१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सबै वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न गठबन्धनको निर्देशन

काठमाडौँ — पाँच दलीय सत्ता गठबन्धनले जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो ।

सबै वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न गठबन्धनको निर्देशन

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत बोलाएर पेट्रोलियम पदार्थसँगै त्यसका कारण भएको मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी थिए ।

गठबन्धनको निर्देशनपछि सरकारले शनिबार राति १२ देखि लागू हुने गरी पेट्रोलियम पदार्थमा सरकारले लिने कर कटौती गरेको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लिने करमध्ये डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए । सरकारले लिने कर कटौतीपछि अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

गठबन्धनले पेट्रोलियम पदार्थमा सरकारले लिने कर रकममा कटौती गरेपछि अब अन्य उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि समेत नियन्त्रण गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धन बैठकपछि प्रधानमन्त्री देउवाले सबै उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको बताए ।

‘अहिले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रियस्तरमै मूल्य बढेको हो । त्यसकारण सरकारले पहिल्यैदेखि लिँदै आएको करको दर कटौती गरेर मूल्य घटाएको छ । अब पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि पनि स्वभाविकरुपमा घट्नेछ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सरोकारवाला मन्त्रालयहरूलाई सबै उपभोग्य वस्तुको बजार मूल्यबारे अनुगमन गर्न र मूल्यवृद्धि रोक्न निर्देशन दिनुभएको छ ।’

उनका अनुसार अन्य उपभोग्य वस्तुमा समेत सरकारले लिँदै आएको करको दर कटौती गर्नुपरे त्यसतर्फ समेत खुकुलो हुन प्रधानमन्त्री देउवाको निर्देशन छ ।

‘पेट्रोलियमको मूल्यवृद्धि हुँदा बजारमा सबै वस्तुको मूल्य बढाइएको छ । कतिपय वस्तुको कृत्रिमरुपमा समेत मूल्य बढाइएको छ, त्यस्तो कृत्रिम मूल्यवृद्धि रोक्न पनि प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ,’ उनले भने ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने बताए । ‘मूल्यवृद्धि आकासिएर जनताको चुलो बल्ने अवस्थाको अन्त्य हुँदैछ, यस्तो बेलामा सरकारले बजारमा हस्तक्षेप गर्नुपर्छ । बजारको अनुगमन कडाईका साथ गर्नुपर्छ र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ,’ नेता पौडेलले भने । उनले खाद्य संस्थान र साल्ट ट्रेडिङबाट सरकारले नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउने बन्दोबस्त गर्नुपर्ने बताए ।

शनिबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मासहित ती मन्त्रालयका सचिव समेत सहभागी थिए ।

प्रकाशित : असार ११, २०७९ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?