१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘यौन शोषण गर्न नपाएपछि कुटपिट र दुर्व्यवहार’

सिनो हाइड्रोका पूर्वकर्मचारी विरुद्ध प्रहरीमा जाहेरी

काठमाडौँ — चिनियाँ लगानी रहेको सिनो हाइड्रो सगरमाथा पावर प्रालिको कर्पोरेट कार्यालयमा कार्यरत एक पूर्वकर्मचारीले सोही कार्यलयमा कार्यरत दुई युवतीमाथि यौन दुर्व्यवहार र कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

‘यौन शोषण गर्न नपाएपछि कुटपिट र दुर्व्यवहार’

सिनो हाइड्रोमा कार्यरत दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले सोही कार्यालयमा कार्यरत रही केहीअघि मात्रै राजीनामा दिएर बाहिरिएका कर्मचारी अनिल नकर्मी विरुद्ध कुटपिट र यौन दुर्व्यवहार आरोपमा बुधबार काठमाडौं प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका हुन् । शनिबार पुनः दुवै पीडितका तर्फबाट वृत्तमा आरोपित नकर्मीविरुद्ध अभद्र व्यवहारको कसुरमा पनि जाहेरी परेको छ ।

दुर्व्यवहार र कुटपिट एक वर्षअघि भए पनि आरोपित नकर्मीलाई सिनो हाइड्रोले पुनः नियुक्ति दिन खोजेपछि घटना बाहिरिएको हो ।

नकर्मीले यौन शोषण गर्न खोजेको आरोपमा सिन्धुपाल्चोककी २४ वर्षीया पीडितले २०७८ वैशाखमा सिनो हाइड्रोको व्यवस्थापनलाई छानबिन गरी कारबाहीको मागसहित उजुरी दिएकी थिइन् । बारम्बार आफूसँग विवाहको प्रलोभन दिएर यौन शोषण गर्न खोजेको र नमानेपछि कुटपिट गरेको भन्दै ती युवतीले नकर्मीविरुद्ध २०७८ वैशाख ३ मा व्यवस्थापन समक्ष उजुरी दिएकी थिइन् ।

उजुरीअघि नकर्मीको कुटपिटबाट घाइते उनको ह्याम्स अस्पतालमा उपचारका लागि लगिएको थियो । तर व्यक्ति आक्रमणबाट भएको केसको उपचारमा प्रहरी पनि हुनुपर्ने नत्र उपचार नहुने भनेपछि सोही कम्पनीमा दोभाषेका रुपमा काम गर्ने विकेश महर्जनले उनलाई ओम अस्पताल लगेर उपचार गरेका थिए । कुटपिटबाट घटना भएको उल्लेख गर्दा प्रहरीकै उपस्थितिमा उपचार हुनुपर्ने उल्लेख गरेर ह्याम्सबाट फिर्ता भएपछि उनलाई ओममा लगिएको थियो । ओममा भने कुटपिटको घटना नभई लडेर चोटपटक लागेको भन्दै घटना लुकाएर उपचार गरिएको पीडितमध्येकी एक युवतीले बताइन् ।

त्यसपछि वैशाख ५ मा प्रवन्ध निर्देशक होउ जोङले नकर्मीलाई घटनाबारे लिखित स्पष्टिकरण सोधेका थिए । त्यसको १० दिनपछि व्यवस्थापनले नकर्मीलाई वैशाख १५ मा चेतावनीसहितको पत्र दिएको थियो । त्यसपछि कोरोना संक्रमणको लहर बढेपछि कर्मचारीलाई व्यवस्थापनले घर विदामा पठायो । आरोपित नकर्मीको घर पनि सिन्धुपाल्चोक हो । तर उनी कार्यालयमै बसे । पीडित युवती भने घर विदामा गएकी थिइन् । त्यसपछि केस केही मत्थर भयो । त्यसलाई व्यवस्थापनले मिलापत्रमा विवाद साम्य पारेको थियो । आरोपित भनिएका नकर्मीविरुद्ध गत मंसिरमा सोही कार्यालयमा कार्यरत अर्की २९ वर्षीय युवतीमाथि पुनः यौन दुर्व्यवहार गरेको उजुरी पर्‍यो ।

