कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘आबेनोमिक्स’ का प्रणेताको हत्या

माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रबर्द्धन गर्ने अर्थनीतिमा आबे सफल थिए, त्यस्तै दोस्रो विश्वयुद्धपछि जापानले गुमाएको सैन्य विरासत फिर्ता गराउन रणनीतिक गठबन्धन र परमाणु हतियारको पक्षमा वकालत गर्दै उनले आक्रामक राष्ट्रवादी नेताको छवि बनाएका थिए
एजेन्सी

टोकियो — कार्यकाल एक वर्ष बाँकी थियो, लोकप्रियता उकालोमै थियो । पार्टीभित्र पकड जबर्जस्त थियो । उमेर पनि ६५ मात्र, तर पनि २८ अगस्ट २०२० मा सिन्जो आबेले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिए । स्वास्थ्य प्रतिकूल भएकाले पदमा बस्न नहुने भन्दै कार्यकारी पदबाट अलग भएको दुई वर्षपछि पनि उनी पार्टीका लागि प्रचारमा सक्रिय थिए, यही क्रममा शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेपछि आबेको मृत्यु भएको छ ।

‘आबेनोमिक्स’ का प्रणेताको हत्या

जापानको माथिल्लो सदनका लागि आइतबार निर्वाचन हुँदै छ, लिबरल डेमोक्र्याटिक पार्टीलाई मत माग्न उनी शुक्रबार नारा सहरमा थिए । यही नै उनको राजनीतिक मात्र होइन, व्यक्तिगत जीवनको पनि अन्तिम क्षण बन्न पुग्यो । जापानी जलसेनामा काम गरेका व्यक्तिले घरमै बनाएको बन्दुकबाट चलाएको गोली लागेपछि आबेको मृत्यु भएको हो ।

दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने आबे नै हुन् । कुल नौ वर्ष प्रधानमन्त्री रहेका उनी पारिवारिक पृष्ठभूमिले नै राजनीतिमा जोडिएका थिए । आबेका हजुरबुबा नोबुसुके किसीका प्रधानमन्त्री तथा बुबा सिनतारो विदेशमन्त्री थिए ।

सन् १९५४ मा जन्मिएका आबे सन् १९९३ मा पहिलो पटक सांसद बनेका थिए । सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्का सदस्य बने । अर्को वर्ष ५१ वर्षको उमेरमा उनी प्रधानमन्त्री नै बने । त्यतिबेला उनी दोस्रो विश्वयुद्धपछि सरकारको नेतृत्व गर्ने सबैभन्दा कम उमेरका नेता थिए । तर, सरकार प्रमुखका रूपमा उनको पहिलो कार्यकाल सुखद रहन भने सकेन । एकपछि अर्को राजनीतिक विवादमा मुछिएपछि उनको दलले माथिल्लो सदनमा भारी मात्रामा शक्ति गुमाएको थियो । स्वास्थ्यमा समेत खराबी आएपछि सन् २००७ सेप्टेम्बरमा उनले पदत्याग गरेका थिए ।

स्वास्थ्यमा सुधारसँगै राजनीतिमा सक्रिय भएका आबे सन् २०१२ मा पुन: सरकारको नेतृत्वमा पुगेका थिए । त्यस्तै सन् २०१४ र सन् २०१७ मा पनि उनी प्रधानमन्त्री चुनिए । यसबीचमा राजनीतिक लोकप्रियताको उतारचढाव देखे–भोगेका उनलाई पार्टी पंक्तिबाट बलियो साथ मिलेको थियो । पार्टीभित्र पकड बलियो बन्दै गएकाले उनलाई सरकारको नेतृत्व छोड्नुपर्ने चुनौती थिएन । बरु पार्टीले विधान परिवर्तन गर्दै तेस्रो पटक पनि प्रमुख भूमिकामा रहन बाटो खोलिदिएको थियो । तर उनले दुई वर्षअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

आबे किशोरावस्थादेखि नै ‘अल्सरटिभ कोलाइटिस’ नामक रोगबाट पीडित थिए । दुवै पटक प्रधानमन्त्री पदबाट राजनीमा दिनुको मुख्य कारण पनि यही थियो । यो ठूलो आन्द्रामा जलन हुने र सानो–सानो फोका बन्ने एक स्वास्थ्य अवस्था हो, यसले पाचन प्रणालीलाई पनि प्रभावित गर्छ ।

