हवाई टिकट बिक्री गर्न दिइएको छुटमा नागरिक उड्डयन प्राधिकरणले भदौदेखि कडाइ गर्दै
काठमाडौँ — आन्तरिक उडानमा राजनीतिक शक्तिका आधारमा अब वायुसेवा कम्पनीले जोसुकैले हवाई टिकट बिक्री गर्ने जनरल सेल्स एजेन्ट (जीएसए) तोक्न नपाउने भएका छन् । दर्ता र निश्चित रकम धरौटीबिना दुर्गम तथा सुगम भेगमा हवाई टिकट बिक्री गर्न दिइएको छुटमा नागरिक उड्डयन प्राधिकरणले भदौदेखि कडाइ गर्दै छ ।
‘आन्तरिक उडानमा अब होटल, राजनीतिक कार्यकर्ता, शक्ति केन्द्रको पहुँच र भनसुनका आधारमा जोसुकैले सर्वसाधारणलाई वायुसेवाका टिकट बेच्न नपाउने भएका छन्,’ प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘अब आन्तरिक उडानमा जीएसएले अनिवार्य प्राधिकरणको नियमअनुसार दर्ता भएको हुनुपर्नेछ ।’ जोसुकैले हवाई टिकट बेच्दा मनोमानी भाडा असुल्ने, यात्रु ठगिने, बेलैमा उडान नहुनेलगायत लापरबाही हुने गरेको थियो । त्यसैलाई नियमन गर्न प्राधिकरणले आन्तरिक उडानमा रहेका ८ वटा वायुसेवालाई साउन मसान्तभित्र अनिवार्य दर्ता भएकासँग मात्रै भदौदेखि कारोबार गर्न पत्र पठाएको हो ।
‘प्राधिकरणको सेल्स एजेन्ट अनुमति तथा नियमनसम्बन्धी कार्यविधिको परिच्छेद (२) दफा (३) को उपदफा ३ अनुसार आन्तरिक उडानमा पनि अब एजेन्ट कम्पनी प्राधिकरणमा दर्ता हुनैपर्छ,’ वायुसेवालाई लेखिएको पत्रमा भनिएको छ, ‘प्राधिकरणमा दर्ता नभएका एजेन्टद्वारा गरिएको कारोबार/विवरण प्राधिकरणलाई मान्य हुने छैन ।’ प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमा जीएसएलाई बैंक ग्यारेन्टीसहित अनिवार्य दर्ताको नियम लगाइसकेको छ । तर आन्तरिकतर्फ दुर्गम उडानमा वायुसेवा कम्पनीहरूले नेताका आफन्तजन, कार्यकर्ता, होटल व्यवसायीलगायतलाई टिकट बिक्रीको जिम्मा दिँदै आएका छन् ।
यस विधिबाट हुँदै आएको टिकट बिक्रीमा कर छली हुने, यात्रुले धोका पाउनेलगायतका समस्या देखिएपछि प्राधिकरणले यसलाई गलत अभ्यास भन्दै नियमन गरेको जनाएको छ । उडान नहुँदा वा रद्द हुँदा यात्रु अलपत्र पर्ने समस्या समाधान गर्न पनि यो नियम ल्याइएको प्राधिकरणको भनाइ छ । अब एजेन्ट कम्पनी कर तथा कम्पनी रजिस्ट्रारको कार्यालयमा टिकट बिक्री गर्ने उद्देश्यसहित दर्ता भएको हुनुपर्ने, पर्याप्त पूर्वाधार र जनशक्ति हुनुपर्ने, वायुसेवाबाट अनुमति लिएको हुनुपर्ने, प्राधिकरणमा १५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी हुनुपर्नेलगायत नियम छन् ।
