विचार मिल्नेहरूबीच एकता सम्भावनाबारे छलफल भयो : दाहाल

श्रावण ३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विचार मिल्ने दलहरूबीच एकताको सम्भावनाबारे छलफल भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँगको छलफलपछि दाहालले उक्त कुरा बताएका हुन् ।

संघीय संसद् सचिवालय सिंहदरबारमा मंगलबार माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । यसअघि मंगलबार नै दाहालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए । 

'हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य छौं । आज दोस्रो बैठक बस्यौं । अहिले सबै पार्टीले आफ्ना निर्णय गरेका छन् । कांग्रेस र एमालेका निर्णयबारे पनि छलफल भयो,' दाहालले भने, 'गठबन्धनलाई कायम राखेर जानुपर्छ भन्नेमा कसैको विमती छैन । कसरी प्रभावकारी बनाउने भन्ने बारेमा चर्चा भइरहेको छ । स्थानीय तह निर्वाचनको अनुभव पनि लिएर कसरी जाने भन्ने । विचार मिल्नेहरूको बीचमा एकताको सम्भावना बारे छलफल भइरहेको छ ।'

नयाँ गठबन्धन तथा एकता वर्तमान सत्तारुढ गठबन्धन विरुद्ध नभएको दाहालको भनाइ थियो । सकेसम्म वामपन्थी दलहरूबीच कसरी एकता गरेर जाने भन्ने छलफल भएको उनले बताए ।

कान्तिपुर

Link copied successfully