सिन्जो आबे, गोली लागेपछि । तस्बिर : क्योदो न्युज/रोयटर्स

खासगरी आक्रामक रक्षा र विदेश नीतिका कारण आबे पटकपटक विवादमा परे । उनको राष्ट्रवादी विचारले अमेरिका र भारतसँगको निकटता र चीनसँग तनाव बढाएको थियो । दोस्रो विश्वयुद्धपछि जापान सैनिक गठबन्धनमा सहभागी नहुने नीतिमा थियो । तर, सन् २०१५ मा आबेले सहयोगी मुलुकको रक्षाका लागि समेत जापानी सेना तैनाथ गर्न सक्ने नीति अघि सारे । छिमेकी मुलुकबाट मात्र होइन, जापानभित्रै पनि यसको आलोचना भएको थियो । विरोधका बीच पनि आबेले सैन्यीकरणसम्बन्धी विधेयक जापानी संसद्बाट पारित गराइछाडे ।

उनले परमाणु हतियार प्रयोग सम्बन्धमा सक्रिय बहस थाल्नुपर्नेसमेत बताएका थिए । त्यस्तै ‘साउथ चाइना सी’ मा चीनको आक्रामकता रोक्न भन्दै अमेरिका, भारत, अस्ट्रेलिया र जापान मिलेर गठन गरिएको क्वार्डलाई फेरि सक्रिय बनाउन आबेले पनि अग्रसरता लिएका थिए । समग्रमा आबेको सबैभन्दा ठूलो इच्छाशक्ति दोस्रो विश्वयुद्ध बखतको जापानको सैन्य प्रभावलाई पुन:स्थापित गर्नु थियो । तर, यसमा उनी सफल हुन भने सकेनन् । यो मुद्दा अझै जापानी जनता र जनप्रतिनिधिमाझ विभाजनको द्योतकका रूपमा कायम छ ।

आबेले चाल्ने अर्थनीति पनि उनलाई सधैंभर सम्झिने महत्त्वपूर्ण आधार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण छ । उनको अर्थनीति ‘आबेनोमिक्स’ का रूपमै विश्लेषण हुने गरेको छ । बजारमा माग बढाउने त्यसैका आधारमा मूल्य वृद्धि गर्ने र उत्पादनलाई प्रवद्र्धन गर्ने अर्थनीतिका कारण उनको पहिलो कार्यकालमै आर्थिक व्यवस्थामा उल्लेख्य सुधार आएको थियो । तर, क्रमश: उनले चाल्ने अर्थनीति प्रभावहीन बन्दै गएको भन्दै सवाल उठाउन थालिएको थियो । उनको नेतृत्वका बाबजुद सन् २०१५ मा जापान आर्थिक मन्दीमा फस्यो । कोरोना महामारीका क्रममा सुरक्षित हुने उपयुक्त कदम चाल्न नसकेको आरोप पनि उनीमाथि थियो । महामारीका दौरानमा उनले थालेको घरेलु पर्यटनलाई बढावा दिने अभियान संक्रमण फैलाउन थप हितकर बनेको भन्दै आलोचना भएको थियो ।

जापानमा व्यक्तिगत प्रयोजनका लागि बन्दुक राख्न निषेध छ । व्यक्तिले आफ्नो सुरक्षाका लागि बन्दुक राख्न पाउने गरी कानुन सुधार गर्नुपर्ने बताएपछि आबे गत फेब्रुअरीमा विवादमा तानिएका थिए ।

तर, दु:खद संयोग एउटा सन्काहा बन्दुकधारीले गोली हान्दा उनको मृत्यु भएको छ । पश्चिमी सहर नारामा स्थानीय समयअनुसार शुक्रबार बिहान ११:३० बजेतिर सडकमा चुनावी भाषण दिइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । जापानी संसद्को माथिल्लो सदनका लागि आइतबार चुनाव हुँदै छ ।

गर्धनमा गोली लागेपछि ढलेका ६७ वर्षीय आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पताल लगिएको थियो तर करिब ५ घण्टापछि उनको मृत्यु भएको उनीसम्बद्ध दल लिबरल डेमोक्र्याटिक पार्टीलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

‘आबे भाषण दिइरहेका थिए । त्यतिबेला एक व्यक्ति उनको पछाडि आए । पहिलो गोलीको भयानक आवाज सुनियो, दोस्रो गोली लागेपछि आबे त्यहीं ढले,’ प्रत्यक्षदर्शीले भनेका छन्, ‘गोली चलाउने व्यक्ति त्यहाँबाट भागेका थिएनन् । बन्दुक पनि हातमै थियो । तत्काल सुरक्षाकर्मीले ती व्यक्तिलाई गिरफ्तार गरे ।’

