संसदीय चुनावका सम्भावित ९ परिदृश्य- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय चुनावका सम्भावित ९ परिदृश्य

दलहरू एक्लाएक्लै चुनाव लडे कांग्रेस ७६ सिटसहित पहिलो र एमाले ७१ सिट जितेर दोस्रो, माओवादी ८ सिटमा सीमित 
पाँचदलीय गठबन्धनले निरन्तरता पाए एमाले ९ सिटमा खुम्चने
वाम गठबन्धन र जसपा–लोसपा गठबन्धनविरूद्ध एक्लै उत्रनुपर्‍यो भने कांग्रेस ५ सिटमा खुम्चने अवस्था
तुफान न्यौपाने

काठमाडौँ — ढिलो–चाँडो निर्वाचनमा जाँदै गर्दा त्यसको परिणामलाई लिएर आम चासो र लेखाजोखा सुरु भइसकेको छ । दलहरूले गठबन्धन/उपगठबन्धन बनाउने र त्यसबाट आफूले धेरै हिस्सा लिने प्रयास गरिरहेका छन् ।

यस सन्दर्भमा कान्तिपुरले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सिट संख्यामा कसको हैसियत कस्तो होला भन्ने केलाउने प्रयास गरेको छ । एक्लाएक्लै लड्दा कुन/कति निर्वाचन क्षेत्रमा कुन दल अगाडि देखिन्छन् ? दलहरूबीच जारी गठबन्धन निर्माणका बहुवार्तामध्ये कुन विकल्पले मूर्तता पाउँदा गठबन्धनमा रहने र नरहने दलहरूको हैसियत कस्तो होला ? यस्ता प्रश्न केलाइएको छ ।

यो तथ्यांक विश्लेषणमा केही प्राविधिक सीमा छन् । दलहरूले गत स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कारण कतिपय वडामा उम्मेदवार नै उठाएका थिएनन् । त्यसैले ती क्षेत्रमा वडाध्यक्षले पाएको मतले त्यहाँ सम्बन्धित दलको वास्तविक भोटको प्रतिनिधित्व नगर्न पनि सक्छ । कतिपय वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका कारण त्यहाँका दलको भोट संख्या उपलब्ध छैन । अर्कातिर संघीय निर्वाचनमा केही लोकप्रिय व्यक्तिले स्वतन्त्र उम्मेदवार भएर पनि जित्ने सम्भावना सधैं रहन्छ । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले प्राप्त भोट संघीय निर्वाचनमा कुन दलको उम्मेदवारले लैजान्छ भन्ने यकिन हुँदैन । यस्तै, स्थानीय निर्वाचनमा होस् वा संघीय निर्वाचनमा, उम्मेदवार (दलीय) को लोकप्रियताले पनि मतमा केही प्रभाव पार्न सक्छ । यहाँ दलहरूका वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा आगामी निर्वाचनमा उनीहरू एक्लाएक्लै वा गठबन्धन बनाएर जाँदा ल्याउने सम्भावित चार परिस्थितिको परिणाम केलाइएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा दलहरू एक्लाएक्लै चुनाव लडे भने कांग्रेस ७६ सिटसहित अग्रणी स्थानमा रहने देखिन्छ । एमाले ७१ सिट जितेर दोस्रो बन्न सक्छ । माओवादी ८ सिटमा खुम्चन सक्छ ।

माओवादी केन्द्रका वडाध्यक्षले संघीय निर्वाचन क्षेत्रमध्ये ८ वटामा मात्रै अग्रता कायम गर्ने गरी भोट ल्याएका छन् । जनता समाजवादी पार्टीले ५, लोकतान्त्रिक समाजवादी पार्टीले २ तथा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नवगठित नागरिक उन्मुक्ति पार्टीले १/१ ठाउँमा जित्न सक्ने देखिन्छ ।

