निजगढ पुगेर प्रधानमन्त्रीले भने : दुइटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउँछौँ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजगढ पुगेर प्रधानमन्त्रीले भने : दुइटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउँछौँ

लक्ष्मी साह

बारा — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित 'अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल'को निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, 'दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।'

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताए । 'अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन । विमानस्थल बन्छ । निजगढ एयरपोर्ट राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो ,' उनले भने । काठमाडौं-निजगढ फास्टट्य्राकको डीपीआरमै पनि निजगढ विमानस्थलको आवश्यकतालाई मध्यनजर गरेर तयार पारिएको उनको भनाइ थियो ।

‍यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिए । उनले विमानस्थल बनाउन अदालतबाट पनि बाटो खुलेको उनले बताए । उनले भने, 'अदालतबाट यसको बाटो खुला भएको छ । प्राकृतिक स्रोत साधनको कम क्षतिसहित विमानस्थल बनाउनुपर्छ ।'

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताए । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । आयोजना निर्माणमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत विभिन्न विभागीय मन्त्रीहरू पनि निजगढ पुगेका हुन् ।

तस्बिरहरू : गोविन्द परियारको फेसबुकबाट

भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका थिए । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गरेका थिए ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।

प्रकाशित : असार १८, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

बर्सेनि मारिन्छन् हात्ती

‘झापामा धेरैजसो हात्ती करेन्ट लागेरै मरेको पाइएको छ, यो हात्तीको मृत्युको कारण पनि त्यही हुन सक्छ’
पर्वत पोर्तेल

काँकडभिट्टा — वन क्षेत्रभन्दा करिब ५ सय मिटर दक्षिणको आयाबारी गाउँमा शुक्रबार बिहान अन्दाजी ७ वर्षको हात्ती मृत फेला पर्‍यो । गाउँमा लामो समयदेखि बालीनाली खान हात्ती गाउँ पसेर दुःख दिँदै आएको छ ।

हात्तीबाट घर र बाली जोगाउन किसानले गैरकानुनी रूपमा विद्युतीय तारघेरा लगाउने चलन पनि यहाँ छ । विद्युतीय तारमै परेर हात्ती मरेको हुन सक्ने अनुमान डिजिभन वन कार्यालय झापाको छ ।

निमित्त वन अधिकृत राजकुमार खत्रीले मृत हात्तीको अंग पोस्टमार्टमका लागि भेटेरिनरी अस्पताल पठाइएको र रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने जनाए । ‘झापामा धेरैजसो हात्ती करेन्ट लागेरै मरेको पाइएको छ, यो हात्तीको मृत्युको कारण पनि त्यही हुन सक्छ,’ खत्रीले भने ।

२०७७ कात्तिक १४ मा झापा बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वन क्षेत्रभित्र मृत अवस्थामा जंगली हात्ती भेटियो । शरीर पछाडि भालाजस्तो धारिलो हतियार प्रहार भएको देखिने उक्त हात्ती स्थानीयको पटकपटकको आक्रमणबाट घाइते भएको डिभिजन वन कार्यालय झापाले अनुमान गरेको थियो । वन कार्यालयले हात्तीमाथि आक्रमणबारे खोजी नगरेपछि उक्त घटना सेलाउँदै गयो । संरक्षित सूचीमा रहेको जनावर बर्सेर्नि मारिँदा पनि वन कार्यालय गम्भीर बन्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट पनि हतपत सार्वजनिक नगर्ने प्रचलन वन कार्यालयको छ ।

नेपाल कानुन आयोगका अनुसार, कुनै हात्ती कुनै कारणले मर्न गएमा सम्बन्धित इलाकाको वन अधिकृतले आवश्यक जाँच/पड्ताल गरी वा गर्न लगाई हात्तीको अन्त्येष्टि कर्म गर्न आदेश दिइनुपर्ने हुन्छ । तर, यहाँ कुनै जाँच टोली नबनाएरै मुचुल्का बनाएर खाल्डोमा गाड्ने परिपाटी छ । वन कार्यालयले अहिलेसम्म यसरी गम्भीर रूपले कुनै अनुसन्धान गरेको संरक्षणकर्मी शंकर लुइँटेललाई थाहा छैन ।

वन कार्यालयमा हरिण, चित्तल, आदि वन्यजन्तु मारेको आरोपमा धेरैलाई मुद्दा चले पनि हात्ती मारेको आरोपमा अहिलेसम्म कसैमाथि पनि मुद्दा चलाएको देखिँदैन । ‘हात्ती मारिएको घटनामा मुद्दा चलेको थाहा छैन,’ सहायक वन अधिकृत कुलप्रसाद भट्टराईले भने । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार हात्तीलगायत दुई दर्जन जंगली जनावर संरक्षित सूचीमा छन् ।

ती जन्तु गैरकानुनी रूपमा मारेमा ३ वर्षदेखि १० वर्ष र अझ बढी कैद र जरिवाना हुने प्रावधान छ । डिभिजन वन कार्यालयका अनुसार विगत १५ वर्षयता झापामा १४ वटा हात्तीको मृत्यु भएको छ । वनको तथ्यांकलाई आधार मान्ने हो भने बर्सेर्नि एउटा हात्ती मारिने गर्छ । वर्षमा एउटा हात्ती मारिनु भनेको ठूलो क्षति रहेको संरक्षणकर्मीहरूको भनाइ छ । संरक्षणकर्मी लुइँटेलका अनुसार झापामा करिब ५० वर्षदेखि मानव–हात्ती द्वन्द्व जारी छ । यही द्वन्द्वको चपेटामा हात्ती र मान्छे दुवै पर्ने गरेका छन् । ‘मान्छे र हात्ती दुवैको बर्सेनि मृत्यु भइरहेको छ,’ लुइँटेलले भने, ‘दुवैलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

प्रकाशित : असार १८, २०७९ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×