ढलेपछि पनि आबे होसमै थिए तर केहीबेरमा हृदयाघात भएको जापान टाइम्सले लेखेको छ । गोली प्रहारबाट आबेको गर्धनमा चोट लागेको र मस्तिष्कभित्र रगत बगेको चिकित्सकले बताएका छन् । उपचारका क्रममा साँझ ५ बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले आबेको हत्याको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । उनले घटनालाई घृणित भन्दै दोषीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताएका छन् । ‘यो हमलाको निन्दा गर्न जस्तोसुकै कडा शब्द होलान्, म ती प्रयोग गर्न चाहन्छु । लोकतन्त्रमा यस्ता घटनाको कुनै स्थान हुँदैन,’ चुनावी प्रचारका क्रममा यामागाटा क्षेत्रमा रहेका किसिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको सबैभन्दा बलियो आधार मानिन्छ । यस्तो अवस्थामा बर्बर र दुर्भावनापूर्ण घटना भएको छ ।’ आबेमाथि गोली प्रहार भएको जानकारी पाएलगत्तै प्रधानमन्त्री टोकियो फर्किएका थिए ।

आबेमाथि गोली प्रहार गर्ने व्यक्ति ४१ वर्षीय तेत्सुया यामागामी जलसेनाका पूर्वसैनिक रहेको रक्षा एनएचकेले जनाएको छ । ‘उनले तीन वर्ष मेरिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए । सन् २००५ उनले जागिर छाडेका थिए, नाराकै बासिन्दा उनले घरेलु बन्दुकबाट गोली हानेका थिए,’ समाचारमा भनिएको छ ।

जापानको नारामा शुक्रबार पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार गर्ने तेत्सुया यामागामीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : नारा शिम्बुन/एपी

‘करिब १० मिटरको दूरीबाट गोली प्रहार भएको छ,’ आबेको भाषण सुनिरहेका डेमोक्र्याटिक लिबरल पार्टीका एक पदाधिकारीले पत्रकारहरूसँग भनेका छन्, ‘गोली प्रहार गरेपछि पनि उक्त व्यक्ति शान्त थियो र आफ्नो स्थानबाट डेग चलेको थिएन ।’ तत्कालै पक्राउ परेका यामागामीलाई निसी प्रहरी चौकीमा राखिएको छ । उनको घर खानतलासी गर्दा विस्फोटक पदार्थसमेत भेटिएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानमा यामागामी आबेसँग असन्तुष्ट रहेको र हत्या गर्ने उद्देश्यले गोली चलाएको प्रहरीको भनाइ छ ।

जापानमा चुनावी दौरानमा प्रधानमन्त्री र नागरिकबीच दूरी कम रहने गरेको मानिन्छ । अझ, चुनावी प्रचारका क्रममा यो दूरी झनै छोट्टिने जापानी पत्रकार तोबियस ह्यारिसले ट्वीटरमा लेखेका छन् । चुनावी प्रचारप्रसार र सभाबारे दक्खल राख्ने पत्रकार ह्यारिसले लेखेका छन्, ‘चुनावी प्रचारका क्रममा नेता र मतदाताबीचको दूरी निकै न्यून रहने गर्छ । शुक्रबार आबेको सुरक्षार्थ सुरक्षाकर्मी खटिएका थिए, तर यस्ता सभामा कडा सुरक्षा बन्दोबस्ती भने रहँदैन ।’

वासिङटन पोस्टका जापान ब्युरो प्रमुख मिसेल ये ही लीले जापानमा यस्तो हिंसा अपवादस्वरूप हुने बताएका छन् । यसअघि सन् १९३२ मा यस्तै ‘हाइप्रोफाइल’ हत्या भएको छ । तत्कालीन प्रधानमन्त्री इनुकाई सुयोसीको हत्या पनि एक जलसैनिकले गरेका थिए ।

जापानी प्रधानमन्त्री किसिदाले आक्रमणकारीको आपराधिक पृष्ठिभूमिबारे अहिले नै केही भन्न नसकिने बताएका छन् । ‘अहिलेसम्म आक्रमणकारीको आपराधिक पृष्ठभूमिबारे कुनै जानकारी छैन । प्रहरीको अनुसन्धानपछि मात्रै विस्तृतमा बताउन सकिन्छ । तर, हामीलाई आक्रमणकारीको पृष्ठभूमि जान्नु धेरै महत्त्वपूर्ण छ, यो घटना आसन्न चुनावसँग सम्बन्धित हुन पनि सक्छ,’ उनले टोकियोमा पत्रकारहरूसँग भनेका छन् ।