दलहरू एक्लाएक्लै चुनाव लड्दाको सम्भावित परिणाम

कांग्रेसले जित्न सक्ने क्षेत्र : अछाम १, अछाम २, इलाम २, ओखलढुंगा, कञ्चनपुर २, कञ्चनपुर ३, कपिलवस्तु १, कपिलवस्तु २, काठमाडौं १, काठमाडौं १०, काठमाडौं ३, काठमाडौं ६, काठमाडौं ७, काठमाडौं ८, काठमाडौं ९, काभ्रेपलाञ्चोक १, कास्की १, कैलाली ३, कैलाली ४, कैलाली ५, गोरखा १, जुम्ला, झापा ३, डडेलधुरा, डोटी, तनहुँ १, दाङ १, दैलेख १, धनुषा १, धनुषा २, धनुषा ३, धनुषा ४, धादिङ २, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १, नुवाकोट १, नुवाकोट २, पर्सा २, पर्सा ३, पर्सा ४, बर्दिया २, बाँके १, बाँके २, बाँके ३, बारा १, बारा २, भक्तपुर २, महोत्तरी ४, मोरङ ५, मोरङ ६, रसुवा, रामेछाप, रूपन्देही १, रूपन्देही २, रूपन्देही ३, रौतहट २, रौतहट ४, ललितपुर १, ललितपुर २, ललितपुर ३, सप्तरी १, सप्तरी ४, सर्लाही १, सर्लाही २, सर्लाही ४, सल्यान १, सिन्धुपाल्चोक १, सिन्धुली १, सिरहा १, सुनसरी २, सुनसरी ४, सुर्खेत १, सोलुखुम्बु, स्याङ्जा १ र स्याङ्जा २ ।

एमालेले जित्न सक्ने क्षेत्र : अर्घाखाँची, इलाम १, उदयपुर १, उदयपुर २, कञ्चनपुर १, कपिलवस्तु ३, काठमाडौं २, काठमाडौं ४, काठमाडौं ५, काभ्रेपलाञ्चोक २, कास्की २, कास्की ३, कैलाली २, खोटाङ, गुल्मी १, गुल्मी २, चितवन १, चितवन २, चितवन ३, जाजरकोट, झापा १, झापा २, झापा ४, झापा ५, तनहुँ २, ताप्लेजुङ, तेह्रथुम, दाङ २, दाङ ३, दार्चॅला, दैलेख २, दोलखा, धनकुटा, धादिङ १, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, पर्वत, पाँचथर, पाल्पा १, पाल्पा २, प्यूठान, बझाङ, बर्दिया १, बागलुङ १, बागलुङ २, बाजुरा, बारा ३, बारा ४, बैतडी, भोजपुर, मकवानपुर १, मकवानपुर २, मनाङ, मुगु, मुस्ताङ, मोरङ १, मोरङ २, मोरङ ३, मोरङ ४, म्याग्दी १, रूपन्देही ५, रौतहट ३, लमजुङ, संखुवासभा, सर्लाही ३, सिन्धुपाल्चोक २, सिन्धुली २, सिरहा ३, सिरहा ४, सुनसरी १, सुनसरी ३ र सुर्खेत २ ।

माओवादी केन्द्रले जित्न सक्ने क्षेत्र : कालीकोट, गोरखा २, डोल्पा, महोत्तरी १, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र हुम्ला

जसपाले जित्न सक्ने क्षेत्र : पर्सा १, महोत्तरी ३, सप्तरी २, सप्तरी ३ र सिरहा २

लोसपाले जित्न सक्ने क्षेत्र : महोत्तरी २ र रूपन्देही ४

एकीकृत समाजवादीले जित्न सक्ने क्षेत्र : रौतहट १

नेपाल मजदुर किसान पार्टीले जित्न सक्ने क्षेत्र : भक्तपुर १

नागरिक उन्मुक्ति पार्टीले जित्न सक्ने क्षेत्र : कैलाली १

चुनावी गठबन्धन हुँदा

एक्लाएक्लै लड्दा निकै कम सिट ल्याउन सक्ने माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी तथा एक्लै लड्दा प्रत्यक्ष चुनाव जित्न गाह्रो भए पनि देशभर प्रभावशाली उपस्थिति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता दलहरू अस्तित्वको प्रश्न भएकाले सम्भवत : गठबन्धनबिना चुनावमा जाने छैनन् । अर्कातिर कांग्रेस र एमालेजस्ता प्रमुख पार्टी पनि झिनो मत संख्याले मात्र एकअर्काविरुद्ध जित निकाल्ने हुनाले एक्लै लडेर कम जित्नुभन्दा गठबन्धन बनाएर सिट संख्या उल्लेख्य बढाउन चाहन्छन् । दलहरूले गठबन्धनका विभिन्न सम्भावनामा गृहकार्य जारी राखेका छन् । अहिले नै यस्तो गठबन्धन बन्ला भन्न सकिने अवस्था छैन । दलहरूबीच छलफलमा आएका गठबन्धनका आकारलाई मानक बनाएर केही सम्भावना आकलन भने गर्न सकिन्छ । तीन वटा सम्भावित गठबन्धनको चित्र र त्यसले निर्वाचनमा ल्याउन सक्ने परिणाम यस्तो हुन सक्छ ।

