मुटुको शल्यक्रियाका लागि तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई निर्देशन

श्रावण ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो । मुटुका बिरामीहरुको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भीरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।

‘अक्सिजेनेटर मेसिनचाहिँ कूटनीतिक पहल गरेर तत्काल उपलब्ध गराउनु पर्‍यो भनेर म सरकारलाई सुझाव दिन चाहन्छु । मुटुको बिरामीहरुको शल्यक्रिया नै हुन सकेन भनेर समाचार आएका छन । यस विषयमा सरकार संवेदनशील भएर यसको आवश्यक व्यवस्था छिटो मिलाउनु पर्‍यो,’ उनले भनिन् । 

बुधबार अत्यावश्यक ‘अक्सिजेनेटर’ बेलैमा प्रबन्ध नगर्दा  सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाएको समाचार प्रकाशित गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकमा एमाले सांसद नवीना लामालगायतका सांसदले सरकारको ध्यानाकर्षण गराएका थिए । 

बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटेर मेसिन अभाव भएकाले बिरामीहरुको मुटुको शल्यक्रिया गर्ने कामलाई अघि बढाउन नसकिएको समितिलाई स्पष्टीकरण दिएका थिए । युक्रेन युद्ध र कोरोना संकटका कारण पनि उपकरण ल्याउन नसकिएको पनि निर्देशक अधिकारीले बताए । 

अधिकारीले स्वास्थ्य सामग्रीहरुको खरिद प्रक्रियालाई सहज बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि समितिका सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै समितिले कोभिड संक्रमण बढन लागेकोतर्फ सचेत गराउँदै त्यसको नियन्त्रणका लागि तयारी अवस्थामा रहन पनि सरकारलाई सचेत गराएको छ ।

कान्तिपुर

Link copied successfully