प्रकाशको सालिक अनावरण गर्दै दाहालले भने- 'पर्वतीय पर्यटनका लागि नेपाल दुनियाँकै उर्वर'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर रहेको बताएका छन् । नुवाकोटको ककनीमा स्वर्गीय छोरा प्रकाश दाहालको सालिकको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको बताए ।

‘नेपाल पर्वतीय पर्यटनको विकासको निम्ति योभन्दा उर्वर ठाउँ दुनियाँमा कमै भेटिन्छ । तराईदेखि अलिकति चढ्ने बित्तिकै हिमालमा पुगिन्छ, यस्तो छोटो दूरीमा भूगोलको यस्तो स्थिति त दुनियाँमा कमैमात्र भेटिन्छ,’ उनले भने, ‘त्यसकारण पर्यटनको विकासको निम्ति यी पर्वतहरू अनन्त स्रोत हुन् । हामीले यसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता छ ।’

उनले पर्यटन विश्वविद्यालय निर्माणका लागि शिक्षा र पर्यटन मन्त्रालयसँग समेत छलफल गरिरहेको बताए । ‘हामीले नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ । पर्यटन विकास, पर्वतीय विकास र पर्यटनका लागि त्यहाँबाट पठन पाठन हुनसक्छ, अध्ययन अनुसन्धान हुनसक्छ,’ उनले भने । स्वर्गीय दाहाल एक पर्वतारोहीसमेत रहेको भन्दै नेपाल पर्वतारोहण संघले ककनीमा शालिक निर्माण गर्न लागेको हो । २०६९ जेठमा प्रकाश दाहाल, बीना मगरलगायतको १२ जनाको टोलीले सगरमाथा आरोहण गरेको थियो ।

प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित : असार १७, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी रक्षा अधिकारीहरूसँग सेनापति शर्माको शिष्टाचार भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग शिष्टाचार भेट गरेका छन् । त्यस्तै मंगलबार अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर डब्ल्यू ग्रेडीसँग भेट गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यस्तै उनले दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी उप सहायक सचिव लिन्डसे डब्लू फोर्डसँग पनि भेट गरेका छन्।

भेटको क्रममा नेपाल र अमेरिकाबीच सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल तथा विमर्श भएको थियो ।

साथै, सेनापति शर्माको टोलीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित : असार १७, २०७९ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×