सत्तारूढ गठबन्धनको निरन्तरता

कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारूढ गठबन्धनले निरन्तरता पाउने एउटा सम्भावना छ । एमालेविरुद्ध संसदीय समीकरण गरेर सरकार बनाएका र गत स्थानीय तहमा कैयौं पालिकाबाट यसको लाभ पाइसकेकाले पनि ती दलले गठबन्धनलाई निरन्तरता दिने सम्भावना छ । यस्तो गठबन्धन बने सबैभन्दा बढी नोक्सान एमालेलाई हुनेछ । वडाध्यक्षले पाएको मतलाई हेर्दा यस्तो गठबन्धनविरुद्ध एमालेले जम्मा ९ निर्वाचन क्षेत्रमा जित्न सक्नेछ । जसमा काठमाडौं– ५, झापा– १, झापा– २, झापा– ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)– २, पर्वत, पाल्पा– १, मनाङ र मुस्ताङ रहेका छन् । भक्तपुर–१ मा नेमिकपाले जित्न सक्ने देखिन्छ ।

चितवन–२ मा भने एमाले र सत्तारूढ गठबन्धनका वडाध्यक्ष उम्मेदवारले समान मत पाएका छन् । बाँकी १ सय ५४ स्थान गठबन्धनलाई सुरक्षित देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा सत्ता सहयात्राका लागि मनाएको मधेसी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सहकार्य गर्दा पनि एमालेले एक सिटसमेत थप्न सक्ने छैन । तर लोसपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई साथ लिन सक्यो भने एमाले नेतृत्वको गठबन्धनले २० सिट जित्न सक्छ । यस्तो समीकरणबाट काठमाडौं–९, कास्की– २, चितवन–२, झापा– ३, झापा– ४, दाङ– २, बारा– ४, भक्तपुर– २, रूपन्देही– ३, रूपन्देही– ४ र सुनसरी– १ गरी ११ सिट थपिन सक्छ । यस्तो अवस्थामा पाँचदलीय गठबन्धनलाई १ सय ४४ र नेमकिपालाई १ सिट प्राप्त हुन सक्छ । एकल लड्दा वडाध्यक्षले कुनै पनि संघीय निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारको भन्दा बढी मत ल्याउन नसकेको भए पनि राप्रपा केही निर्वाचन क्षेत्रमा दोस्रो दलका रूपमा प्रतिस्पर्धी देखिएको छ । त्यसैले एमाले र राप्रपाको मात्रै सहकार्यबाट पनि १७ वटा निर्वाचन क्षेत्र जित्न सक्छन् । लोसपालाई छाडेर राप्रपासँग मात्र समीकरण गर्दा एमालेले बारा–४, रूपन्देही–३ र रूपन्देही–४ गुमाउनुपर्ने हुन सक्छ ।

वाम गठबन्धन बन्दा

वामपन्थी दलहरूले गएको संसदीय निर्वाचनमा जस्तै गठबन्धन बनाउने कसरत पनि जारी राखेका छन् । एमाले (एकीकृत समाजवादीसहित), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बन्यो भने कांग्रेसले पहिलेभन्दा ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ । सत्ता गठबन्धनविरुद्ध एक्लै लड्दा एमालेलाई हुने घाटाभन्दा वाम गठबन्धनविरुद्ध एक्लै लड्दा कांग्रेसलाई हुने घाटा ठूलो हुन्छ ।