दोलखा घर भएकी उनी अर्की सहकर्मी सिन्धुपाल्चोक गएका कारण एक्लै काममा फर्किएकी थिइन् । त्यही मौकामा नकर्मीले उनलाई विवाहको प्रलोभन दिएका थिए । नकर्मी विवाहित हुन् । सुरुमा बहिनी भनेर सम्बोधन गर्ने गरेका उनले एक्लै भेटेको बेला विवाह गर्न दवाव दिएको र नमानेपछि शरीरका विभिन्न भागमा जबर्जस्ती समाउने गरेको र प्रतिकार गर्दा उल्टै दुर्यवहार गरेर गालीगलौजपूर्ण अपशब्द प्रयोग गर्ने गरेको पीडित युवतीले बताइन् । यो विषय पनि बाहिरिएपछि कारबाहीको डरले नकर्मीले २०७८ पुस २४ मा राजीनामा दिए ।

त्यसपछि यो विषय साम्य भएको थियो । तर व्यवस्थापनले पटक–पटक दुर्व्यवहारको कसुरमा मुछिएका नकर्मीलाई पुनः रोजगारीका लागि पुरानै जिम्मेवारी दिएर फर्काउन खोजेपछि दुवै पीडित युवती आरोपितविरुद्ध जाहेरी लिएर बुधबार काठमाडौं प्रहरी वृत्त महाराजगञ्ज पुगेका हुन् । पीडितको उजुरीपछि सिनोका व्यवस्थापकलाई पनि प्रहरीले घटनाबारे बुझ्न बोलाएको थियो । तर आरोपित भने अझै पक्राउ परेका छैनन् ।

‘यौन शोषण गर्न नपाएपछि नकर्मीबाट सुरुमा साथीमाथि दुर्व्यवहार र आक्रमण भयो, त्यसलाई सरहरूले नै मिलापत्र गरेर टुंग्याउनु भएको थियो,’ २९ वर्षीय पीडितले कान्तिपुरसँग भनिन्, ‘पहिलेको दुर्व्यवहार र आक्रमणमा परेकी साथी घर गएको बेला म काममा फर्किएकी थिएँ तर, नकर्मीबाट ममाथि पनि त्यस्तै दुर्व्यवहार हुन थाल्यो ।’ दोस्रो पटकको दुर्व्यवहारको घटना पनि बाहिरिएपछि नकर्मीले २०७८ मंसिर २४ मा राजीनामा दिएका थिए । त्यसयता स्थिति सामान्य नै हुँदै थियो ।

तर व्यवस्थापनले पुनः नकर्मीलाई काममा फर्काउन खोजेपछि घटना प्रहरीमा पुगेको हो । सिनो हाइड्रोका एक कर्मचारीले नकर्मीले काममा फर्किन निवेदन दिएपछि विवाद बल्झिएको र यो विषय प्रहरीमा पुगेको बताए । ‘के मिलिसकेको थियो । दुई पटकका घटनामा मुछिएपछि नकर्मी आफैं राजीनामा दिएर हिँडेका थिए तर केही साताअघि उनले काममा फर्किन निवेदन दिएको विषयप्रति पीडित भनिएका दुई जनाले असन्तुष्टि जनाउनु भएको थियो, अहिले यही विषय प्रहरीमा पुगेको हो ।’

आरोपित भनिएका नकर्मीको चिनियाँ भाषामा दख्खल रहनुका साथै चिनियाँ खाना पनि राम्रो पकाउने भएर सिनोले उनलाई फर्काउन खोजेको ती कर्मचारीले बताए । एक पीडितले यौन दुर्यव्यवहार गर्ने आरोपितसँगै एउटै कार्यालयमा काम गर्न नसक्ने भन्दै पटकपटक व्यवस्थापन समक्ष आग्रह गर्दा पनि नमानेपछि आफूहरू पहिले गरेका कसुरविरुद्ध कानुनी कारबाहीका लागि प्रहरीमा जानु परेको बताइन् । प्रहरीले घटनामा अनुसन्धान भइरहेको जनाएको छ । ‘कुटपिट र दुर्व्यवहारको कसुरमा दुई जनाले सिनो हाइड्रोमा काम गर्ने पूर्वकर्मचारी विरुद्ध जाहेरी दिनु भएको छ, आरोपितमाथि अभद्र व्यवहारको कसुरमा पनि शनिबार जाहेरी परेको छ, यस विषयमा अनुसन्धान अघि बढाइसकेका छौं,’ वृत्तका एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित : असार ११, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?