२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एमालेसँग संवादका लागि के छन् एकीकृत समाजवादीका सर्त ?

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग संवाद र एकताका लागि सर्तहरु अघि सारेको छ । केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले संवाद सुरु गर्नका लागि राजनीतिक र कानुनी रुपमा एमालेले आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्ने बताए। 

एमालेसँग संवादका लागि के छन् एकीकृत समाजवादीका सर्त ?

'कानुनी र राजनीतिक रुपमा नेकपा एमालेले एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा दिँदैन र अस्तित्व स्वीकार गर्दैन । यस्तो बेलामा एमालेसँग कुनै संवाद हुँदैन,' प्रवक्ता जगन्नाथ खतिवडाले भने, 'एमालेले हामीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । त्यसलाई फिर्ता लिओस् र राजनीतिक दल हो भनेर मान्यता दिन्छ भन्ने निर्णय र अभिव्यक्ति आउनु पर्छ ।'

एमालेले आफूबाट विभाजित भएको एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन । एकीकृत समाजवादीलाई वैधानिक हैसियत दिने निर्णयविरुद्ध एमालेले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमाले विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको भन्दै एमालेले प्रतिनिधिलगायत ८ महिनासम्म अवरुद्ध गरेको थियो ।

'एमालेले थप संवादलाई अघि बढाउने हो भने संसद् विघटनदेखि सबै हर्कतहरुको बारेमा आफ्नो धारणा प्रस्ट पारोस्,' खतिवडाले भने । खतिवडाका अनुसार एमालेले एकीकृत समाजवादी पनि देशभित्रको जनमत लिएको शक्ति हो र त्यसको महत्त्व राजनीतिमा सदुपयोग हुनुपर्छ भन्ने महसुस गर्ने र एकीकृत समाजवादी सँगै टेबुलमा चिया खानुपर्छ भन्ने ठान्यो भने राजनीतिक चियापान त्यस समयमा मात्रै सम्भव हुनेछ ।

'कम्तीमा पनि राजनीतिक अस्तित्वको स्वीकार्यता नभई राजनीतिक सहकार्य सम्भव छैन । यतिखेर एमाले संवादको एजेन्डामा छैन,' खतिवडाले भने । केन्द्रीय कमिटीको बैठकले आफ्नै पहलमा नयाँ गठबन्धनको परिस्थिति सिर्जना भएको निष्कर्ष निकालेको छ ।

खतिवडाले देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिको नयाँ ध्रुव सिर्जना हुने अवस्थामा रहेको बताएका छन् । यस्तै उनले आफ्नो पार्टी गठबन्धन बाहिरका दलहरुसँग पनि छलफलका लागि खुला रहेको बताएका छन्।

'हामी सबैसँग सहकार्य गर्छौं तर शरण पर्दैनौं । सहकार्य गर्न खुला छौं । सबैसँग छलफल खुला गर्नेछौं । पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो । तर पाँच दलभन्दा बाहिरका दलसँग पनि खुला छलफल गर्नेछौं । देशभक्त र वामपन्थीहरुसँग व्यापक सहकार्य चाहन्छौं । सबै राजनीतिक दल र व्यक्ति-व्यक्तिसँग समूह-समूहसँग भेट्न तयार छौं,' खतिवडाले भने, 'हाम्रो पहलमा देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको नयाँ ध्रुव पनि सिर्जना हुन्छ ।'

आमनिर्वाचनमा पार्टीको भूमिका अझै बढेको निष्कर्ष निकालेको एकीकृत समाजवादीले देशको हित रक्षाका लागि आफ्नै पहलकदमीमा अघि बढ्ने पनि खतिवडाले बताए । 'देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा परेको छ । त्यसमा हाम्रो भूमिका दिनदिनै बढ्दै गएको छ । आगामी आमनिर्वाचनपछि झनै बढ्ने छ,' खतिवडाले भने, 'देशको नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुपर्ने त्यो जिम्मेवारीबाट अलिकति पनि तलमाथि गर्न नहुने कुरालाई छलफलमा फोकस गरेका छौं ।'

प्रकाशित : असार ११, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?