२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

देउवालाई बलबहादुरको जवाफ- ‘बाँचुन्जेल तपाईं नै सभापति बन्नुस्’

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति शेरबहादुर देउवालाई बाँचुन्जेल आफैँ सभापति बन्न सुझाव दिएका छन् । बुधबारको बैठकमा सभापति देउवाले नेता सञ्जय गौतमले बोल्दै गर्दा जवाफमा विधान संशोधन गरेर फेरि सभापति बन्ने चुनौती दिएका थिए । नेता केसीले बिहीबारको बैठकमा बाँचुन्जेल आफैँ पार्टी चलाउन सुझाव दिएका छन् ।

देउवालाई बलबहादुरको जवाफ- ‘बाँचुन्जेल तपाईं नै सभापति बन्नुस्’

‘तपाईं नमरुन्जेल आफैँ सभापति बन्नुस्; मलाई त्यो रहर छैन तर कांग्रेसको सभापति बन्नुस्; सानो गुटको सभापति होइन, विचार र सिद्धान्तको सभापति बन्नुस्,’ बैठकमा केसीको भनाइलाई उद्धृत गर्दै एक नेताले भने ।

नेता केसीले आगामी निर्वाचनमा बहुमत ल्याउने उद्देश्य राख्ने तर पार्टीभित्रैका शक्तिहरूलाई एकताबद्ध गर्न नसक्ने प्रवृत्ति हानिकारक रहेको बताए । ‘यहाँ आगामी निर्वाचनबाट बहुमतको पार्टी बनाउने कुरा उठेको छ । अहिले गठबन्धनले पार्टी पहिलो बन्यो होला तर बहुमतको पार्टी बनाउन त्यस्तै सहज छैन,’ उनले भने, ‘अहिले यहाँ जसरी बैठकमा छलफल भइरहेको छ, यही प्रस्तुतिले पार्टीले बहुमत पाउँछ भन्ने लाग्दैन । मेरो विचारमा आगामी चुनावमा गठबन्धन गरेर होइन, नगरेर पार्टीले बहुमत ल्याउन सक्छ ।’

उनले हिजो गठबन्धन नगरौँ भन्ने सभापति देउवा अहिले गठबन्धन भनेपछि मरिहत्ते गर्ने अवस्थामा पुग्नुको कारण खोजी गरे । ‘यो गठबन्धन जति बेला भयो, त्यो बेला मुलुकको संविधान बचाउनुपर्ने अवस्था थियो । हामी संविधान बचाउन गठबन्धन गरौँ भन्दा तपाईं नै हो, गठबन्धन नगरौँ भन्ने । त्यो बेला प्रचण्ड र माधव नेपालहरूले तपाईंलाई गठबन्धन गरौँ भनेर ल्याएका हुन्,’ केसीले अघि भने, ‘अहिले तपाईं आफैँ गठबन्धन गरौँ भनेर हिँड्नुभएको छ । मलाई त अहिले हामीले गठबन्धन नगर्दा कम्युनिस्टहरूको एकता हुन्छ जस्तो लाग्दैन । हामीले चुनावअघि गठबन्धन गर्‍यौं भने चुनावपछि चाहीँ कम्युनिस्टहरू मिलेर सरकार बनाउँछन्, त्यही भएन भने मलाई भन्नुहोला ।’

उनले गठबन्धनका कारण स्थानीय तहको निर्वाचनपछि पार्टी कमजोर अवस्थामा पुगेको बताए ।

‘निर्वाचनमा गठबन्धनको नाममा पार्टीका साथीहरूलाई अन्याय भयो । गठबन्धनले हामीले तलदेखि माथिसम्म सत्ता पायौँ होला तर पार्टी कमजोर भएको छ,’ उनले भने, ‘तर हरेक ठाउँबाट विद्रोहको स्वर आएको छ; घात-अन्तरघात भएको छ; यो गठबन्धनको कारणले हो । त्यसकारण गठबन्धन फलदायी छैन ।’

उनले अन्य पार्टीसँग गठबन्धन गर्न चाहने सभापति देउवाले पार्टीभित्रैको गठबन्धन भने नचाहेको बताए ।

‘तपाईंहरूको दाबीअनुसार तपाईंहरू ८० प्रतिशत नै हो; त्यो ठीक छ । तर, बाँकी रहेको २० प्रतिशतलाई बेवास्ता गरेर अघि बढिरहनुभएको छ, त्यसको परिणाम राम्रो हुँदैन । आज पार्टी विचार र सिद्धान्तले चलिरहेको छैन,’ उनले भने, ‘पार्टी पैसाले चलिरहेको छ । त्यो पैसा कसको हो ? कालो धन्दाको हो कि कुन देशबाट के उद्देश्यले आएको हो ? हाम्रो विचार, सिद्धान्त र संगठनको जुन हालत भएको छ, त्यसको चिन्ता कसले लिने ?’

प्रकाशित : असार ३०, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?