काठमाडौँ — कोभिड–१९ भाइरसको ओमिक्रोन भेरिएन्टको ‘बीएफ १’ सव भेरिएन्ट देखिएको छ । योसँगै ‘बीए २’ सब भेरिएन्टको अन्य भेरिएन्टसमेत देखिएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा दुई वटा नमुनामा उक्त नयाँ सव भेरिएन्ट देखिएको हो ।
‘हाल कोभिड संक्रमणका लागि मुख्य रूपमा ‘बीए २’ सव भेरिएन्ट नै जिम्मेवार ठानिँदै आएको समयमा पहिलोपटक ‘बीएफ १’ भेरिएन्ट देखिएको हो,’ धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठले भने । ‘बीए २’ सब भेरिएन्टलाई बढी संक्रामक मानिँदै आएकामा योभन्दा बढी संक्रामक ‘बीए ५’ लाई मानिएको छ । हाल ‘बीएफ १’ सव भेरिएन्टलाई ‘बीए ५’ भन्दा ३५ प्रतिशत बढी संक्रामक मानिएको डा. श्रेष्ठ बताउँछन् ।
जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा २२ वटा नमुनाको परीक्षण गर्दा ६ वटामा ‘बीए ५’, २ वटामा ‘बीएफ १’ र अन्यमा ‘बीए २’ सव भेरिएन्ट पाइएको हो । ‘हामीले गरेको २२ वटै नमुनामा ओमिक्रोनकै सव भेरिएन्ट देखिएका हुन्,’ डा. श्रेष्ठले भने । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार २ हजार ५ सय ६० नमुनाको परीक्षण गर्दा १६.९३ प्रतिशत अर्थात् ४ सय ३५ जनामा कोभिड संक्रमण देखिएको हो । पछिल्लो समय हरेक दिन संक्रमितको संख्यामा उल्लेख्य वृद्घि हुँदै गएको छ । हाल मुलुकमा २ हजार ५ सय ३७ जना सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा एक जना, वाग्मती प्रदेशमा १७ जना र सुदूरपश्चिममा १ जना गरी देशभरिमा १९ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।
