३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नयाँ नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् । 

नयाँ नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍यो : ओली

अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हटनु परेको दाबी गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री गुमाउनु पुगेको बताएका हुन् ।

ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे । प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखि भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रियासमेत दिए । अवसरमा उहाँले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौंता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराउनु भयो । ‘नाकाबन्दीका बेला नाकाबन्दी लागेपछि मैले उत्तरतिरबाट पनि ट्रान्सर्पोट, ट्रान्जिट एग्रिमेन्ट गरेँ । उत्तरतिरका पनि नाका खोलेर अबउप्रान्त नेपालमा नाकाबन्दी हुन नसक्ने परिस्थिति सिर्जना गरेँ । मलाई थाहा थियो–त्यसपछि मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ,हटाइन्छ, त्यो मलाई थाहा थियो,’ उनले भने ।

त्यस्तै सुगौली सन्धिले नै नेपालको सीमा प्रस्ट पारेको उल्लेख गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकोमा विवाद नभएको बताए । ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कायान्वयन भइसकेको सुगौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भूभाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर कहिलेबाट छोडियो ? नेपालको नक्साबाट त्यो भूभाग हटाइयो । पहिले त्यो भूभाग थियो, पछि हटाइयो । हटाइएको रहेछ–इतिहास खोज्दै जाँदा । त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अव यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । त्यो कुरा थाहा थियो । र, नभन्दै हट्नुपर्‍यो पनि । त्यसमा पनि मलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा पीर छैन । तर देश जता जाँदैछ, जता लगिदैछ । त्यस कुरामा पीर छ,’उनले भने ।

ओलीले एमसीसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसद्मा पेस गर्ने पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासोसमेत गरे ।

प्रकाशित : श्रावण १६, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?