वाम गठबन्धन एक ठाउँमा भए र मधेसका दुई प्रमुख दल जसपा र लोसपाले समेत आपसमा समीकरण गरे भने कांग्रेस पाँच ठाउँ (कास्की–१, तनहुँ–१, धनुषा–३, रूपन्देही–३ र स्याङ्जा–२) मा मात्र सीमित हुन सक्छ । गत निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै लड्दा कांग्रेसले २३ सिट जितेको थियो । नेमकिपाले भक्तपुर–१ मा एक्लै जित कायम राख्न सक्छ । जसपा र लोसपाको समीकरणले मधेसका सात (बारा–२, महोत्तरी–२, महोत्तरी–३, महोत्तरी–४, सप्तरी–२, सप्तरी–३ र सर्लाही–२) र रूपन्देही–४ गरी ८ सिट जित्न सक्छन् । बाँकी १ सय ५१ सिट वाम गठबन्धनको पोल्टामा जान सक्छ । तर, कांग्रेस, जसपा र लोसपाले समीकरण गरे भने वाम गठबन्धनविरुद्ध यी तीन दलको सिट १३ बाट ४१ पुग्न सक्छ । नेमकिपा भक्तपुर–१ मा कायमै रहन्छ, वाम गठबन्धन १ सय २३ मा झर्न सक्छ । कांग्रेस, जसपा र लोसपाले राप्रपालाई समेत समीकरणमा अटाउँदा वाम गठबन्धनविरुद्ध ५५ सिट फुत्काउन सक्छन् ।



समाजवादी गठबन्धन बन्दा

एमालेबाहेकका केही वाम दलले समाजवादी केन्द्र बनाएर निर्वाचनमा सहकार्य गर्ने तयारी अगाडि बढाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाबाट अलग्गिएको बाबुराम भट्टराई नेतृत्वको समूह यस्तो केन्द्रको तयारीमा छन् । यो विश्लेषणको मूल स्रोतका रूपमा रहेको स्थानीय तहको गत निर्वाचनको वडाध्यक्षको परिणाम जसपा एकीकृत रहँदाकै भएकाले यहाँ सिंगो जसपालाई समाजवादी केन्द्रको सदस्यका रूपमा राखिएको छ । यस्तो केन्द्र बनिहाले एमाले सबैभन्दा ठूलो पार्टी बन्नेछ ।



एमाले ६५ सिटका साथ सबैभन्दा ठूलो दल बन्न सक्छ भने कांग्रेसले ५९ र समाजवादी केन्द्रले ३७ सिट प्राप्त गर्न सक्नेछन् । सबै दल एक्लै लडेको अवस्थामा कांग्रेसले जित्न सक्ने ७६ मध्येबाट समाजवादी केन्द्रलाई १७ सिट सुम्पनुपर्ने हुन सक्छ । कांग्रेसले एक्लै जित्न सक्ने ७६ मध्ये गोरखा–१, जुम्ला, धनुषा–१, धनुषा–२, बारा–२, बाँके–२, महोत्तरी–४, मोरङ–५, सप्तरी–१, सप्तरी–४, सर्लाही–१, सर्लाही–२, सर्लाही–४, सल्यान, रौतहट–२, रौतहट–४ र सिरहा–१ गुमाउनुपर्नेछ । एमालेले त्यसरी गुमाउनुपर्ने सिट तुलनात्मक रूपमा कम हुनेछ । एक्लै लड्दा एमालेले जित्न सक्ने ७१ मध्ये ६ वटा एमालेले समाजवादी केन्द्रलाई सुम्पनुपर्ने हुन्छ । जसमा कञ्चनपुर–१, कपिलवस्तु–३, रौतहट–३, सर्लाही–३, सिरहा–३ र सिरहा–४ छन् । उपेन्द्र यादव नेतृत्वको जसपासमेत समाजवादी केन्द्रको समीकरणमा रहे यो गठबन्धनले अधिकतम सिट मधेसबाट प्राप्त गर्न सक्ने हुँदा एमालेलाई भन्दा कांग्रेसलाई बढी क्षति हुने देखिएको हो । एक्लै लड्दा मधेसका ३२ मध्ये १८ सिट कंग्रेसले जित्न सक्छ भने एमालेका लागि त्यस्तो सम्भावना केवल ६ सिटमा मात्रै छ ।

समाजवादी केन्द्रले जित्न सक्ने ३७ मध्ये १४ सिट माओवादी केन्द्र (८), जसपा (५) र एकीकृत समाजवादी (१) ले एक्लै लड्दा जित्नेमध्येकै हुनेछन् । यस्तो समीकरण बन्दा प्रतिनिधिसभामा लोसपाले २, नेमकिपाले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट आफ्नो नाममा राख्न सक्छन् ।

