एकीकृत समाजवादीका मन्त्रीहरूले बनाए छुट्टै 'सूची'- समाचार - कान्तिपुर समाचार
मन्त्रिपरिषद् हेरफेर विवाद

एकीकृत समाजवादीका मन्त्रीहरूले बनाए छुट्टै 'सूची'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले परिवर्तन हुने नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका छन् । यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची उनीहरूले प्रस्ताव गरेका हुन् ।

उनीहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेको एक मन्त्रीले जानकारी दिए ।

तीन साताअघि पार्टीको सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको थियो । पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

तर बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्रीहरू बनाउनु पर्ने अडान राखेका छन् । यसअघि उनीहरूले बजेट पास नहुन्जेलसम्म मन्त्री पद नछाड्ने अडान राखेका थिए ।

यस्तै उनीहरूले पार्टीबाट मन्त्रीको रुपमा प्रस्तावित भएका सांसदहरूबारे सार्वजनिक रुपमा नै आपत्ति जनाएका थिए । तीमध्ये केही गैरसांसदसमेतको नाम सिफारिस भएकोमा पार्टी नेतृत्वप्रति उनीहरूको आपत्ति थियो ।

प्रकाशित : असार ११, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

गैंडाकोट नगरपालिकाले सुत्केरीलाई ५ हजार भत्ता दिने

नारायण शर्मा

पूर्वी नवलपरासी — गैंडाकोट नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई ५ हजार सुत्केरी भत्ता दिने भएको छ ।

शुक्रबार सम्पन्न नगरसभामा प्रस्तुत गरिएको बजेटमा नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने सबैलाई एकमुष्ठ ५ हजार भत्ता दिइने घोषणा गरिएको हो ।

नगरपालिकाभित्रका बर्थिङ सेन्टर र स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको बताइएको छ । आगामी साउनबाट यो भत्ता लागू हुनेछ ।

यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। विशेषगरी गैंडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एक हप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने बजेटमा उल्लेख छ । ती दुवै वडा दुर्गम क्षेत्रमा पर्छन् ।

त्यहाँका सुत्केरीलाई राख्न आमा घर बनाइने कार्यक्रम बजेटमा समेटिएको छ । उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै गर्भवति तथा सुत्केरीको स्वास्थ्य सेवामा पहुँच बढाउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने उल्लेख छ ।

पूर्वी नवलपरासीका ८ वटा पालिकामध्ये हुप्सेकोट गाउँपालिकाले ५ वर्षअघि नै सुत्केरी भत्ताको शुरुआत गरेको हो । हुप्सेकोटमा गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेको यो कार्यक्रम त्यतिबेलैदेखि देशभर नै लोकप्रिय मानिएको छ। त्यसैको सिको गर्दै यहाँका सबैजसो पालिकाले सुत्केरी भत्ता दिने निर्णय गरेका हुन् ।

प्रकाशित : असार ११, २०७९ १५:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×