कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामकुमारी झाँक्री : दुई तस्बिर [भिडियो]

गोविन्द पोखरेल

काठमाडौँ — आठ महिनाअघि नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीको शपथ ग्रहण गरेपछि रामकुमारी झाँक्री मन्त्रालयको हलमा उपस्थित थिइन् । पहिलोपटक मन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि मन्त्रालयका अधिकारी र पत्रकारसमक्ष उपस्थित हुँदा उनी निकै खुसी देखिन्थिन् । उनको मुहारमा हाँसो मात्र थियो । एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाएर उनी पदमा पुगेकी थिइन् ।

रामकुमारी झाँक्री : दुई तस्बिर [भिडियो]

आठ महिनापछि आइतबार साँझ मन्त्री पदबाट बाहिरिँदै गर्दा उनी उपस्थित भएको हल उही थियो । कर्मचारी र पत्रकारहरूबीच उनी घेरिएकी थिइन् । तर‚ महोल भने भिन्न थियो । झाँक्रीको मुहारमा भने हाँसोभन्दा बढ्ता रोदन देखियो ।

साँझ शहरी विकास मन्त्रालयका कर्मचारीहरुले एउटा कार्यक्रम राखेका थिए । मन्त्री पदबाट बिदा हुन लागेकी रामकुमारी झाँक्रीलाई लक्षित गरेर कर्मचारीले 'फेरी भेटौंला' कार्यक्रम राखेका थिए । सोही कार्यक्रमलाई भने मन्त्री झाँक्रीले पत्रकार सम्मेलन भनिन् ।

कार्यक्रममा मन्त्रालयका कर्मचारीका अलवा, मातहतका निकाय तथा विभागका प्रमुखहरुको उपस्थिति थियो । एक जना कर्मचारीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै सुरु गरे । त्यसपछि मन्त्रालयका सचिवले भइरहेको कामको बारेमा बेलिविस्तार लगाए ।

मन्त्रालयका अधिकारीहरुले गरेको कामको बारेमा जानकारी दिइरहँदा बीचमा बसेकी झाँक्रीको हाउभाउ अस्वभाविक थियो । उनी भावुक देखिन्थिन् ।

कर्मचारी बोलिरहँदा उनी बेला बेला टेबलको टिस्यू पेपर हातमा लिएर आँखाको गाजल पुछे जस्तो गर्थिन् । अन्य उपस्थितहरुलाई नहेरी उनी भावुक हुँदै भुईंमा हेरेर टोलाइरहिन् ।

सचिवले बोलिसकेपछि उनको बिदाइका लागि मन्त्रालयका कर्मचारीहरुले मायाको चिनो दिने कार्यक्रम थियो । ठूलो स्वरमा उनले 'म त बोल्नै नसक्ने भएँ' भन्दै रुन्चे हाँसो हाँसिन् ।'

मन्त्रालयका अधिकारीले उनलाई बोल्नका लागि पुनः आग्रह गरे । 'मलाई त्यस्तो कुरा गर्ने मन नै छैन, संसद्‌मा बोलेर आएको । हजुर बोल्नुहोस्‚' भन्दै रुन्चे स्वरमा उनले भनिन् ।

केही बेर टहलिएपछि एक जना पत्रकारले प्रश्‍न सोधेपछि उनले 'म इमोसनल भएर प्रश्न इग्नोर गरेको हो; म आर्यघाट गएँ भने त्यो दिनभरि म यस्तै हुन्छु । घर पनि म ढिलो जान्छु ।'

त्यसपछि झाँक्रीले बोल्न थालिन् । उनले मन्त्री नियुक्त भएको दिनदेखि नै आकांक्षीहरुले 'काउन्ट डाउन' गर्न थालेको थाहा पाएपछि आफूलाई हटाउने हुँदा मिडियालाई भन्दा पहिला आफूलाई जानकारी गराउन पार्टी नेतृत्वलाई आग्रह गरेको बताइन् । तर‚ उक्त आग्रहविपरीत मन्त्रीबाट हटाउने कुरा पहिला मिडियाबाट थाहा पाएको उनले बताइन् ।

चैतमा मन्त्री बनाउनेहरु र हुनेवालाहरुले शपथ कहिले भन्दै सोधेको र औंलामै गणना गरेर यति महिना भयो भनेको कुरा थाहा भएको उनको भनाइ थियो ।

पार्टीले निर्वाचको समीक्षा गराउनका लागि बोलाएको भन्ने थाहा भएपनि सरकारबाट फिर्ता बोलाउने निर्णय मिडियाबाट मात्रै थाहा भएको बताइन् । 'हामी किताब छाप्‍नका लागि बिदाको दिन काम गर्दै थियौं । न्युज पनि मैले हेरेको थिइनँ । शनिबार दिउँसो १ बजेतिर थाहा पाएँ; पार्टीले भनेको छ भनेर,' झाँक्रीले भनिन्,'पहिला जानकारी दिनू भनेका थियौं; मिडियाबाट नदिनुहोस् है भनेका थियौं तर मिडियाबाट थाहा भयो ।'

उक्त घटना थाहा पाएपछि प्रधानमन्त्रीलाई नैतिक रुपमा काम गर्ने वातावरण नभएको भनेपछि प्रधानमन्त्रीले मुख्य सचिवमार्फत अन्य सचिवलाई भन्न लगाएर काम गर्ने वातावरण बनाइदिएको उनको भनाइ थियो । 'पीएमले बजेटसम्म काम गर्नुहोस् भन्नुभयो । मुख्य सचिवलाई काम गर्ने वातावरण बनाउन भन्नुहोस् भनेर निर्देशन दिनुभयो,' झाँक्रीले भनिन् ।

रुँदै झाँक्रीले बजेटको प्रतिवाद रहर भएको बताइन् । उनले संसद्‌मा त्यही कुरा भन्ने रहर भएकाले समय मागेको बताइन् । अनेक अड्कलबाजी भएपछि राष्ट्रियसभामा जवाफ दिएको उनले बताइन् ।

त्यसपछि उनी केही बेर चुपचाप बसिन् । एकछिन भक्कानिइन् । त्यसपछि सहयोगका लागि धन्यवाद भन्नका लागि पत्रकार सम्मेलन गरेको बताइन् ।

सबै कुरा भन्दै गर्दा झाँक्रीका पटक पटक आँसु खसे । आँखामा टिलपिल आँसु झार्दै बोल्दा झाँक्रीले एउटा खाली कागजमा डटपेनले कोर्दै आफ्ना कुरा राखेकी थिइन् ।

उनले जाँदा जाँदै भनिन्, 'आज म एकदम कुरा गर्न सक्ने मुडमा छैन । थ्याङ्क यू । '

सहरी विकासमन्त्रीमा नियुक्त भएको दिन मन्त्रालयमा आयोजित स्वागत कार्यक्रम

प्रकाशित : असार १२, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?