समाजवादी केन्द्रसँग अरू पार्टी एक्लाएक्लै लड्दा आउन सक्ने यस्तो परिणाम एमाले र राप्रपाबीचको सामान्य सहकार्यले उलटफेर हुनसक्छ । समाजवादी केन्द्रविरुद्ध एमालेले राप्रपा र कांग्रेसले लोसपासँग सहकार्य गरे त्यसको परिणाम सबैलाई चकित पार्ने गरी आउन सक्छ । अर्थात् एमालेले राप्रपासँग सहकार्यबाट २३ सिट थपेर ८८ पुर्‍याउन सक्छ । जबकि कांग्रेस र लोसपाको समीकरण खुम्चिएर ४५ मा झर्न सक्छ भने समाजवादी केन्द्र ३० मा । भक्तपुर–१ मा नेमकिपा र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी कायम रहन्छन् ।

मधेसको चित्र

पार्टीहरू एक्लाएक्लै लड्दा कांग्रेसले मधेसका ३२ मध्ये आधाभन्दा बढी १८ सिटमा जित निकाल्न सक्छ । कांग्रेसको एक तिहाइ अर्थात् ६ सिट लिएर एमाले दोस्रोमा आउन सक्छ भने मधेसको प्रमुख दल जसपाले ५ सिटका साथ एमालेसँग प्रतिस्पर्धा गर्न सक्छ । त्यसपछि लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले समान १/१ सिट ल्याउन सक्ने देखिन्छ ।


एक्लाएक्लै लडेको अवस्थामा कांग्रेसले जित्न सक्ने क्षेत्र धनुषा–१, धनुषा–२, धनुषा–३, धनुषा–४, पर्सा–२, पर्सा–३, पर्सा–४, बारा–१, बारा–२, महोत्तरी–४, रौतहट–२, रौतहट–४, सप्तरी–१, सप्तरी–४, सर्लाही–१, सर्लाही–२, सर्लाही–४ र सिरहा–१ हुन् । त्यस्तै एमालेले बारा–३, बारा–४, रौतहट–३, सर्लाही–३, सिरहा–३ र सिरहा–४ मा र जसपाले पर्सा–१, महोत्तरी–३, सप्तरी–२, सप्तरी–३ र सिरहा–२ मा जित्न सक्छन् । लोसपाले महोत्तरी–२, माओवादी केन्द्रले महोत्तरी–१ र एकीकृत समाजवादीले रौतहट–१ मा जित्न सक्छन् ।

मधेस प्रदेशमा प्रमुख दलका रूपमा स्थापित भएका जसपा र लोसपाले आपसमा चुनावी सहकार्य गरे भने नतिजा बदलिनेछ । यी दुई दल मिलेर लड्दा ११ सिट पुर्‍याउने सामर्थ्य राख्छन् । मधेसमा यी दुई दलबीच चुनावी तालमेल भए कांग्रेसबाट ४ वटा (बारा–२, महोत्तरी–४, सप्तरी–४ र सर्लाही–२) र एकीकृत समाजवादीबाट एउटा (रौतहट–१) क्षेत्र खोस्न सक्छन् । एमाले र माओवादी केन्द्रको हैसियत भने त्यो अवस्थामा पनि बदलिँदैन । एकीकृत समाजवादी भने सिटविहीन हुन सक्छ । तर, एकीकृत समाजवादी र माओवादीले मिलेर चुनाव लडे भने ६ सिट जित्न सक्छन् । महोत्तरी–१ र रौतहट–१ उनीहरूको आफ्नै भइहाल्यो, त्यसमाथि एमालेबाट तीन वटा क्षेत्र (रौतहट–३, सर्लाही–३ र सिरहा–४) तथा कांग्रेसबाट एक (रौतहट–४) फुत्काउन सक्छन् । यस्तो समीकरण बन्दा जसपा र लोसपा गठबन्धनले १०, कांग्रेसले १३ र एमालेले तीन सिट जित्न सक्छन् ।

मधेसमा कस्तो समीकरण बन्छ भन्ने निश्चित भइनसकेकाले अन्य सम्भाव्य अवस्था पनि हुन सक्छ । मानौं, अहिलेको सत्ता गठबन्धनले निरन्तरता पायो भने मधेसका ३२ वटै सिट उनीहरूको पक्षमा जानेछ । एमाले र लोसपा मधेसबाट सिटविहीन हुनेछन् । सत्ता गठबन्धनविरुद्ध यी दुई दलले आपसी सहकार्य गरेछन् नै भने पनि कुनै सिट पाउने छैनन् । त्यस्तै, कांग्रेसले आफ्नो आधारक्षेत्र दाबी गर्ने मधेसमा अन्य दलसँग गठबन्धन गर्न चाहेन र जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै चुनावी सहकार्य भयो भने पनि यो गठबन्धनले दुई तिहाइभन्दा बढी सिट जित्न सक्छ । त्यस्तो परिस्थितिमा यो तीनदलीय गठबन्धनको २३, कांग्रेसको ६, एमालेको २ र लोसपाको एक सिट आउन सक्छ ।

