बाबुराम भट्टराईको नयाँ दल 'नेपाल समाजवादी पार्टी'

मणि दाहाल

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराई समूहको नेसपा बन्ने भएको हो ।

बाबुराम भट्टराईको नयाँ दल 'नेपाल समाजवादी पार्टी'

'हामीले नाम परिवर्तनका लागि दिएको निवदेनलाई आयोगले स्वीकृत गरेको छ‚' भट्टराईको सचिवालयका विश्वदीप पाण्डेले भने, 'केही दिनभित्रै बस्ने केन्द्रीय समितिको बैठकले बाँकी कामबारे निर्णय गर्ने छ ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि गत फागुन ५ गते भट्टराईनिकट लामिछानेले निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराएका थिए ।

उक्त पार्टीको चुनाव चिह्न आँखा रहेको छ । लामिछानेले आयोगमा नाम, झन्डा, छाप परिवर्तन, विधान संशोधनका लागि निवेदन दिएका थिए ।

यादवसँग मतभिन्नता बढेपछि असारको अन्तिम साता भट्टराईले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाएका थिए । सो बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

त्यसको एक दिनपछि यादवको अध्यक्षतामा पर्साको वीरगन्जमा भएको केन्द्रीय कार्यसमितिको बैठकले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेको थियो ।

प्रकाशित : श्रावण १२, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?