प्रधानमन्त्री किसिदाले आबेको नेतृत्वलाई लिएर उच्च सम्मान व्यक्त गरेका छन् । ‘आबेको विरासतलाई लिएर मेरो मनमा उच्च सम्मान छ । उनीप्रति गहिरो समवेदना अर्पण गर्दछु,’ किसिदाले शुक्रबार टोकियोमा पत्रकारहरूसँग भनेका छन्, ‘आबे मेरा एक खास साथी थिए । उनको साथमा मैले धेरै समय बिताएको छु, त्यसक्रममा महत्त्वपूर्ण साथ र सल्लाह पाएको छु ।’

किसिदाले आसन्न चुनाव स्वतन्त्र, निष्पक्ष र सुरक्षित तवरबाट सम्पन्न गर्न सरकार कटिबद्ध रहेको पनि जनाएका छन् । हिंसाको अघि कहिल्यै नझुक्ने संकल्प गर्दै उनले शनिबार पनि चुनावी प्रचार जारी राख्ने स्पष्ट पारेका छन् ।

विश्वभरबाट शोक व्यक्त

आबेको हत्यालाई लिएर विश्वभरका राष्ट्र प्रमुख र नेताहरूले दु:ख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आबेले आफ्नो जीवन नै जापानी नागरिकको रक्षा र सेवामा बिताएको उल्लेख गरेका छन् । बाराक ओबामाको कार्यकालमा आबेसँग गहिरो मित्रता भएको स्मरण गर्दै बाइडेनले उनी दुई मुलुकबीच साझेदारी र अमेरिकी–जापानी जनताबीच प्रगाढ मित्रता कायम गराउन सफल नेता रहेको उल्लेख गरेका छन् । ‘हत्याकै समयमा पनि उनी लोकतन्त्रको आधार स्थापित गर्ने कर्ममै कटिबद्ध थिए,’ बाइडेनले भनेका छन्, ‘हिंस्रक आक्रमण हामीलाई कदापि स्वीकार्य छैन । बन्दुकजन्य आक्रमणले सधैं पीडितको मनमा गहिरो दाग छोड्ने गर्छ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आबे परिवारसँग फोन सम्पर्क गरेरै समवेदना प्रकट गरेका छन् । आबेलाई उत्कृष्ट र सफल राजनेताको संज्ञा दिँदै पुटिनले उनको कार्यकालमा दुवै मुलुकबीच रहिआएको सम्बन्ध थप विकासित हुन पाएको म्यासेजिङ एप टेलिग्राममा लेखेका छन् ।

सन् २०१६ मा बेलायत भ्रमणका क्रममा आबे र उनकी श्रीमतीसँगको भेट सधैं स्मरणमा रहने उल्लेख गर्दै बेलायती महारानी एलिजावेथ द्वितीयले जापानी राजालाई समवेदना पत्र पठाएकी छन् । ‘आबेको जापानी नागरिकप्रतिको प्रेम र बेलायतसँगको सम्बन्ध थप प्रगाढ बनाउने इच्छाशक्ति सधैं छर्लंग थियो,’ समवेदना पत्रमा भनिएको छ ।

टोकियोस्थित चिनियाँ दूतावासले चीन–जापानबीच रहिआएको सम्बन्ध विकासमा आबेले महत्त्वपूर्ण योगदान दिएको बताएको छ । लामो समय साझेदार रही काम गरेका अमेरिकी पूर्वराष्ट्रपतिद्वय बाराक ओबामा र डोनाल्ड ट्रम्पले समेत एक सच्चा मित्र र सहयात्री गुमाएको बताएका छन् । साझेदार राष्ट्रका प्रमुखका रूपमा काम गर्दाका अनुभव स्मरण गर्दै दुवै नेताले जारी गरेको समवेदनामा आबे सधैंभरि यादमा रहिरहने उल्लेख गरेका छन् ।

आबेको मृत्युमा शोक प्रकट गर्दै क्यानडा, फ्रान्स, अस्ट्रेलिया, इटाली, भारत, ताइवान, पोल्यान्ड, फिलिपिन्स, इजरायल, दक्षिण कोरिया, जर्मनी, रोमानिया, टर्कीलगायत मुलुकका प्रमुखले पनि विश्वले एक सच्चा राजनीतिज्ञ र नेता गुमाएको जनाएका छन् ।

...

नेपालमा राष्ट्रिय शोक

काठमाडौं– जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भत्र्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ मन्त्रिपरिषद्‍ले पारित गरेको शोक वक्तव्यमा भनिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । मन्त्रिपरिषद्‍को बैठकले हत्याको भर्त्सना पनि गरेको छ ।

प्रकाशित : असार २५, २०७९ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?