यस्तो तीनदलीय गठबन्धन बने पनि लोसपा र एमालेले सहकार्य गरेर उल्लेख्य सुधार गर्न सक्छन् । त्यस्तो अवस्थामा सबैभन्दा बढी नोक्सान कांग्रेसलाई हुने देखिन्छ । तीनदलीय गठबन्धनले २० र एमाले तथा लोसपाको गठबन्धनले ९ सिट ल्याउँदा कांग्रेस ३ सिटमा खुम्चिनेछ । तर, लोसपाले एमालेसँग नभएर कांग्रेससँग समीकरण बनाएर अझ बढी लाभ लिन सक्ने देखिन्छ । त्यस्तो अवस्थामा जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई १८, कांग्रेस र लोसपालाई १३ तथा एमालेलाई एक सिट प्राप्त हुने देखिन्छ ।

मधेसमा नवगठित जनमत पार्टी तथा पुन : ब्युँताइएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जस्ता दलले गत स्थानीय तह निर्वाचनमा भाग लिएर केही वडा जितेका थिए । तर, निर्वाचन क्षेत्रगत तहमा भने तिनको गत निर्वाचनको उपस्थिति खासै प्रभावशाली देखिएको थिएन ।

(तथ्यांक स्रोत– निर्वाचन आयोग, तथ्यांक विश्लेषणमा प्राविधिक सहयोग– सेन्टर फर डेटा जर्नलिज्म नेपालका अरुण कार्की)

सम्बन्धित समाचार :

कुन निर्वाचन क्षेत्रमा दलको मत कति ?

प्रकाशित : श्रावण १३, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

बर्खाले बढाउँछ भाउ

हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–१ का छेवाङ नुर्वुले बर्खाको दुई महिनालाई आवश्यक पर्ने नुनतेल, चामललगायत दैनिक उपभोग्य सामग्री जेठ महिनामै ढुवानी गरेका थिए । अघिल्लो वर्षको बर्खे भेलले पैदल मार्ग कटान गरेर आउजाउ ठप्प बनेपछि यस वर्ष भने दुर्गमको चुमनुव्रीका स्थानीय वर्खा अगावै उपभोग्य सामग्री ढुवानीमा लागि परे । 

‘बर्खाको यो दुई महिना बाटो हिंड्नै मुस्किल पर्छ, पोहोर दुई महिना बाटो बन्द भयो, खच्चड आउन सकेन,’ उनले भने, ‘बाटो राम्रो हुँदै चाहिने कुरा लगे विपद्का बेला पनि खानको पिरलो हुदैन ।’ चुमनुव्री गाउँपालिका पुग्ने एक मात्र पैदलमार्गमा बर्खाको बेला कतिखेर पहिरो झर्छ ठेगान हुदैन । सम्भावित जोखिमलाई ध्यान दिएर स्थानीय उपभोग्य सामग्री ढुवानी गरिरहेका छन् । अप्ठेरो बाटाका कारण यहाँ बर्खाको बेला ढुवानी भाडा महँगिन्छ । ढुवानीले उपभोग्य सामग्रीको मूल्य पनि बढाउँछ । सडक सञ्जालको पहुँचबाहिर रहेको चुमनुव्रीमा खच्चडबाट उपभोग्य र निर्माण सामग्री ढुवानी भइरहेको छ । यहाँ खाद्यान्न, लत्ताकपडा र विकास निर्माणका लागि सिमेन्ट र रड पनि तल्लो क्षेत्रबाट खच्चडमार्फत ढुवानी गर्नुपर्छ ।

