पूर्वाधार विकासमा सबैको साथ जरुरी : गृहमन्त्री खाँण- समाचार - कान्तिपुर समाचार

पूर्वाधार विकासमा सबैको साथ जरुरी : गृहमन्त्री खाँण

सन्जु पौडेल

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले देश विकासमा भूमिका खेल्ने पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । उनले सरकारले चाहँदा चाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका काममा जनता र सम्बन्धित निकायले साथ दिनुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रुपमा निर्माण सम्पन्न भएको देवदह–तिलोत्तमा–मोतिपुर–लुम्बिनी सडकखण्डको तिनाउ नदी पुल उद्घाटन गर्दै उनले ३ वर्षमा सम्पन्न गर्नुपर्ने पुललाई विश्वविद्यालय निर्माण गरे जति समय लागेको बताए । तिनाउ नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुलको प्रशंसा गर्दै मन्त्री खाँणले वेल सिंकिङ प्रविधिमा निर्माण सुरु भएको पुल आधाआधीमै कंक्रिटको ढलान भेटिएपछि डिजाइन बदल्नु परेकाले लामो समय रोकिएर निर्माण गरिएको बताए । 'यो पुल देशकै अनुपम उदाहरण र नमुना पुल बनेको छ,' उनले भने, 'यसको अध्ययन र डिजाइन परिवर्तनको छलफलले लामो समय लिँदा काम रोक्नुपर्‍यो ।'

उनले यस पुलको अध्ययन तथा छलपलका क्रममा आफूले ओभरसेयर सरहको ज्ञान हाँसिल गरेको भन्दै अन्य स्थान तथा निर्माण व्यावसायिक लागि पनि तिनाउ नदी पुल सिकाइको पक्ष बनेको बताए । एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण ठेक्का लिएको पुलको आधा भागमा ढुंगा भेटिएपछि कसैले निर्माण पूरा गर्न नसक्ने बताएको खाँणले जानकारी दिए । उनले लामो समयपछि त्रिभूवन विश्वद्यिालयको इन्जिनियरिङ इन्स्टिच्युटका प्राज्ञको टोलीले अध्ययन गरी नक्सा परिवर्तन गर्ने सुझाव दिएपछि मात्र भौतिक पूर्वाधारले स्वीकृति दिई सडक डिभिजनले पुन : काम गरेको जनाए । उनले यस पुल निर्माणले बुद्ध सर्किट जोड्ने गरी मानिसको आवतजावत तथा ४ नगरको भाइचारामा थप टेवा पुग्ने बताए । साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि पुलले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

साथै गृहमन्त्री खाँणले तिलोत्तमा हुँदै मोतीपुर हिँड्ने मानिसलाई पुलले सहज बनाए पनि सुरक्षाका दृष्टिकोणले खतरा हुन सक्ने भएकाले तत्कालै प्रहरी बिट राखी सुरक्षा दिन लुम्बिनी प्रदेश प्रहरी प्रमुखलाई निर्देशनसमेत दिएका छन् । उनले हाललाई सामान्य तरिकाले बारेर बिट बनाउने र काम सुरु गरिहाल्ने भन्दै पुल निर्माण भएको वारिको तिलोत्तमा नगरपालिका र पारिको बुटवल उपमहानगरपालिकामध्ये एकले प्रहरीका लागि २ कोठे आवास तथा शौचालय निर्माण गरी सहयोग गर्न आग्रह गरे ।

२०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाई तथा १ सय ८५ मिटर लामो छ । कुल १३ करोड ८३ लाख १५ हजार ३ सय ७८ रुपैयाँ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले बताए । उनका अनुसार पुल निर्माण सम्पन्न मिति यही असार २५ गतेका लागि तोकिएको थियो ।

प्रकाशित : असार ११, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय निर्वाचनमा कांग्रेसले गरेको चलाखी संघ र प्रदेशमा चल्दैन : पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा सरकारको नेतृत्व गरिरहेहको गठबन्धनको मुख्य राजनीतिक दल कांग्रेसले चलाखी गरेको बताएका छन् । उनले संघीय र प्रदेश सभा निर्वाचनमा कांग्रेसको चलाखी नलच्ने धारणा राखेका छन् । 

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादी पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित कार्यक्रममा नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू जित्ने ठाउँमा एक्लै निर्वाचनमा गएर चलाखी गरेको बताए ।

‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो । आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिंगल लड्ने गरेको देखियो,' उनले भने, 'अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

कांग्रेसको चलाखीका बाबजुत अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको पुनको भनाइ थियो । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा माओवादी रहेको बताउँदै उनले सम्मनजनक गठबन्धन नभए टुट्न पनि सक्ने चेतावनी दिए । 'केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ,' उनले भने, 'आगामी निर्वाचनमा वाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

वाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भएपनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वेच्छाचारी भएकाले एमाले अध्यक्ष ओलीसँग गठबन्धनको सम्भावना नरहेको पुनको भनाइ थियो ।

स्थानीय तह निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आए पनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रुपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको पुनले बताए ।

प्रकाशित : असार ११, २०७९ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×