काठमाडौँ — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर पार्टीको नाम एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।
गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए ।
उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।
'हाम्रो राष्ट्रिय भेला शनिबार भएको थियो । त्यसले पार्टी गठन गर्ने निर्णय गरेको हो । शनिबारको राष्ट्रिय भेलाले निर्माण गरेको नेकपा (एकता राष्ट्रिय अभियान)केन्द्रिय कमिटीको पहिलो बैठक आइतबार बस्यो । त्यसको केही महत्त्वपूर्ण निर्णय गरेको छ । त्यसलाई आज सार्वजनिक गर्न छौं,' प्रचार संयोजक निमकान्त पाण्डेले भने ।
६९ सदस्यीय केन्द्रिय कमिटीमा गौतम अध्यक्ष र डिबी कार्की सचिव रहेको पाण्डेले बताए । 'हामी निर्वाचन आयोगमा दर्ता पनि गर्छौ र चुनाव प्रक्रियामा पनि अघि जान सक्छौं,' पाण्डेले भने,'अहिलेसम्म ५ वटा पार्टी समाहित भइसकेका छन् ।'
पाण्डेका अनुसार निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह छन् ।
आगिन्चोक, धादिङ — त्रिपुरासुन्दरी गाउँपालिका–५ आगिन्चोकको धिमिरेमा गत जेठ २६ को राति पहिरो जाँदा ५५ वर्षीय नेत्रप्रसाद खाँणको मृत्यु भयो । सुतिरहेका बेला पहिरोले घर पुर्दा बेपत्ता भएका खाँण मृत भेटिएका थिए । भूकम्पपछि सरकारी अनुदानमा बनाएको पक्की घरमा नेत्रप्रसाद सुतेका थिए । त्यसको नजिकै सडकको तलपट्टि ढुंगामाटो र जस्तापाताले बारेको घरमा कनमाया सुतेकी थिइन् ।
धादिङको त्रिपुरासुन्दरी–५ आगिन्चोकमा २ साताअघि गएको पहिरो । तस्बिर : सरिता/कान्तिपुर
ढुंगासहित खसेको लेदो माटोले घर बगाएपछि कनमायाले छिमेकीसँग गुहार नमागेकी होइनन् तर लगातार परिरहेको पानीको आवाजले उनको बिलौनालाई मलिनो बनाइदियो । झन्डै २ घण्टापछि मात्रै छिमेकी पहिरोस्थलमा आउन सकेका थिए ।
छोरा सुरेन्द्र डेढ महिनाअघि मात्र कोरिया गएका थिए । घरमा बज्रपात परेको सुनेपछि उनी हालै मात्र स्वदेश फर्किर्एका छन् । श्रीमान्लाई पहिरोले लगेपछि कनमायाका आँखा ओभाना छैनन् । कोरा कपडामै रहेकी उनी श्रीमान्लाई सम्झँदै रुने, कराउने गर्छिन् । ‘श्रीमान् गुमाएदेखि आँखा ओभाना छैनन्, सम्झाउन सकिएको छैन,’ जेठानी रेशमकुमारी खाँण भन्छिन्, ‘पुस्तौंदेखि बसिरहेको ठाउँमा यसपालि पहिरो गयो, हाम्रो परिवारमा परेको यो बज्रपातले गाउँ नै शोकमा डुबेको छ ।’
गंगाजमुना–७ बुढाथुमको चेपारेमा पनि हालै पहिरोमा परी एक वृद्धाको मृत्यु भएको छ । अघिल्लो बिहीबार वर्षापछिको पहिरोले घर बगाउँदा ८४ वर्षीया धनमाया सार्कीको मृत्यु भएको हो । यो वर्षको मनसुन सुरु भएसँगै धादिङमा विपद्का घटनामा परी कतै मानवीय क्षति नै भएको छ भने कतै बस्ती नै जोखिममा परेका छन् । ३ सातायता गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न बस्तीमा विपद्–बाट व्यापक क्षति पुगेको छ । ‘माथिबाट पहिरो खस्छ, तलबाट भाँसिँदै गएको छ,’ गंगाजमुना–५ भीरमौरीकी टुलकुमारी विक भन्छिन्, ‘जेठ ३१ गते रातिको पहिरोले घरमा क्षति पुगेको छ । पानी पर्न थालेपछि भागाभाग हुन्छ, पस्केको भातसमेत आरामले खान पाउँदैनौं ।’
भूकम्पपछि बनाएको पक्की घर पहिरोको जोखिम परेपछि फेरि उठिबास लाग्ने हो कि भन्ने चिन्तामा स्थानीय छन् । ‘७ वर्षअघि भूकम्पले दिएको पीडा अझै उस्तै छ, अहिले फेरि पहिरोको डरले अत्तालिएका छौं,’ उनले भनिन्, ‘आफ्नो थातथलो छाडेर अन्यत्र जाऊँ ठाउँ छैन । न बस्ने घर छ, न सर्ने भर छ ।’
त्रिपुरासुन्दरी गाउँपालिका–६ छापथोकका बालबहादुर भण्डारी पनि बर्खाभर कसरी जोगिने होला भन्ने चिन्तामा छन् । गत जेठ २६ मा गएको पहिरोसँगै उनको घर भने बगेको थियो । पहिरो आएको थाहा पाएपछि सुतिरहेकी श्रीमतीलाई बोलाएर भागेर ज्यान जोगाएका उनी बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । ‘एकपछि अर्को विपद्सँग जुध्नुपरेको छ,’ उनले भने ।
पहिरो प्रभावितलाई जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, भाँडाकुँडा, खानेकुरालगायत लत्ताकपडा वितरण गरे पनि त्यो पुग्दो छैन । बस्ती नै जोखिममा परे पनि पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरोकारवालाले चासो दिएका छैनन् । जोखिम छ भन्ने थाहा हुँदाहुँदै बस्नुपरिरहेको बालबहादुरले दुःखेसो पोखे । ‘पहिरोले घर लगेपछि केही दिनसम्म त्रिपाल र चामल बाँड्न आएका थिए, त्यसपछि कोही फर्किएका छैनन्,’ उनले भने, ‘अब हामीलाई पनि पहिरोले बगाएपछि मात्र बिचरा भन्न आउने त होलान् ।’