तर बर्खाको बेला दूरीअनुसार प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म ढुवानी मूल्य बढेको छ । ‘बर्खा र हिउँ पर्ने हिउँदको दुई सिजनका लागि सामान स्टक राख्नुपर्छ,’ चुमनुव्री–३ का कर्मा गुरुङले भने, ‘यो बर्खामा ढुंगा झर्ने सानो पहिरोको समस्या छ, तर ठूलो समस्या आइसकेको छैन । मान्छेले बर्खाका लागि चामल, नुनतेल, कुखुराका दाना लगिरहेका छन् ।’ माछाखोलासम्म गाडीमा पुगेको उपभोग्य सामग्री खच्चडमार्फत ढुवानी भएको उनले बताए । हिउँदको बेला गाडी दोभानसम्म पुग्थ्यो । ढुवानी मूल्यले सामागाउँमा नुनतेल, चामललगायत सामग्रीको मूल्य लागतको ३ गुणासम्म बढी पर्छ । सामागाउँका स्थानीय ३० केजी चामलको ४५ सयसम्म तिरेर उपभोग गर्छन । ढुवानी मूल्यसमेत जोडेर सामान बिक्री गर्दा लागत बढ्न जाने नुर्वु बताउँछन् ।

माछाखोलाबाट पाँच दिनको पैदलयात्रापछि पुगीने सामागाउँमा बर्खाको बेला प्रतिकेजी ८० रुपैयाँको दरले ढुवानी भएको खच्चड व्यवसायी सूर्य गुरुङले बताए । ‘हिउँदमा भए ७० रुपैयाँ प्रतिकेजी हुन्थ्यो, अहिले बाटाको भर छैन, कतिखेर पानी पर्छ, कतिखेर बाटो बन्द हुन्छ थाहा हुँदैन,’ उनले भने, ‘बाटो बिग्रिएर पानी परे जाने/आउने ठेगान हुँदैन, कति दिन त बीचमै बास पर्छ, बाटाको कारणले ढुवानी भाडा हिउँदमा भन्दा बर्खामा केही बढी लाग्ने भइहाल्यो ।’ चुमनुव्रीको सातवटा वडामा छुट्टाछुट्टै ढुवानी दर छ । हिउँदमा ६० रुपैयाँ प्रतिकेजी ढुवानी मूल्य रहेको ल्होमा बर्खा लागेसँगै ७० रुपैयाँ पर्ने गुरुङले बताए । ‘ल्हो पुग्न चार दिन लाग्छ, आउँदा जाँदा एक साता लागिहाल्यो,’ उनले भने । हिउँदमा २० रुपैयाँ प्रतिकेजी ढुवानी भाडा रहेको देवलमा बर्खा लागेसँगै २५ पुगेको छ । ‘तलको बजारमा नुनको २० रुपैयाँ पर्‍यो भने यहाँ आइपुग्दा ४५ पर्ने भयो, पाँच रुपैयाँ व्यापारीले नाफा खाएर बेच्दा ५० रुपैयाँसम्म नुनकै पर्छ,’ देवलका सुनील गुरुङले भने । ढुवानीले बढाएको उपभोग्य सामग्रीको मूल्य तेब्बरसम्म बढी तिर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

तीन दिनको पैदलयात्रापछि पुगिने छेकम्पारमा पनि ढुवानी भाडा १० रुपैयाँ बढेर ६० पुगेको छ । लार्के सडकको ट्र्याक दोभानसम्म खुलेसँगै दैनिक उपभोग्य सामग्री ढुवानीको मूल्य घटेको थियो । बर्खा लागेसँगै माछाखोला–दोभान सडक ठप्प छ । खच्चड व्यवसायीले माछाखोलादेखिकै भाडा जोड्दा पनि उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको स्थानीय बताउँछन् । ‘माछाखोलाबाट दोभानसम्म गाडी चले एक केजी सामान दुई रुपैयाँमा आइपुग्थ्यो, त्यति नै सामान खच्चडबाट बोकाएर ८ रुपैयाँ पर्छ,’ चुम्चेतका गोपाल गुरुङले भने । गाउँको उब्जनीले गुजारा चलाउन नसकेपछि बजारको भर पर्नुपर्ने बाध्यतामा दुर्गमवासी छन् । कोरोना जोखिम बढेसँगै चीन सरकारले बन्द गरेको उत्तरका दुई नाका झन्डै ३ वर्षयता ठप्प छ । उत्तरका नाका नखुल्दा सीमाक्षेत्रका स्थानीयलाई पनि गोरखाकै तल्लो बजारको भर पनुपर्ने बाध्यता छ ।

प्रकाशित : श्रावण १३, २०७९ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×