कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय निर्वाचनमा कांग्रेसले गरेको चलाखी संघ र प्रदेशमा चल्दैन : पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा सरकारको नेतृत्व गरिरहेहको गठबन्धनको मुख्य राजनीतिक दल कांग्रेसले चलाखी गरेको बताएका छन् । उनले संघीय र प्रदेश सभा निर्वाचनमा कांग्रेसको चलाखी नलच्ने धारणा राखेका छन् । 

स्थानीय निर्वाचनमा कांग्रेसले गरेको चलाखी संघ र प्रदेशमा चल्दैन : पुन

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादी पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित कार्यक्रममा नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू जित्ने ठाउँमा एक्लै निर्वाचनमा गएर चलाखी गरेको बताए ।

‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो । आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिंगल लड्ने गरेको देखियो,' उनले भने, 'अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

कांग्रेसको चलाखीका बाबजुत अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको पुनको भनाइ थियो । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा माओवादी रहेको बताउँदै उनले सम्मनजनक गठबन्धन नभए टुट्न पनि सक्ने चेतावनी दिए । 'केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ,' उनले भने, 'आगामी निर्वाचनमा वाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

वाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भएपनि राज्यको प्राथमिकता छोडेर कम्युनिस्ट भएर धार्मिक अन्धतामा मात्र रमाउने र स्वेच्छाचारी भएकाले एमाले अध्यक्ष ओलीसँग गठबन्धनको सम्भावना नरहेको पुनको भनाइ थियो ।

स्थानीय तह निर्वाचनको परिणाम माओवादीले सोचेभन्दा केही कम आए पनि माओवादी केन्द्र भरोसायोग्य पार्टीको रुपमा जनताको बीचमा स्थापित भएको र जनताले विश्वास पनि गरेको पुनले बताए ।

प्रकाशित : असार ११, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?