिने जापान भ्रमणका क्रममा रहेका दाहालले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा जोड दिएका छन् । द्विपक्षीय आर्थिक र अन्य सहयोगलाई अझ सुदृढ गर्ने कुरामा आफूले जोड दिने बताएका छन् । त्यस्तै उनले नेपालमा राजनीतिक स्थायित्व र विकासतर्फ कसरी लैजाने भन्नेमा आफूहरूले ध्यान केन्द्रित गरेको बताए ।

प्रकाशित : श्रावण २१, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?